२५ हजार डलरभन्दा धेरै तिरेर धरौटीमा रिहा हुन्छन् विना भिसा अमेरिका आउने नेपाली, धरौटी फिर्तामा समस्या


प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार

दलाललाई मोटो रकम तिरेर विना भिसा अमेरिका आएका कैयन नेपालीहरु २५ हजार डलरभन्दा माथि समेत धरौटी रकम तिरेर रिहा हुने गरेको पाइएको छ । उनीहरु अमेरिकाको अध्यागमन जेलबाट रिहा हुने क्रममा उक्त रकम तिर्ने गरेको खुलासा भएको छ ।

अध्यागमन जेलमा धरौटी सुनुवाई क्रममा यदि धरौटीमा रिहा गर्नका लागि न्यायाधिसले स्वीकृति प्रदान गरेमा धरौटी रकम तोक्ने गर्छन् । केही नेपालीहरुका लागि तोकिएको धरौटी रकम अत्यन्तै उच्च रहेको पाइएको छ । ८ बर्षको अवधिमा २५ हजारभन्दा माथि धरौटी रकम तिरेर रिहा हुने नेपाली २२३ जना रहेका छन् ।

सन् २००९ मा २ जना नेपालीलाईमात्र २५ हजारभन्दा माथि धरौटी रकम तोकिएको थियो । त्यस्तै २०१२ र २०१४ मा एकएकजनालाईमात्र २५ हजारभन्दा माथि धरौटी रकम तोकिएको थियो । त्यस्तै सन् २०१५ मा ४ जना नेपालीहरुलाई २५ हजारभन्दा माथि धरौटी रकम तोकिएको थियो ।

तर सन् २०१६ मा ३८ जनालाई, सन् २०१७ मा ७६ जनालाई, सन् २०१८ मा ५० जनालाई र २०१९ मा ४४ जना नेपालीहरुलाई २५ हजारभन्दा माथि धरौटी रकम तोकियो । सन् २०२० मा १४ जना र २०२२ मा एकजनालाईमात्र २५ हजारभन्दा माथि धरौटी रकम तोकिएको थियो ।

अमेरिकामा अहिलेसम्म धरौटीमा रिहा हुने अधिकांश नेपालीहरुले भने १० हजारदेखि १७ हजार ५ सयसम्म धरौटी रकम तिर्ने गरेका छन् । १० हजारदेखि १७ हजार ५ सय डलरसम्म रकम तिरेर धरौटीमा रिहा हुने नेपालीहरु अहिलेसम्म १ हजार १९ जना रहेका छन् । १७ हजार ५ सयदेखि २५ हजारसम्म तिर्ने नेपालीहरु अहिलेसम्म ३३४ जना रहेका छन् ।

हरेकबर्ष बण्ड सुनुवाई हुने नेपालीको तथ्यांक । श्रोत:  ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउस

सन् २००१ देखि २०२३ सम्म मेक्सिकोको सिमाक्षेत्रबाट विना भिसा प्रवेश गर्ने ३९ सय ५६ जना नेपालीहरुको धरौटी सुनुवाई भएकोमा २९२९ जना नेपालीलाई धरौटीमा रिहा गरिएको थियो भने १ हजार २७ जनालाई धरौटीमा रिहा गर्न अस्वीकार गरिएको थियो । यद्यपी ५८ जनालाई भने निशुल्क धरौटीमा समेत रिहा गरिएको थियो ।

३६ जनालाई १ हजार देखि २ हजारडलरसम्म, ६४ जनालाई २ हजारदेखि ३ हजारसम्म, १४२ जनालाई ३ हजारदेखि ४ हजार डलरसम्म, ८४ जनालाई ४ हजारदेखि ५ हजारसम्म, २९५ जनालाई ५ हजारदेखि ६ हजारसम्म, १०३ जनालाई ६ हजारदेखि ७ हजारसम्म, ३६८ जनालाई ७ हजारदेखि ८ हजारडलरसम्म, १२५ जनालाई ८ हजारदेखि ९ हजार डलरसम्म, ७० जनालाई ९ हजारदेखि १० हजारडलरसम्म धरौटी रकम तोकेर रिहा गरिएको थियो ।

पियरसेल टेक्सासमा ४१० जना नेपालीहरुको धरौटी सुनुवाई गरिएकोमा २६ जनाको धरौटी स्वीकृत गरिएन भने २६४ जनालाई ५ हजारदेखि १० हजारडलरसम्म धरौटीमा रिहा गरियो । १० हजारभन्दा माथि धरौटी तोकिएका नेपालीहरु ४६ जनामात्र थिए । वासिंटनको टकोमा भने सबैभन्दा धेरै धरौटी रकम तोक्ने डिटेन्शन सेन्टर रहेको छ, जसमा ६३ जना नेपालीहरुलाई २५ हजारभन्दा माथि धरौटी रकम तोकिएको थियो ।

क्यालिफोर्नियाको एडेलान्टो डिटेन्शन सेन्टर पनि नेपालीलाई उच्च धरौटी रकम तोक्ने मध्येको एक हो । यहाँ २३५ जना नेपालीहरुलाई १२ हजार ५ देखि २५ हजार डलरको बीचमा धरौटी रकम तोकिएको थियो । जर्जियाको लम्प्किनमा रहेको स्टेवार्ड डिटेन्सन कोर्टमा नेपालीहरुको धरौटी सुनुवाईको रेकर्ड खराब रहेको छ । यहाँ १४८ जना नेपालीको धरौटी सुनुवाई भएकोमा जम्मा ४८ जनाको स्वीकृति गरिएको थियो भने त्यसमध्ये १७ जनालाई २५ हजार डलरभन्दा माथि धरौटी तोकिएको थियो । यहाँ अरु १७ जना नेपालीहरुलाई १० हजारदेखि २५ हजार डलरसम्म धरौटी तोकिएको थियो । १४ जना भने यहाँबाट १० हजारभन्दा कम धरौटीमा रिहा भए ।

२५ हजार डलरभन्दा माथि बण्ड रकम तिरेका नेपालीहरुको संख्या । श्रोत:  ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउस

जर्जियाकै लम्प्किनमा रहेको स्टेवार्ड डिटेन्सन सेन्टर पनि नेपालीहरुका लागि कुख्यात छ । यहाँपनि १४४ जना नेपालीको धरौटी सुनुवाई भएकोमा ४८ जनाको अस्वीकार गरियो भने ४५ जनालाई २५ हजार डलरभन्दा माथि धरौटी तोकियो । ३३ जनालाई १० हजारदेखि २५ हजारसम्म धरौटी तोकियो । बाँकी १७ जनलाई १० हजारभन्दा कम र एकजनालाई जिरो धरौटीमा रिहा गरियो । त्यस्तै पेन्सिलभेनियाको योर्क काउन्टी प्रिजनमा रहेका १६ जनालाई २५ हजार डलरभन्दा माथि धरौटी रकम तोकिएको थियो ।

धरौटी रकम तिर्नका लागि अमेरिकामा रहेको कुनै व्यक्तिले जिम्मा लिनुपर्छ र उक्त रकम तिरेपछि हिराशतमा रहेको व्यक्तिलाई रिहा गरिन्छ । यसरी रिहा हुने क्रममा हिराशतमा रहेको व्यक्तिले आफन्तहरुमात्र रकम झिकाएर जिम्मा लिने व्यक्तिलाई उपलब्ध गराएर रिहा हुने गरेका छन् । पछि अध्यागमन अदालतमा मुद्दाको टुंगो लागेपछि सरकारले उक्त धरौटी रकम फिर्ता त गर्छ तर हिराशतमा रहेको व्यक्तिका आफन्तबाट रकम लिएर धरौटी राखिदिएको सोही व्यक्तिलेमात्र उक्त रकम निकाल्न पाउँछ ।

रकम निकाल्ने बेलामा उक्त व्यक्ति सम्पर्कविहिन भइदिने लगायतका समस्याका कारण मुद्दाको टुंगो लागेपछि पनि धरौटीमा रिहा भएका व्यक्तिले उक्त रकम पाउनमा भने समस्या हुने गरेको गुनासो गरेका छन् । उक्त व्यक्ति सम्पर्कविहिन भइदिने वा रकम फिर्ता दिन अस्वीकार गर्ने अवस्था आउने गरेको पीडितहरुको गुनासो छ । उपयुक्त कागजातको अभावमा समेत पीडितहरुले उक्त रकम फिर्ता पाएका छैनन् । यसमा आफ्नो मुद्दा लडिदिने वकिलले समेत सही सल्लाह नदिएको वा समन्वय नगरेको पीडितहरुले गुनासो गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com