विमानस्थलको प्रबन्ध र सुरक्षाका लागि सुझाव दिन कार्यदल बनाइने


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो।

बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विगतका कमीकमजोरीलाई कसरी सच्याउने भनेर ध्यान दिनुपर्ने बताउनुभयो । नकारात्मक चिजलाई शिक्षाका रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्रीले विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षाको विषयमा समीक्षा गर्ने बेला आएको बताउनुभयो । विज्ञ र सरोकारवालाको एउटा कार्यदल बनाउने र सोही कार्यदलले दिएको रिपोर्टका आधारमा विमानस्थल सुरक्षाको प्रबन्ध गर्ने तयारी सरकारले गरेको दाहालले जानकारी दिनुभयो ।

छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाश शरण महत, गृहसचिव दिनेश भट्टराईलगायतका व्यक्तिहरुले सरकारले विमानस्थललाई सुरक्षित र व्यवस्था बनाउन आवश्यक कामहरु गर्नुपर्ने लगायतका विषयमा प्रधानमन्त्री दाहाललाई विफ्रिङ गरेका थिए ।

 

प्रधानमन्त्रीले आयोजना गर्नुभएको बैठकमा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुख लगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com