नेपालीलाई युरोपको शेन्जेन भिसा अस्वीकृति दर उच्च, आधा आवेदकलाई भिसा दिन छाड्यो जर्मनीले


प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार

नेपालीलाई युरोपको शेन्जेन भिसा भिसा अस्वीकृति दर उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा रहेको जर्मन दूतावासले नेपालीका लागि सबैभन्दा धेरै शेन्जेन भिसा जारी गर्दै आएकोमा गतबर्ष भिसा अस्वीकृत दर विगतको तुलनामा उच्च देखिएको हो ।

सन् २०२२ मा ४ हजार ३६ जनाले काठमाडौंमा रहेको जर्मन दूतावासमार्फत शेन्जेन भिसाका लागि आवेदन दिएका थिए । तीमध्ये २३१४ जनाको भिसा जारी गरिएको थियो भने १७०३ जनाको भिसा अस्वीकृत गरिएको थियो । जर्मन दूतावासमार्फत कुल अस्वीकृति दर गतबर्ष ४२ दशमलव ४ प्रतिशत रहेको थियो ।

त्यस्तै गतबर्ष ८२३ जनाले नेपालमा रहेको फिनल्याण्डको दूतावासमा शेन्जेन भिसाका लागि आवेदन दिएकोमा ५६१ जनाले भिसा पाए भने २५१ जनाले पाएनन् । अर्थात् अस्वीकृति दर ३० दशमलव ९ प्रतिशत रहेको थियो । काठमाडौंमा रहेको स्वीट्जरल्याण्डको दूतावासमा १८५९ जनाले भिसा आवेदन दिएकोमा १२४३ जनाले शेन्जेन भिसा पाएका थिए भने ६१६ जनाले पाएनन् । भिसा नपाउनेहरुको प्रतिशत ३३ दशमलव १ थियो ।

जबकी सन् २०२१ मा भिसा स्वीकृति दर उच्च रहेको थियो । काठमाडौंमा रहेको जर्मन दूतावासमा १३३९ जनाले भिसा आवेदन दिएकोमा ८२४ जनालाई भिसा जारी गरियो भने भिसा नपाउनेहरु जम्मा २९१ अर्थात् २६ प्रतिशत थियो । काठमाडौंमा रहेको स्वीट्जरल्याण्डको दूतावासमा ३८१ भिसा आवेदन परेकोमा ३०९ जनाले भिसा पाए भने जम्मा ७२ जना अर्थात झण्डै १९ प्रतिशतलेमात्र भिसा पाएनन् । त्यस्तै काठमाडौंमा रहेको फिनल्याण्डको दूतावासमा २१४ जनाले आवेदन दिएकोमा १४३ जनाले भिसा पाए भने ४५ जनाले पाएनन् ।

त्यस्तै सन् २०२० मा पनि नेपालीहरुको शेन्जेन भिसा स्वीकृति दर उच्च नै थियो । उक्त बर्ष काठमाडौंमा रहेको जर्मन दूतावासमा १४८८ जनाले भिसा आवेदन दिएकोमा ११२३ जनालाई भिसा जारी गरियो भने भिसा नपाउनेहरु जम्मा ३६५ अर्थात् झण्डै २५ प्रतिशत थिए । कोरोना महामारी अगाडि सन् २०१९ मा काठमाडौंमा जर्मन दूतावासमा ६ हजार ६ सय ६८ जनाले भिसा आवेदन दिएकोमा ५ हजार ५ सय ४८ जनाले भिसा पाएका थिए भने जम्मा १११६ अर्थात् झण्डै १६ प्रतिशतलेमात्र भिसा पाएनन् । उक्त बर्ष काठमाडौंमा रहेको नेदरल्याण्ड र फिनल्याण्डको दूतावासमा भिसा अस्वीकृति दर ५० प्रतिशतभन्दा धेरै थियो ।

सन् २०१८ मा पनि काठमाडौंमा रहेको जर्मन दूतावासमा ५०८७ जनाले भिसा आवेदन दिएकोमा ४०२६ जनालाई भिसा जारी गरियो भने भिसा नपाउनेहरु जम्मा १०६० अर्थात् झण्डै २० प्रतिशत थिए । सन् २०१७ मा पनि काठमाडौंमा रहेको जर्मन दूतावासमा ५२४७ जनाले भिसा आवेदन दिएकोमा ४१८० जनालाई भिसा जारी गरियो भने भिसा नपाउनेहरु जम्मा १०६७ अर्थात् झण्डै २० नै प्रतिशत थिए ।

सन् २०१६ को तथ्यांक पनि उस्तै उस्तै छ । उक्त बर्ष काठमाडौंमा रहेको जर्मन दूतावासमा ४८७४ जनाले भिसा आवेदन दिएकोमा ३९२२ जनालाई भिसा जारी गरियो भने भिसा नपाउनेहरु जम्मा ९५२ अर्थात् झण्डै २० नै प्रतिशत थिए । सन् २०१५ मा भिसा पाउने दर निकै उच्च थियो । उक्त बर्ष ३८४८ ले आवेदन दिएकोमा ३३९४ ले भिसा पाए भने ४५४ अर्थात् जम्मा १२ प्रतिशतलेमात्र भिसा पाएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com