अमेरिकामा अप्रिल १८ भित्र ट्याक्स फाइल गर्न नसकेमा के गर्ने ?


प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार

set of black opened envelope and cash dollars

अमेरिकामा यो बर्ष ट्याक्स फाइल गर्ने अन्तिम दिनका रुपमा अप्रिल १८ लाई तोकिएको छ । सामान्यतया अप्रिल १५ सम्म ट्याक्स फाइल गरिसक्नुपर्ने भएतापनि यो बर्ष अप्रिल १८ मंगलबारसम्मको डेडलाइन तोकिएको हो ।

अप्रिल १८ भित्र ट्याक्स फाइल गर्न नसक्ने करदाताहरुले अक्टोबर १७ सम्म फाइल गर्नेगरी अवधि थपका लागि अनुरोध समेत गर्न सक्छन् । ट्याक्स फाइलका लागि अवधि थप्दा ट्याक्स तिर्नुपर्नेहरुका लागि कर तिर्ने अवधि भने थप हुँदैन । त्यसैले ट्याक्स तिर्नुपर्नेहरुले अनुमानित ट्याक्स डेडलाइनभन्दा अगाडि नै तिर्नुपर्छ ।

फर्म ४८६८ को कागजी भर्सन हुलाकमार्फत पठाएर ट्याक्स फाइलको अवधि थप गर्न सकिन्छ । यदि तपाईले ट्याक्स तिर्नुपर्ने छ भने उक्त रकमको चेक वा मनी अर्डर पनि पठाउनुपर्छ । तर हुलाकबाट पठाउँदा अप्रिल १८ वा सो भन्दा अगाडि नै पोष्टमार्क हुन जरुरी छ ।

त्यस्तै कागजी फर्म नभरिकनै पनि फाइल गर्ने अवधि लम्बाउन सकिन्छ । तर त्यसका लागि तपाईले तिर्नुपर्ने ट्याक्सको हिस्सा तीनवटा मध्ये एउटा अनलाइन प्रणालीबाट तिर्नुपर्छ । तपाई डाइरेक्ट पे, विद्युतीय संघीय कर तिर्ने प्रणाली वा क्रेडिट तथा डेबिट कार्डबाट तिर्न सक्नुहुनेछ । यसरी तिरेपछि तपाईको ट्याक्स फाइल गर्ने अवधि स्वत लम्बिन्छ ।

त्यस्तै निशुल्क ट्याक्स फाइल गर्ने प्रणालीबाट पनि फर्म ४८६८ पठाउन सकिन्छ । तर आफूले तिर्नुपर्ने रकम भने हुलाकबाट मनी अर्डर वा चेकमार्फत पठाउनुपर्छ । त्यसरी रकम पठाउँदा भरिएको ४८६८ लाई भौचरका रुपमा प्रिन्ट गरेर चेकसँगै राखेर पठाउनुपर्छ ।

यदि तपाईले अहिले तिर्नुपर्ने ट्याक्सको रकम तिर्न सक्नुहुन्न भने पनि फर्म ४८६८ फाइल गर्नुपर्छ । त्यसपछि कसरी ट्याक्स रकम तिर्ने भन्नेबारे विकल्प छनौट गर्न सक्नुहुनेछ ।

विदेशमा काम गर्ने र बस्ने अमेरिकन करदाताहरुका लागि भने ट्याक्स फाइल गर्ने समय अझै पनि बाँकी छ । उनीहरुले जुन १५ भित्र ट्याक्स फाइल गरिसक्नुपर्ने प्रावधान रहेको छ । 

सामान्यतया १२ हजार ५ सय ५० डलरभन्दा कम आम्दानी भएकाले अमेरिकामा ट्याक्स फाइल गर्न अनिवार्य छैन । तर विज्ञहरुले विभिन्न खालका क्रेडिटहरु प्राप्त गर्नका लागि उनीहरुलाई पनि ट्याक्स फाइल गर्न सुझाव दिएका छन् ।

पहिलो कुरा १२ हजार ९ सय ५० डलर भन्दा कम आम्दानी भएकाले कर तिर्नु नपर्ने भएकाले ट्याक्स फाइल गर्न अनिवार्य नभएपनि उनीहरुले ट्याक्स फाइल गरेमा आईआरएसबाट रिफण्ड पाउनसक्ने हुनसक्छ । खासगरी घरमा बच्चाबच्ची वा आश्रित भएकाहरुले ठूलो रकम रिफण्ड प्राप्त गर्न सक्छन् ।

घरमा बालबालिका भएकाहरुले अर्नड इन्कम ट्याक्स क्रेडिटवापत ६ हजार ९ सय ३५ डलरसम्म रिफण्डयुक्त क्रेडिट पाउनसक्छन् । त्यस्तै एकल व्यक्तिले पनि ५६० डलरसम्म अर्नड इन्कम ट्याक्स क्रेडिट प्राप्त गर्न सक्छन् ।

त्यस्तै चाइल्ड ट्याक्स क्रेडिट वापत एउटा बच्चाको २ हजार डलर डलरसम्म पाउनसक्ने व्यवस्था रहेको छ । त्यस्तै घरमा बच्चा वा आश्रितहरु भएकाहरुले चाइल्ड वा डिपेण्डेण्ट केयर क्रेडिट पनि पाउन सक्छन् ।  बच्चा वा आश्रितको हेरचाहका लागि रकम तिरेका र आफूले बाहिर काम गरेकाले यो क्रेडिट पाउनसक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com