२१ हजार युवा स्थायी शिक्षक बन्दै


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

– मकर श्रेष्ठ

श्रावण १८, २०७४- अस्थायी र राहत कोटाका भरमा चलिरहेका मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन्। एकैसाथ ठूलो संख्यामा जोस–जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औंल्याउँछन्। तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफलतापूर्वक सम्पन्न हुनु अनिवार्य छ।

आयोगले वर्षौंदेखि अस्थायी रूपमा कार्यरत शिक्षकलाई स्थायी गराउन भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ। गत वर्ष संशोधित शिक्षा ऐनअनुसार ०४९ अघिदेखि ०७२ सम्म नियुक्ति लिएका २६ हजार अस्थायी शिक्षकको व्यवस्थापन गर्न यो परीक्षा लिन लागिएको हो। यसका लागि १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरिएकामा १५ हजार ६ सय ९० ले परीक्षा दिँदैछन्। यीमध्ये करिब ९ हजार योग्य शिक्षक स्थायी हुनेछन्।

भदौ ३ को परीक्षालगत्तै आयोगले खुला प्रतिस्पर्धाका लागि विज्ञापन खुलाउनेछ। उक्त विज्ञापनबाट २१ हजारभन्दा बढी नयाँले स्थायी जागिरको अवसर पाउनेछन्। शिक्षक सेवा आयोग नियमावली संशोधन गरेर विज्ञापन खोल्ने आयोगले जनाएको छ। ०६१ देखि ०७२ सम्म कार्यरत अस्थायी पदको ५१ प्रतिशत र सुविधा लिएर घर जान चाहेका ९ हजारभन्दा बढी शिक्षकको कोटासहित २१ हजार हाराहारी नयाँले सामुदायिक विद्यालयमा प्रवेश पाउने आयोगका अध्यक्ष ताना गौतमले बताए। ऐनमा अस्थायी शिक्षकले परीक्षा वा सुविधा रोज्नुपर्ने व्यवस्था छ।

आयोगका अनुसार अस्थायीको परीक्षा सकिएपछि हुने विज्ञापनमा प्राविमा ११ हजार ३ सय ६८ दरबन्दीमा प्रतिस्पर्धा हुनेछ। निमाविमा २ हजार १ सय ३३ र माविमा १ हजार ३ सय ९६ दरबन्दीमा प्रतिस्पर्धा हुने अध्यक्ष गौतमले बताए। उनका अनुसार अस्थायीको आन्तरिक प्रतिस्पर्धाका तोकिएको कोटा १५ हजार ६ सय ९० मध्ये करिब ६ हजार कोटामा पनि खुला प्रतिस्पर्धा हुनेछ।

ऐनअनुसार परीक्षा छाडेर घर जानेको संख्या ९ हजारभन्दा बढी छ। प्राथमिक तहमा मात्रै ०६१ अघि जागिरमा प्रवेश गरेका ७ हजार २ सय ४, निमाविमा एक हजार एक सय ९२ र माविका ८ सय ८८ जनाले सुविधा लिएर घर जान चाहेका छन्। यो दरबन्दीमा प्रतिस्पर्धाबाट छानिएका योग्य शिक्षक नियुक्त गर्न सकिन्छ। त्यस्तै, ०६१ देखि ०७२ सम्मको दरबन्दीमा ५१ प्रतिशत खुलाका लागि छुट्याउँदा प्राविमा ४ हजार १ सय ६४, निमाविमा ७ सय ५१ र माविमा ५ सय ८ जना छन्। खुलाको विज्ञापन गर्नेबित्तिकै ५ हजार ४ सय जना प्रतिस्पर्धाबाट योग्य शिक्षक छनोट हुन सक्छन्।

खुला र आन्तरिक गरी ३० हजारभन्दा बढी स्थायी शिक्षक सामुदायिक विद्यालय छिर्दा गुणस्तरमा कायापटल हुने शिक्षाविद् मनप्रसाद वाग्लेले बताए। ‘कक्षाकोठामा उत्साही र जागरिला युवा छिरेपछि विद्यालयको रूप फेर्न र गुणस्तर सुधार्न सहयोग पुग्नेछ,’ उनले भने। शिक्षक महासंघका महासचिव तिलक कुँवरले खुला प्रतिस्पर्धाबाट भर्खरै पढाइ सकेका जाँगरिला, आँटिला र जोसिला युवा प्रवेश हुँदा सामुदायिक विद्यालयको रूप नै बदल्न सकिने बताए। ‘अब प्रवेश गर्ने युवामा आईटीको ज्ञान हुन्छ। उनीहरू नयाँ शिक्षण तरिका आफैं खोजेर पढाउन सक्षम हुन्छन्,’ उनले भने।

अस्थायी शिक्षकले आन्दोलन गर्ने 
शिक्षक सेवा आयोगले थालेको अस्थायी शिक्षकलाई स्थायी गराउने प्रक्रियाको विरोध गर्दै अस्थायी शिक्षकहरूले भने बुधबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले शिक्षा ऐनमा व्यवस्था भएअनुसार परीक्षा वा सुविधा रोज्न अवसर दिँदा पनि ०६१ पछि नियुक्ति पाएका शिक्षकले दुवै अवसर दिनुपर्ने माग राखेर अनशन बस्ने घोषणा गरेका छन्। शिक्षामन्त्री गोपालमान श्रेष्ठले असार ९ मा ती शिक्षकहरूसँग दुवै सुविधा उपलब्ध गराउन एक वर्षअघि संशोधन भएको ऐन पुन: संशोधन गर्ने, परीक्षा सहज बनाउनेलगायत चारबुँदे सम्झौता गरेका थिए।
उक्त सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै अस्थायी शिक्षकहरू आन्दोलनमा छन्।

उनीहरूले भदौ ३ मा तोकिएको परीक्षा सार्नुपर्ने माग गरेका छन्। शिक्षकहरूको छाता संगठन शिक्षक महासंघले भदौ ३ मै परीक्षा हुनुपर्ने निर्णय गरेको छ भने शिक्षा मन्त्रालय शिक्षक सेवा आयोगलाई दबाब दिइरहेको छ। लामो समयदेखि अस्थायी शिक्षकका रूपमा कार्यरत करिब १५ हजार शिक्षक परीक्षा दिने तयारी अवस्थामा रहेकाले जसरी पनि परीक्षा हुनुपर्ने महासचिव कुँवरले बताए। ‘शिक्षा मन्त्रालय कहिल्यै शिक्षक हकहितका पक्षमा रहेन। अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने व्यवस्था पनि बाध्यताले स्विकारेको हो। अझै रोक्न सकिन्छ कि भन्ने कसरतमा छ,’ कुँवरले भने, ‘मुलुक संघीयतामा गइसकेको अवस्थामा नयाँ शिक्षा ऐन संशोधन प्रक्रिया लम्बिने हुँदा अधिकांश शिक्षकले पेन्सन उमेर ६० वर्ष काटिसक्नेछन्। आन्दोलनरत शिक्षक साथीहरू पनि साँच्चै परीक्षाबाट स्थायी हुने हो भने तोकिएकै मितिमा परीक्षा हुनुपर्छ।’

भदौ ३ को परीक्षा सार्दा तयारीमा जुटेका १५ हजार शिक्षक आन्दोलनमा आउने महासंघको ठम्याइ छ। उक्त आन्दोलनमा अध्यापन अनुमति लिएका लाखौं युवाहरू पनि सामेल हुन सक्ने भएकाले प्राप्त उपलब्धि गुम्न दिनु नहुने कुँवरले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com