टीकापुर घटना आपराधिक : सर्वोच्च अदालत


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका सन्दर्भमा अपराधिक घटनालाई राजनीतिक आवरण दिएर अपराध गर्नेलाई राज्यले संरक्षण गर्न नहुने प्रस्ट पारेको छ ।

आज बिहीबार २३० पृष्ठ लामो पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले टीकापुर नरसंहारबारे निर्दोष र निहत्था नागरिकको सामूहिक हत्य गर्ने कार्य राजनीतिक नहुने स्पष्ट पारेको हो ।

कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या भएको थियो । सो हत्याकाण्डको मुख्य योजनाकारका रुपमा रेशम लाल चौधरीलाई कैलाली जिल्ला अदालतले दोषी ठहर गरेको थियो भने उच्च अदालत दिपायलले पनि सुरु फैसला सदर गरेको थियो ।

घटनामा आफ्नो संलग्नता नरहेको र आफू घटना हुँदाका बेला टीकापुर बाहिर रहेको भन्दै सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गर्नुभएको थियो । चौधरीको पुनरावेदनको निवेदन उपर २०७८ जेठ २ गते फैसला गर्दै सर्वोच्चले सुरु जिल्ला अदालत र त्यसपछि उच्च अदालतबाट भएको फैसलालाई सदर गरेको थियो । सोही फैसलाको पूर्ण पाठ सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतले राजनीतिक घटना र आपराधिक घटनामा भिन्नता रहेको, आपराधिक घटनालाई राजनीतिक घटना भन्दै उन्मुक्ति दिन नमिल्ने नजिरसहितको फैसला दिएको हो ।

पुनरावेदक प्रतिवादी रहेका रेशमलाल चौधरीले टीकापुर घटनालाई राजनीतिक घटना भन्दै सबैले उन्मुक्ति पाउनुपर्ने जिकिर लिएका थिए ।

फौजदारी कानुनले निषेध गरेका काम कारवाही गर्दा कानुन बमोजिम कारवाही नगरेमा समाजमा न्याय र शान्ति व्यवस्था कायम गर्न फौजदारी कानुनको उद्देश्य पूरा हुन नसक्ने भन्दै जुन अपराध भएको हो, सोही अपराधका आधारमा सजाय हुनेपर्ने सर्वोच्च अदालतको फैसलामा उल्लेख छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com