Follow @khasokhasmag

डीभी बन्द गर्नुपर्छ भन्नेहरुको नाममा


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

– नवीन रायमाझी

श्रावण ३२, २०७४- अमेरिकी सरकारले चिठ्ठाको माध्यमबाट आवासीय अनुमति (ग्रीन कार्ड) प्रदान गर्ने डीभी कार्यक्रम अब बन्द हुँदैछ भन्ने हल्लाले पुन: एक पटक बजार तताएको छ । यो चिठ्ठा भरेर पर्यो भने अमेरिका जाने मौका कुरेर बसेकाहरु निराश हुन पुगेका छन् । रिपब्लिकन पार्टीका सिनेटरद्वय अर्कान्सास राज्यका टम कटन र जर्जिया राज्यका डेविड पर्डयुले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले गत फेब्रुअरी महिनामा माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका थिए ।

 

विधेयकमा डाइभर्सिटी भिसा (डीभी) बन्द गर्नुपर्ने पनि उल्लेख छ । सन् २०१२ मा पनि दर्ता भएर असफल भएको यस्तो विधेयक यो पटक के हुन्छ त्यसको टुङ्गो नलागेसम्म यस्तै परिणाम आउँछ भन्न सकिन्न । तर, डीभी बन्द हुन लाग्यो भनेर समाचार बनाउने र यो समाचारबाट खुशी वा दुःखी हुनुपर्ने कारण के हो त्यो भने मैले बुझ्न सकेको छैन । एउटा नयाँ समाचार अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कानूनी आप्रवासनलाई पचास प्रतिशतले कटौती गर्ने तयारी गर्दैछ । प्रस्तावित कानुन पारित भएको अवस्थामा अब उच्च दक्षता हासिल गरेकाले मात्र “वर्क परमीट” पाउनेछन् । तर, त्यस्ता दक्ष आप्रवासीले समेत अमेरिकामा काम गर्ने अनुमति पाएकै आधारमा आफ्ना परिवारजनलाई अमेरिका बोलाउन पाउनेछैनन् ।

डीभी चिट्ठाको सुविधा नभएका देशहरु विशेष गरेर भारतीय मूलका व्यक्तिहरुलाई यो चिट्ठाको कारण धेरै नेपालीहरु अमेरिका आएकोमा निकै ठूलो डाहा थियो, मानौ की अमेरिका भन्ने देस उनीहरुकै पिता जीको बिर्ता हो । तर, अब यो चिट्ठा बन्द हुन लाग्यो भनेर खुशी हुने नेपालीहरुको मनोविज्ञान भने बडो गजबको छ । डीभी परेको कारणले मात्र अमेरिका आउन पाएका नेपालीहरु पनि खुशी देखिनुको कारण के हो त्यो मैले बुझ्न सकेको छैन । उनीहरुको अब म त यहाँ आइहालें, अरु आउन पाओस् कि नपाओस् मलाई के मतलब भन्ने विचार हुनसक्छ भन्ने मेरो बुझाई छ । अर्कोतर्फ जो नेपालमै छन् र यदी चिट्ठा परेको खण्डमा अमेरिका पुगिएला भन्ने आशामा बसेका छन्, उनीहरु यो चिट्ठा बन्द भयो भने हाम्रो त अमेरिका आउने बाटो नै बन्द हुनसक्छ भनेर निरर्थक चिन्ता गरिरहेका छन् ।

जातीय विविधताको लागि अमेरिकामा अल्पसंख्यक जातिलाई भित्र्याउन को लागि हालसम्म पचास हजार ब्यक्ति नपुगेका बिश्वका देसहरुबाट बार्षिक रुपमा चिट्ठाको माध्यमबाट हरेक बर्ष पचास हजारको संख्यामा नबढाई बिदेशीहरुलाई ग्रिन कार्ड (आबासीय अनुमति)  दिने गरिन्छ । डाइभर्सिटी भिसा भनिने यो प्रक्रियालाई कम्प्युटरको माध्यमबाट (इलेक्ट्रोनिक) फारम भर्नुपर्ने भएर अगाडी “इ” थपेर “इडिभी” भएको हो । नेपालमा हामीसँग डीभीको फारम भर्दा हाम्रो पहुँच लगाएर चिट्ठा पारिदिन्छौं भनेर ठग्ने गरेको पनि पाइएको छ । त्यो सरासर झुट हो । हरेक बर्ष सेप्टेम्बरको महिनामा डीभीको फारम भर्ने व्यापार मौलाउँदो छ । नेपालमा, लाखौंको लगानीदेखि सानो पसल राखेर पनि चिट्ठाको फारम भर्ने ब्यापार शहरदेखि गाउँसम्म फैलिएको छ । यसबाटै सामान्य अनुमान लगाउन सकिन्छ कि नेपालीहरुको अमेरिकाप्रतिको आकर्षण । हरेक बर्ष यो फारम भर्नेले पनि मैले त कहिलै भरेको छैन भन्ने र यदी भाग्यवश चिट्ठा परेको अवस्थामा श्रीमतीले मलाई थाहा नै नदिएर भरेको रहेछ भन्ने लगभग सबैको भनाइ पाइन्छ ।

हामीले फारम भरेको अघिल्लो बर्ष यति र उति हजारलाई पर्यो भनेर ब्यापारीहरुले खोक्रो दाबी गरे पनि हरेक बर्ष नेपालीहरुको सङ्ख्या छ सय १४ भन्दा धेरै हुँदैन । चिट्ठा परेको व्यक्तिलाई एक व्यक्ति मान्ने र उसको आश्रितहरुलाई पनि उसँगै गन्ने भएकोले प्रत्येक बर्ष डीभी चिट्ठा परेर करिव दुई हजार पाँच सयदेखि तीन हजारसम्म नेपालीहरु अमेरिका पुग्ने गरेका छन् । यो चिट्ठा पर्दैमा झोला बोकेर सिधै अमेरिका पुग्ने नभएको र यसको प्रक्रियामा समय र खर्च दुवै लाग्ने कारणले चिट्ठाको फारम भर्नु भन्दा पहिले नै इच्छुक व्यक्तिहरुले विचार पुर्याउँदा राम्रो हुन्छ ।

यदी चिट्ठा परे पनि तपाईं अमेरिकी सरकारको दृष्टिमा योग्य हुनुहुन्न भने तपाईंलाई भिसा दिंदैन । केहि बर्ष पहिले चिट्ठा परेर पनि भिसा नपाएका ब्यक्तिहरुले डीभी पीडित संघको तुल टाँसेर अमेरिकी दुताबास अगाडी धर्ना दिएर आफ्नै इज्जत लिलाम गरेका थिए । यस्तो किसिमको धर्नाले उनीहरुको माग पुरा त भएनन् । तर, आफ्नै आङ्ग कनाएर छारो उडाउने उखान चरितार्थ भयो । यसको साथै तपाईं अमेरिका पुगेपछि आफ्नो काम र बस्ने ठाउँको व्यबस्था तपाईं आफैले गर्नुपर्छ, नेपालमा सुनेको जस्तो सबै व्यबस्था सरकारले गरिदिन्छ भन्ने कुरा पूर्णत गलत हो ।

केही बर्ष पहिले डीभीकै कारणले अमेरिका आएका केही नेपालीहरु पनि आफुलाई खानदानी अमेरिकन जस्तो सम्झिंदै अब अमेरिकामा नेपालीहरुको संख्या धेरै भएको कारण यो प्रक्रिया बन्द हुनुपर्ने विचार राख्छन्, यो आफैमा विरोधाभाषपूर्ण छ । जो डीभी चिट्ठा कै कारणले मात्र यो देशमा आउन पाएर आफ्नो आर्थिक तथा सामाजिक स्तरलाई केही माथि पुर्याउन सक्षम भए । कमसेकम त्यस्ता व्यक्तिहरुले यो प्रक्रिया बन्द हुन लाग्यो भनेर खुशी मनाउनु राम्रो कुरा होइन भन्ने मेरो विचार छ ।

त्यस्ता महामानवहरुलाई मेरो एउटा प्रश्न छ – के तिमीहरुलाई यो चिट्ठा पर्नुभन्दा पहिले अमेरिका आएका व्यक्तिहरुले यस्तै विचार राखेको भए कस्तो लाग्थ्यो होला? यद्यपी उनीहरुले जे जस्तो विचार राखे पनि यो प्रक्रिया बन्द गर्ने वा निरन्तरता दिने भन्ने विषयमा निर्णय गर्ने हैसियत उनीहरुको छैन र हुने कुरा पनि भएन । नेपालमा बैदेशीक रोजगारीको ठगी मुद्दामा सर्बोच्च अदालतले कैद सजाय तोकेको र प्रहरीले पक्राउ गर्नु भन्दा पहिले नै श्रीमतीलाई डीभी चिट्ठा परेर अमेरिका आएको एउटा ब्यक्तिसँग यही कुरामा विवाद हुँदा उसले पंतिकारलाई सामाजिक सन्जालमा ब्लक गरेको छ । उक्त व्यक्तिलाई म के प्रश्न गर्न चाहन्छु भने, एउटा देशको फरार अपराधी त यो देशमा बसेर आफ्नो जीवन निर्बाह गरिरहेको छ भने अरु ब्यक्ति पनि यो देशमा आएर उसलाई वा अरु कसैलाई बस्ने ठाउँ साँघुरो हुने हो र बिरोध गर्ने?

मेरो विचारमा अब अमेरिकामा​ ​नेपालीहरुको संख्या बढी भयो, त्यो कारणले नेपालीहरुलाई आउन बन्द गर्नुपर्छ भन्ने कुनै नैतिकता र अधिकार छैन, कमसेकम डीभी कै कारणले मात्र अमेरिका आउन पाएका व्यक्तिहरुले​ । मलाई लाग्छ यो उनीहरुको डाहा बोलेको हो । सायद म भन्दा पछाडी अब कोहि पनि आउन नपाओस भन्ने कुण्ठा । ​यो आलेख तयार पार्दासम्म डीभी औपचारिक रुपमा बन्द नभएको कारणले यो बर्ष फाराम​ ​भरेर यदी चिट्ठा पर्यो भने अमेरिका जाने सोच बनाएकाहरुले चिन्ता लिनुपर्ने कुनै कारण छैन । उनीहरुले ढुक्क भए हुन्छ, ​यदी भविष्यमा अमेरिकी सरकारले कानुन नै बनाएर यो प्रक्रियालाई बन्द गर्छ भने पनि हामी मध्ये कसैले बोलेर र लेखेर कुनै अर्थ राख्दैन, सबैले यसलाई बाध्यताबश स्वीकार गर्नै पर्छ ।  ​

जाँदाजाँदै, अमेरिकाको नवनागरिक भएको​ ​मेरो एउटा परिचित आफ्नो निलो रंगको अमेरिकी राहदानी देखाउदै सँधै मलाई भन्ने गर्छन्, यो राहदानी लिएर म विश्वको​ ​एक सय ४०​ ​देशमा निर्वाध घुम्न सक्छु​ । ​उ र उ जस्ता खानदानी अमेरिकनहरुलाई मेरो प्रश्न छ, ‘घुम्न त सक्छौ तर घुम्न जाने कहिले? ज्यालादारी (चलनचल्तीको भाषामा घण्टा हान्ने)​ ​काम छोडेर? काम बन्द त डलर पनि बन्द​ हुन्छ नै ।’​

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com