चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश, अमेरिकाका विभिन्न राज्यमा तय भएको प्रदर्शन पनि स्थगित


प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार

उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो ।

चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछि केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका हुन् । उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।

यसैबीच अदालतको आदेशपछि अमेरिकामा पनि प्रदर्शनको तयारी गरिएको चलचित्रको प्रदर्शन प्रभावित भएको छ । अमेरिकाको धेरैवटा राज्यमा हल बुकिंग भैसकेको तथा चलचित्र प्रदर्शनको चाँजोपाँजो मिलाइसकिएको अवस्थामा यस प्रकारको निर्णयले गम्भीर धक्का पुगेको अमेरिका वितरक सुरेश दर्पण पोखरेल र मंजील श्रेष्ठले जनाएका छन् ।

अदालतको निर्णयलाई स्वीकार्दै उनीहरुले सम्पूर्ण स्थानीय आयोजक साथीहरु लगायत हल संचालकसँग हालका लागि चलचित्रको प्रदर्शन स्थगित गराउन अनुरोध गरेका छन् । नेपालमा भएको मुद्दा किनारा लाग्नासाथ यथाशीघ्र अमेरिकाभर ‘प्रसाद २’ प्रदर्शन गरिने पोखरेल र श्रेष्ठले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com