लगानीको वातावरण सिर्जना भएको छ, ढुक्कसँग लगानी गरौं : तारा फुल्लेल (अन्तर्वार्ता)


प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार

सरकारले आर्थिक वर्ष २०८०–०८१ को बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरूको आम्दानीमा कर लगाउने व्यवस्था गरेको भन्दै लगानीकर्ताहरु विरोधमा उत्रिदैँ आएका थिए । लगानीकर्ताहरूले आईतबार सरकारविरुद्धको आन्दोलन सुरू गर्दै आईतबार सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गराए । आर्थिक विधेयक, २०८० को दफा २९ अस्पष्ट भएको भन्दै लगानीकर्तामा भ्रम छरेको बताउँदै आएका थिए । अन्ततः अर्थमन्त्रालयले शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा परिवर्तन नभएको स्पष्ट पारेपछि उनीहरुको आन्दोलन स्थगित भएको थियो । यसै सन्दर्भमा रहेर पछिल्लो पूजीँ बजारको विषयमा नेपाल लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसँग खसोखासकर्मी सुरज घिमिरेले गरेको कुराकानीको सम्पादित अशं :

– पूजीँबजारका लगानीकर्ताहरुले सेयर कारोबार गर्ने प्रणालीसमेत बन्द गराउनुपर्ने अवस्था कसरी सिर्जना भयो ? तपाईँहरुको विरोध किन ?

लगानीकर्ताहरु आन्दोलित हुनुपर्ने कारण, अहिलेको बजेटमा आर्थिक विधेयक २०८० को दफा २९ मा जुन अलिकति अन्यौलता भयो । यो अन्यौलता के हो भनेर हामीले बुझ्न खोज्यौं साथै अन्यौलता बुझ्ने क्रममा आन्दोलन गर्नुपर्ने अवस्था आयो ।

– सरकारसँग पनि छलफलमा बस्नु भयो ? के–के विषयमा सहमति भयो अर्थतन्त्र मन्त्रालयसँग ?

आर्थिक विधेयक २०८० को दफा २९ को विषयमा अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, अर्थमन्त्री ज्यू, नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत बसेर वार्ता गर्यो । आर्थिक विधेयक २०८० को दफा २९ चाहीँ खारेज गरिनुपर्छ र यो लागू हुनु हुँदैन् । यसले गर्दा लगानी कर्तामा अलिकति भ्रम सिर्जना भई हामिले विगतमा तिरेको छोटो समयको लागि ७.५ प्रतिशत र लामो समयको लागि ५ प्रतिशत तिर्दै आएको पूँजीगत लाभ कर अन्तिम नै हो भन्ने गरि पूँजीगत लगानीकर्ताहरुले कारोबार गरिरहेको अवस्था थियो । र, अहिले पनि आर्थिक ऐनमा त कुनै परिवर्तन गरिएको छैन् । तर, आउने ऐनमा पनि त्यो समावेश भयो भने लगानीकर्तामा एउटा नकरात्मक प्रभाव पर्न गई नकरात्मक वातावरण सिर्जना हुने र पूजी बजारमा लगानी गर्ने लगानीकर्ताहरु यहाँबाट पलायन हुन्छन् । पूजीँ बजार दिगो हिसाबले चल्न सक्दैन् भन्ने हाम्रो एउटा विषयवस्तु रह्यो । यहीँ विषयवस्तुमा स्पष्ट हुन उहाँहरु सँग वार्तामा बसेका थियौं । उहाँहरुले छोटो समयको लागि ७.५ प्रतिशत र लामो समयको लागि ५ प्रतिशत पूजीँगत लाभ कर नै अन्तिम हो भन्ने खालको एउटा पत्र प्रेषित गर्नुभयो । हामीले त्यो कुरा बुझेर वार्ताबाट निस्कियौं ।

-लगानीकर्तामा उब्जिएको अन्यौलता अब स्पष्ट भयो त ?

सकारात्मक वार्ता भएर एउटा बुझाई भएको छ । त्यो कुरा नेपाल सरकारले लगानीकर्ताहरुलाई मारमा पार्नु हुँदैन् । जे पूरानो नीति थियो, त्यही अनुसार अगाडी बढ्छौं भन्ने स्पष्टता आएको छ । त्यो कुरामा लगानीकर्ताहरु पनि विश्वस्त भएका छौं । नेपाल सरकारले अब त्यस्तो खालको भ्रम छर्ने काम गर्दैन् भन्ने हामीलाई विश्वास छ ।

– खासगरी पूजीँबजारलाई कस्ता–कस्ता विषयले प्रभावित पार्छ ? पूजीँबजारलाई सकारात्मक बनाउन के गर्नुपर्ला ?

पूजीँबजार भनेको सानो भन्दा सानो सूचनाले पनि प्रभावित पार्ने क्षेत्र हो । नेपालको मात्रै नभएर सानो सानो कुरा, सानै नीति नियमले नै विश्वकै पूजीँबजारमा प्रभावित पार्छ । हाम्रा नियामक निकायले लिने नीतिमा तलमाथि हुदाँ पूजीँ बजारलाई असर गर्छ । विगतका दिनहरुमा बैंकहरुले व्याजदर बढाउँदै गए । बैंकको व्याजदर बढ्दै जाँदा पूजीँ बजार घट्ने र व्याजदर घट्दैँ जाँदा पूजीँ बजार बढ्दै जाने यो भन्दा अगाडीको इतिहास पनि छ र त्यही नै हुने गर्छ । जति ब्याजदर घट्दै गयो, लगानीकर्ताहरुले लोन लिएर पूजीँबजारमा लगानी गर्ने वातावरण सिर्जना हुन्छ । वर्तमान अवस्थामा बैंकको ब्याजदर घट्नुपर्छ । राज्यले लिएरको ४–१२ को नीतिमा ४ को नीति त हटाइसकेको छ । १२ को नीति अहिलेपनि रहेकोले त्यो नीति हट्नुपर्छ । भारित औषतको कुराहरु छ, त्यसमा १५० प्रतिशत जोखिम भारितलाई घटाएर १०० मा ल्याउनुपर्छ । यो भयो भने बजारमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्ने दायरा पनि फराकिलो हुन्छ र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बन्छ । साथै, ब्रोकर कमिसन पनि विस्तारै घट्दै जानुपर्छ । त्यसो भएको भने लगानी गर्ने वातावरण बन्दै जान्छ । यी नै कुराहरुले नै बजारलाई सकारात्मक बनाउँछन् । ।

-अब सरकारको अस्पष्ट निर्णयले उब्जाएको अन्यौलता पनि हट्यो, अबको पूजीँबजार कस्तो होला ?

अबको बजार धेरै राम्रो हुन्छ । किनभने नेपालको पूँजी बजारमा लगानी गर्ने बेला अब भएको छ । नेपाल सरकारले लिने नीतिमा स्पष्टता भएको छ । त्यसो हुँदा हामिले तिर्ने पूँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम हुने भइसकेपछि अबका दिनहरुमा हामीहरु पूँजीगत लाभकरमा अड्किनु पर्दैन् । हामीले तिर्ने कर नै त्यही नै हो भन्ने फाइनल भइसकेको छ । यो अनुसार हामी ढुक्क भएर लगानी गर्न सक्छौं । र, अब बैंकको व्याजदरहरु पनि घट्दैछ । हामीले एनआरएनहरुलाई भित्र्याउने पोलिसी ल्याइरहेका छौं । नेपालको पूँजी बजारमा ब्रोकरहरुको दायर पनि फराकिलो भइसकेको छ । नयाँ ब्रोकरहरु पनि थपिदैँ छन् । नयाँ स्टक एक्सचेन्जको कन्सेप्ट आएको छ । नेपालको पूँजीबजारमा लगानी गर्ने समय भएको अनुभुति हामिले गरेका छौं ।

-पूजीँबजार ३२ सयको तहमा कहिले पुग्ला ?

यो कुरा ठ्याक्कै किटान गरेर भन्न सकिने अवस्था छैन् । पक्कै पनि बजार बढ्दै जाँदा त्यो बिन्दुलाई क्रस गर्ला । सामान्य उतारचढाव त बीचबीचमा भइ नै रहन्छ । कहिले बढ्ने, कहिले घट्ने यो बजारको सौन्दर्यता नै हो । अब चाहीँ राज्यले लिने नीति र नियामकले लिने नीतिमा स्पष्टता भयो भने लगानीकर्ताहरु भ्रममा नपरी लगानी गरेपछि बजार पक्कै पनि राम्रो र स्पष्ट हुन्छ भन्ने लाग्छ ।

– ठुला लगानी कर्ताहरुले बजार त घटाएर किन्न खाजेको जस्तो देखियो नि ?

यसलाई यसरी भन्न मिल्दैन् । किनभने नेपाल सरकारले लिने जतिपनि पोलिसीहरु हुन्छन् । जतिपनि उल्लेख गरेका नियमहरु हुन्छन् । ती नियमहरुमा लगानीकर्ताहरु असन्तुष्ट हुनु आफ्नो ठाउँमा छ । तर,त्यो नियमले दीर्घकालिन असर गर्ने खालको जुन गतिविधिहरु हुन्छन्, त्यसले गर्दा लगानीकर्ताहरु त्रसित हुन्छन् । त्रसित भइसकेपछि ठूला लगानीकर्ता र साना लगानी कर्ता भन्ने नै हुँदैन् । यसमा लगानी गर्ने लगानीकर्ताहरु नै पलायन भए भने पूजीँबजार कसरी दिगो होला र ? ठूला लगानीकर्ताले यसलाई प्रभावित पारे भन्ने चाहीँ म यो कुरा स्वीकार्दैन् ।

– अन्त्यमा पूजीँ बजारका लगानी कर्तालाई के भन्न चाहानुहुन्छ ? विशेष गरी नयाँ लगानीकर्ताहरुलाई यहाँको सुझाब के छ ?

ठूला लगानीकर्ताहरुले त आफैमा विश्लेषण गरेर कम्पनीका ब्यालेन्स सिटहरु हेरेर, कम्पनीका आधारभूत विषयहरुलाई हेरेर लगानी गर्नुहुन्छ । आफैमा ज्ञान हुन्छ, विभिन्न व्यक्तिहरुसँग परार्मश लिनुहुन्छ । साना लगानीकर्ताहरु, जो भर्खरै लगानी गर्न आउनू भएको छ । उहाँहरुले आफैले अध्ययन गर्न नसकेपनि पुराना तथा अनुभवी लगानीकर्ताहरुसँग परामर्श गर्ने, अहिलेको वास्तविक अवस्था के छ ? कम्पनीले कति कमाईरहेको छ ? नेटवर्कहरु कस्तो छ ? कम्पनीका लगानीहरु कहाँ कहाँ छन् ? त्यसका सञ्चालकहरु कस्ता छन् ? लगाएतका कुराहरुको पहिचान गरेर र विगतदेखिको कम्पनीको लाभांस इतिहास कस्तो छ ? भविष्यमा योजनाहरु के के छन् ? यी सबै कुराहरुको मुल्याकंन गरेर पूजीँ बजारमा लगानी गर्नुस्, धेरैं रिक्स नलिईकन लगानी गर्ने वातावरण सुरु गर्नुभयो भने पछि अनुभव लिइदैँ जाने क्रममा रिक्स लिने ठाउँ भइरहन्छ । लगानी कर्ताहरु सूसुचित भएर लगानी गर्नुपर्छ भन्ने नै हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com