पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

– शब्द/तस्विर: लालप्रसाद शर्मा

श्रावण १८, २०७४- शिलन्यास भएको साढे १६ महिनापछि पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माण सुरु भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको बिमानस्थल चीनको एक्जिम बैंकको करिव २२ अर्ब रुपैयाँ ऋणमा बन्दैछ ।

बिमानस्थलको २०७३ बैशाख १ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरेका थिए । साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तत्कालिन उपप्रधानमन्त्रीद्वय कमल थापा, विजयकुमार गच्छदार, पर्यटनमन्त्री आनन्द्रप्रसाद पोखरेल र कांग्रेस महामन्त्री सशांक कोइरालाले निर्माणस्थलमा एक/एकवटा इँटा राखेका थिए ।

पूर्व प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढे पनि कुनै काम नभएर निराश बनेका बेला निर्माणको कामले गति लिएसंगै पोखरेली खुशी भएका छन् ।

११ जुलाई २०१७ बाट काम सुरु भएपनि पर्यटन मन्त्री जितेन्द्रनारायण देवले बुधवार रिवन काटेर निर्माणको कामलाई औपचारिकता दिए । उक्त अवसरमा मन्त्री देवले पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माणपछि देशको समृद्धि र बिकासमा योगदान दिने कोशेढुंगाको थालनी भएको बताए । ‘लामो र कठिन यात्रापछि आज बिमानस्थल निर्माणको काम सुरु भएको छ’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको प्रगति निकै कम भएको अवस्थामा पोखराले उदाहरण बनेर देखाउन सक्नुपर्छ ।’

दुई देशबीच सबै कानुनी प्रक्रिया टुंगिएर निर्माणको प्रक्रियामा गएको हो । अवको एक वर्ष डिजाइनिङ चरण रहने र १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ । बिमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर प्रदीप अधिकारीका अनुसार गत ३१ मेमा ‘लोन ईफेक्टिभ’ भएपछि ४२ दिनभित्र निर्माण सुरु गर्नुपर्ने कार्यादेश अनुसार निर्माण कम्पनीलाई जुलाई ११ बाट काम सुरु भएको हो । आयोजनास्थलमा अहिले कार्यालय, निवास, खानेपानीलगायतका पूर्वाधारका काम सुरु भएको छ । यसका लागि नेपाली र चिनियाँ दक्ष र अदक्ष १ सय १० कामदार खटिएका छन् ।

बिमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक सांसद तथा बिकास समितिका सभापति रबिन्द्र अधिकारीले निर्माण चरणपूर्वका सबै काम तथा प्रक्रिया सकिएकाले समयमै बिमानस्थल बन्ने विश्वास व्यक्त गरे । ‘स्थानीयको सहयोग, पूर्व तयारीलगायत कुनै पनि समस्या नभएको र समयमै नसके निर्माण कम्पनीले पेनाल्टी तिर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण समयमै निर्माण हुनेमा ढुक्क छु,’ उनले भने, ‘कुनै समस्या देखिएमा तुरुन्त समाधानको पहल गरिनेछ ।’

उक्त ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याजमा र २५ प्रतिशत चीन सरकारको निर्ब्यजी ऋण हो । विमानस्थलको निर्माणमा चीनकै सिएएमसी कम्पनी छनौट भइसकेको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर जेरी याङले सबै पक्षको सहयोगबाट समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेशनको मापदण्ड अनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुनेछ । अन्तर्राष्ट्रिय, राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् । विमानस्थलका लागि सरकारले २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुग्ने भएपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत स्थानीयस्तरमा सबै समस्या समाधान भइसकेको संयोजक अधिकारीले बताए । आयोजनाको वातावरण प्रभाव मुल्यांकन, माटोको अनुसन्धान तथा अन्य विषयमा आवश्यक जानकारी लिइसकेको छ । साथै अघिल्लो असारमा निर्माणको पूर्व तयारीका लागि ठेकेदार सिएएमसी कम्पनीका प्राविधिक टोली यहाँ आएर विभिन्न अध्ययन गरेको थियो । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पोखरेलीको प्रतिक्षाको अवधि सकिएको भन्दै पोखरामा कुनै समस्या नदेखिएकाले समयमै आयोजना सकिने बताए । उनले बिमानस्थल बनेपछि अहिले संचालनमा रहेको बिमानस्थल के गर्ने भन्नेतर्फ आजैबाट सोच्न पोखरेलीसमक्ष अनुरोध गरे । साथै पोखराको ल्यान्डफिल्ड साईट, प्याराग्लाईडिङलगायत पर्यटकीय गतिविधि पनि ठप्प हुनेतर्फ सोचेर काम गर्नुपर्नेमा उनले जोड दिए । ‘ऋण र ब्याज यही बिमानस्थलबाट तिर्नुपर्छ’ उनले भने ।

कार्यक्रममा सांसदद्वय शारदा पौडेल र सीता गिरी, पोखरा लेखनाथ महानगरपालिकका प्रमुख मानबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोउवासंघका अध्यक्ष विश्वशंकर पालिखे, पर्यटन व्यवसायी हरी शर्मा, गणेशबहादुर भट्टराई, स्थानीय सरोकार समितिका बलराम कुँवरलगायतले बोलेका थिए  ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com