अमेरिकामा ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा दर्ता अवधि समाप्त, नतिजा १५ दिनमा


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

अमेरिकामा कामदार भिसा एचवानबीको लोटरीमा दर्ता अवधि समाप्त भएको छ । आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन दर्ता मार्च १ को दिउसो १२ बजेबाट सुरु भएकोमा मार्च १७ को दिउसो १२ बजे समाप्त भएको हो ।

युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले कामदारको विवरण दर्ता गराइसकेका छन् । यो भिसाका लागि कामदार आफैले दर्ता गर्न मिल्दैन ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराएको छ । यो नम्बरमार्फत दर्ताको अवस्था हेर्न सकिनेछ । पूर्ण आवेदनको अवस्था हेर्नका लागि यो नम्बर प्रयोग गर्न सकिन्न ।

मार्च १७ सम्म प्रयाप्त आवेदनहरु प्राप्त भइसकेकाले अनलाइन एकाउन्टमार्फत मार्च ३१ सम्म आवेदन छनौट भए नभएकोबारे जानकारी दिने युएससीआईएसको लक्ष्य रहेको छ । लोटरी प्रणालीबाट आवेदनहरुको प्रारम्भिक छनौट गरिन्छ । अनलाइन दर्ता प्रकृयामा छनौट भएका आवेदनहरुमात्र रोजगारदाताले भिसा प्रकृयाका लागि अगाडि बढाउन सक्नेछन् ।

एचवान बी कामदार भिसाको कोटा ६५ हजार रहेको छ भने अमेरिकी मास्टर्स डिग्री भएकाहरुका लागि थप २० हजार कोटा रहेको छ । यसरी एउटा आर्थिक बर्षका लागि कुल भिसा संख्या ८५ हजार रहेको छ ।

कति नेपालीलाई एच भिसा ?

सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एचवान बी प्राप्त गरेका थिए । जसमा जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ । आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीलाई र २०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो ।

आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा एचवान बी र उनीहरुका आश्रितले पाउने एच फोर भिसा समावेश छ । आर्थिक बर्ष २०२२ को तीनमहिनामा भने २९२ जना नेपालीहरुले एचवानबी र एच फोर भिसा प्राप्त गरेका थिए ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन सेक्सन १०१ (ए)(१५)(एच) अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ ।

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com