अमेरिकामा ८५ हजार कामदार भिसा एच वान बीका लागि भोलिदेखि आवेदन


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता अवधि मार्च १७ सम्म प्राप्त आवेदनहरुमध्येबाट लोटरी प्रणालीबाट छानिएकाहरुले भिसा प्रकृयाका लागि अप्रिल १ बाट आवेदन दिन सक्नेछन् । मार्च १ देखि १७ सम्मको अवधिमा प्रयाप्त आवेदनहरु प्राप्त भएको र लोटरी प्रणालीबाट छनौट गरेर छानिएका आवेदनहरुलाई सुचित गरिएको युएससीआईएसले जनाएको छ ।

लोटरीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनमा ४ प्रकारका स्टाटस देख्न सक्नेछन् । आवेदन दिएका, योग्य पनि रहेका तर लोटरीबाट छनौट नभएकाहरुको आवेदनमा सब्मिटेड स्टाटस देखिनेछ भने छनौट भएकाहरुको आवेदनमा सेलेक्टेड स्टाटस देखिनेछ । एउटाभन्दा धेरै आवेदन दिएका वा अन्य कारणले अयोग्य रहेकाहरुको स्टाटसमा डिनाइड देखिनेछ भने आवेदन पेश गरेका तर शुल्क नतिरेकाहरुको आवेदनमा इन्भ्यालिडेटेड फेल्ड पेमेन्ट स्टाटस देखिनेछ ।

सेलेक्टेड स्टाटस रहेकाहरुले अप्रिल १ बाट भिसा प्रकृया सुरु गर्न सक्नेछन् । छानिएका आवेदकहरुले ९० दिनभित्र फाइल गर्नुसक्नुपर्नेछ । तोकिएको सर्भिस सेन्टरमा फाइल गर्न र अनलाइनबाट फाइल गर्ने सुविधा नभएकाले कागजी रुपमा फाइल गर्न युएससीआइएसले सुझाव दिएको छ । कामदारहरुले आगामी अक्टोबर १ बाट भिसा पाउनेछन् भने आर्थिक बर्ष २०२४ भित्र अमेरिका आउन सक्नेछन् ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराएको छ ।  यो नम्बर केबल दर्ताको अवस्था हेर्नमात्र प्रयोग गर्न सकिन्छ ।  यदि भिसाको कोटा पूरा नभएको खण्डमा अर्कोपटक समेत लोटरी खोलिने भएकाले अहिले छनौटमा नपरेकाहरु अर्कोपटक छनौटमा पर्नसक्छन् ।

एचवान बी कामदार भिसाको कोटा ६५ हजार रहेको छ भने अमेरिकी मास्टर्स डिग्री भएकाहरुका लागि थप २० हजार कोटा रहेको छ । यसरी एउटा आर्थिक बर्षका लागि कुल भिसा संख्या ८५ हजार रहेको छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले केही टिप्सहरु समेत दिनुभएको छ ।

खासगरी पैसामा माग्ने कम्पनी र दलालबाट सावधान हुन उहाँले सचेत गराउनुभएको छ । अमेरिकन कम्पनीहरुले जागिरको अफर गर्दा उक्त कम्पनीको पृष्ठभूमि इन्टरनेटमा चेक गर्न उहाँले सुझाव दिनुभएको छ । साथै गुगल रिभ्यु पनि हेर्न सुझाव दिनुभएको छ ।

यदि कम्पनी सही छ भने अमेरिकी कानुन अनुशार भिसा आवेदन दिइने व्यक्तिका लागि कुनै शुल्क नलिने उहाँले जानकारी दिनुभयो । यदि कम्पनीले पैसा मागेको खण्डमा आफू त्यसबाट टाढै रहन उहाँले सुझाव दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com