Follow @khasokhasmag

अमेरिका एउटा सपना


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

साहित्यका वैकुण्ठ मानन्धर भनिदिए फरक पर्दैन कृष्ण धरावासीलाई । बिजुली गतिका यी अक्षर–धावकले पछिल्ला पाँच पुस्तक त अमेरिका बसेरै भ्याइदिए । २०४८ सालमा झापाबाट प्रकाशित ‘बालक हराएको सूचना’ बाट सुरु यी ५७ वर्षेको पेन्सन हुने गुन्जायस छैन । यो पुस्तक दौड कहिले रोकिएला भन्ने प्रश्नै अब सायद असान्दर्भिक भइसक्यो । हालसम्म सबै पुस्तकको संख्या जोड्दा २८ पुग्छ । संख्यामा उनले ध्रुवचन्द्र गौतमको रेकर्ड तोडिसके । गुणवत्ताको बारेमा उनै जानून् ।

‘अध्ययन कम, लेखन ज्यादा गर्ने हुँदा मेरो स्टक रित्तियो,’ आफ्नै निजी अनभूति समेटेर केही वर्षअघि ‘कागजको मान्छे’ निबन्ध कृति लेखिसकेका यी लेखक सहसा स्वीकारोक्ति गर्छन्, ‘हिजोआज तेल हाल्ने काम गर्दै छु । अब लेख्ने पुस्तकचाहिँ दर्शनसम्बन्धी हुनेछ ।’ २९ औं पुस्तकबारे सुनाउँदै गर्दा उनमा संसारमा भएका विभिन्न विचारमाथि काम गर्ने मनसुबा बाँकी थियो । नोबल पुरस्कार पाउने लेखकमध्ये कसै–कसैले १२५ वटा पुस्तकसमेत लेखेको, तर कसैको जम्मा एउटा मात्रै पुस्तक लेखिएको भन्दै उनले उदाहरण जताबाट पनि दिन सकिने कठोर प्रतिवाद गरे ।
पाँच महिनाको नेपाल बसाइपछि अघिल्लो साता पाताल प्रवासमा जानुअघि धरावासीले त्यहाँभित्रको ‘साहित्यिक नेपाल’ बारे लामै कहे । उनको बेलिविस्तार सुनिसक्दा यस्तो लाग्यो— महाशक्ति अमेरिकामा एउटा राज्य त नेपाली साहित्यकारकै लागि भनेर थप्नुपर्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलगायत विभिन्न संस्थाले उनलाई सधंैको कुदाकुदमा पार्दो रहेछ, उता पनि । नेपाली जाति जहाँ पुग्छ, संगठन गरिहाल्छ । ‘अमेरिकामा ४ सयजति त नेपाली साहित्यिक संस्था मात्रै छन्,’ उनले भने, ‘सबैखाले संगठन जोड्दा हजार नाघ्छ ।’ अमेरिकाका २६ राज्य त साहित्यकै नाममा घुमिसके धरावासी । अधिकांश संस्थाहरूको गतिविधि अनुत्पादक ढंगले बितिरहेको उनको टिप्पणी छ । उसो धरावासी आफैं पनि साहित्य संगठनमा माहिर मानिन्छन् । सुरुका केही वर्ष चरम ऐकान्तिकताको पीडामा बिताएछन्, उनले । केही न केही कुराकानी गरिरहनुपर्ने यी बहिर्मुखी लेखकलाई साथ दिन छेउछाउमा चिने–जानेको कोही थिएन । पछि त ४ सय साहित्यिक संगठनहरूले एक्लो हुनै दिएनन् । पहिले साथीभाइ नभएर हैरान, अहिले भएर हैरान ।
साहित्यकार श्रीमती मञ्जुको साथ लागेर अमेरिका पुगेका धरावासी उसो त अझै पनि वर्षको झन्डै चार–पाँच महिना कटाउन नेपाल नै आइपुग्छन् । उता लेख्छन्, यता छाप्छन् । घरैमा लेखकको पल्टन खडा गरेका छन्, उनले । दिवंगत पत्नी सीताजीको नाममा ‘म हिँडेको बाटो’ संस्मरण प्रकाशित छ । सीताजीको अवसानपछि उनको जीवनमा आएकी पत्नी मञ्जुका दुई पुस्तक यसअघि नै प्रकाशित छन् । अफ्रिकी मुलुक चाडमा रहेका छोरा दुर्गा विनय आफैं तीन आख्यानका लेखक हुन् । भाइ कुमारका पनि दुई पुस्तक प्रकाशित छन् ।
अमेरिकाझैं यता पनि मानिसहरूको व्यस्तता पहिलेभन्दा बढ्दै गएकामा उनी खुसी नै देखिए । यसपल्ट दार्जिलिङदेखि पोखरासम्म १४ वटा साहित्यिक कार्यक्रममा सहभागी भएका उनले आफ्ना लीलावादी भीष्म–पितामह इन्द्रबहादुर राईलाई घरै पुगेर भेटे । लीलाबोधसम्बन्धी एउटा सिद्धान्त–समालोचना र निबन्धको पुस्तक पनि सार्वजनिक गरे । एक दशकअघि छापिएको ‘राधा’ उपन्यासपछि बीचमा चट्टै छाडेका थिए— लीलालेखन । बरु झोला कथामाथि सिनेमा बनेसँगै उनको रुचि कागजबाट काँचको पर्दामा सरेको थियो । यसपालि बैरागी काइँला र सञ्जीव उप्रेतीलाई साक्षी राखेर उनैले लीलायात्रा ब्युँझाए ।
पछिल्लो उपन्यास ‘तल्लो बाटो’ भने धरावासीको ‘महत्त्वाकांक्षी परियोजना’ हो, जो हालै काठमाडौंमा सार्वजनिक भएको छ । नेपालका विभिन्न भूभागबाट अवैधानिक प्रक्रिया समाउँदै जीवन जखमीमा राखेर अमेरिका भासिने १० पात्रहरूको कथा उनले त्यसमा उनेका छन् । यसअघि लेखिएको ‘ग्रेट फल्स’ उपन्यासमा पनि उनले यस्तै प्रयास गरेका थिए । तर ‘तल्लो बाटो’ ले पछिल्ला दिनमा फेरिएको अमेरिकी राजनीति, अनि यताबाट जानेहरूमा देखिएको अमेरिका मोहबीचको द्वन्द्व केलाउने प्रयास गरेको उनले सुनाए ।
‘अझै पनि कति मान्छे सपनाको बाटोमा छन्, कोही ट्रान्जिटमा छन्, कोही जंगलमा । तिनलाई डोनाल्ड ट्रम्प आइसके भन्ने थाहै छैन,’ उनी भन्छन्, ‘उनीहरू सपनाबाट ब्यँुझिन बाँकी छ । त्यहाँको पछिल्लो राजनीतिले आप्रवासीहरूलाई मोहभंग गराउन सक्छ ।’ बिरानो मुलुकमा अवैधानिक हैसियतमा वर्षौं लुकेर बस्दा अधिकांश डिप्रेसनमा गइसकेको भन्दै उनले त्यस्ता मनोरोगीहरूसमेत आफूले फेला पारेको सुनाए । अनि अमेरिकामा जुनसुकै बेहाल बेहोरेर भए पनि स्वदेशका आफन्तलाई दिनुपरेको स्वर्गानभूतिको स्वैरकल्पना र बाँचिरहेको यथार्थबीचको दूरी उस्तै । सायद यसका लागि पुस्तक नै पढ्नुपर्छ ।
‘न्युयोर्कको जेलमा ३ सय नेपाली’ अहिले पनि अखबारमा छापिने हेडलाइनमै पर्छ । वैधानिक रुट छलेर चोर बाटो पक्रने ती नागरिकहरू कहाँबाट कसरी त्यहाँ पुगे होला, कुनै सरकारी तथ्यांकमा भेटिन्न । सन् १९९५ मा नेपालजस्ता अल्पविकसित देशहरूबाट डीभी भराउँदै उता लैजान थालेपछि अमेरिका मोहले उचाइ लियो । तिनीहरूबाट आर्जन हुने कमाइको राजस्व यो देशको ढुकुटीमा जम्मा हुँदैन । अनि उनीहरू कस्तो भूगोलबाट, गाडीबाट, जहाज र रेलबाट त्यहा पुगे, उनीहरू स्वयंलाई थाहा हुँदैन । दलाललाई २५ देखि ४० लाख रुपैयाँ बुझाएर वार्षिक ५–६ हजार डलर पनि कमाउन मुस्किल पर्ने भए पनि अमेरिका नपुगी नछाड्ने तिनको घिड्घिडो लेख्न धरावासीलाई उपाय फुर्‍यो ।
‘मधेसी, दलित, जनजाति, महिला, बाहुन गरी १० जनाको सत्यकथा नै कथानकमा आएको हो, उनीहरूले नाम खुलाउन अस्वीकार गरेका हुनाले उपन्यासमै लेख्नुपर्‍यो,’ उनले भने, ‘यो शरणार्थी भाग दुई हो ।’ उनको शरणार्थी उपन्यासमा बर्मा र भारतका विभिन्न ठाउँबाट भाग्दै नेपालतिर हिँडेका मानिसहरूको जीवनकथा उल्लेखित छ । ‘तल्लो बाटो’ मा भने सम्पूर्ण कष्ट झेलेर भए पनि पाताल देखिछाड्न कस्सिएका नेपालीहरू । दुवै आँसुका कथा हुन् । परेलीमा संवेग छचल्काउने उद्यममा धरावासीलाई कसले भेटोस्  !

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com