महामारीपछि पनि अमेरिकाको नेपाली समुदायमा सुनको चाप, क्वीन्स डायमण्डका ८ श्रृजनशील उपाय


प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार

कोरोना महामारीको तीनबर्ष बितिसकेपनि कैयन साना व्यवसायहरु अझै पहिलेकै अवस्थामा फर्कनका लागि संघर्ष गरिरहेका छन् । यसबाट न्युयोर्कमा नेपाली समुदायबाट संचालित व्यवसायहरु पनि अछुतो छैनन् । पहिलेकै अवस्थामा फर्कनका लागि व्यवसायहरुले चरम उपायहरु समेत अपनाइरहेका छन् ।

कोरोना महामारीले मान्छेहरुको जीवनशैलीमा नै परिवर्तन गरिदिएको छ । तरपनि झण्डै तीनबर्षको उतारचढावपछि हामी लगभग आर्थिक हिसाबले पहिलेकै अवस्थामा फर्कन सफल भएका छौं । न्युयोर्कको क्वीन्स ज्याक्सनहाइटमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरीकी संचालक सूर्य महर्जनले बताइन् । क्वीन्स डायमण्ड एण्ड ज्वेलरी सूर्य महर्जन र उनका पति समिर महर्जनबाट संचालित पारिवारिक व्यवसाय हो ।

सन् २०२० को मार्चमा न्युयोर्क कोरोना महामारीको इपीसेन्टर नै बन्यो । त्यो अवस्थामा अत्यावश्यक बाहेकका अधिकांश व्यवसायहरु बन्द गर्नुपर्ने अवस्था आयो । ज्याक्सनहाइटको ७४ स्ट्रीटमा रहेको क्वीन्स डायमण्डपनि झण्डै ३ महिना बन्द गर्नुपरेको थियो । जुलाईमा पुन खोलिएपनि कोरोनाविरुद्धको खोप नआउदासम्म व्यवसाय सामान्यरुपमा पूर्णरुपमा संचालनमा आउन सकेन । सन् २०२१ को जनवरीपछिमात्र व्यवसाय नियमित र पूर्णरुपमा संचालन आउन थाल्यो ।

सूर्य सम्झिन्छिन् – ‘सन् २०२० भरमा हामीले व्यवसाय नियमित रुपमा संचालन गर्न सकेनौं । तीनमहिना बन्द गरेर पुन खोल्दा पनि हामीले घण्टाहरु कम गरेरमात्र खोल्यौं । ग्राहकहरुपनि सिमित लियौं । जसले गर्दा ठूलो आर्थिक घाटा बेहोर्नुपर्ने अवस्था आयो । तर खोप आइसकेपछि सन् २०२१ बाटभने स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर व्यवसाय पूरै घण्टा संचालनमा आयो । तर ब्यापार भने पहिलेको स्केलमा आउन सकेन ।’

व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउन आधादर्जन श्रृजनशील उपाय

महर्जन दम्पत्तिले सन् २००५ देखि अमेरिकामा गहनाको व्यवसाय सुरु गरेको हो । सन् २००८ मा क्वीन्स डायमण्ड एण्ड ज्वेलरीको सुरुवात गरिएको हो । तर अमेरिकामा १८ बर्ष व्यवसाय गर्दा कोरोना महामारीमा जस्तो कठिन अवस्था कहिले पनि नआएको संचालक समिर महर्जनको भनाई छ । व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउनका लागि विभिन्न आधादर्जन बढी श्रृजनशील उपायहरु अपनाइएको उनी बताउँछन् ।

कोरोना महामारीपछि क्वीन्स डायमण्डले न्युयोर्कसिटीभित्र एकैदिनमा गहना डेलिभरी प्रणालीलाई दु्रत बनायो । कुनै तयार भएको गहना छ भने अर्डर आएकै दिनमा सुरक्षित डेलिभरी गरिदिने व्यवस्था भएपछि न्युयोर्क सिटीभित्रका ग्राहकहरुले गहनाहरु घरमा डेलिभरी मगाउने क्रम बढ्न थाल्यो । समिर भन्छन् – ‘यसले व्यसायमा सकारात्मक असर पर्यो । डेलिभरीका क्रममा लुटपाट भएमा वा हराएमा समेत इन्सुरेन्सको व्यवस्था गरिएकाले हामीले अपनाएको यो उपाय प्रभावकारी भएको छ ।’

त्यस्तै कोरोना महामारीपछि क्वीन्स डायमण्डले इकमर्श वेवसाइटको सुरुवात गर्यो । जसले गर्दा कुनै गहनाको अर्डर गर्नका लागि स्टोरमा नै आउनुपर्ने कोरोना महामारीभन्दा अगाडिको अवस्थाको अन्त्य भयो । कोरोना महामारीपछि ग्राहकहरुलाई पनि अनलाइनमा बानी परेकाले क्वीन्स डायमण्डको आधिकारिक वेवसाइटमार्फत आउने अर्डर पनि विस्तारै बढ्दै गएको महर्जन दम्पत्तिको अनुभव छ । समिर भन्छन् – ‘हामीले महामारीपछि वेवसाइटलाई नयाँ फर्ममा ल्यायौ । न्युयोर्क सिटीभन्दा बाहिरका ग्राहकहरुले सानो सानो गहनाहरु अनलाइनबाट अर्डर गर्न सहज मान्न थाले । अनलाइनबाट अर्डर गरिएको गहना डेलिभरी गर्ने क्रममा उनीहरुले साइन गरेर नलिएसम्म इन्सुरेन्सको व्यवस्था हुने भएकाले ग्राहकले निर्धक्कसँग अर्डर गर्नसक्छन् ।’

त्यस्तै सामाजिक सञ्जालको पनि व्यापक प्रयोग गरिरहेको र त्यसले सकारात्मक प्रभाव पारेको समिरको अनुभव छ । डिजिटल फ्लायरहरु बनाएर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेदेखि फेसबुक शप बनाउनेसम्मका उपायहरु अपनाइएको उनले बताए । फेसबुक शपबाट धेरै अर्डरहरु नआएपनि फेसबुक शपमा गहनाहरु हेरेर सिधा सम्पर्क गर्नेहरुको संख्या उल्लेख्य रहेको उनले बताए । सामाजिक सञ्जालमा केही घण्टाका लागि लाइभ सेल संचालन गर्दै आएको लाइभ सेलका क्रममा समेत अर्डरहरु आउने गरेको उनको अनुभव छ ।

गहनाहरु किन्दा राम्रोसँग हेर्न चाहने तर भौतिक रुपमा उपस्थीत हुन नसक्ने ग्राहकहरुका लागि भिडियोकलबाट लाइभ देखाएर समेत अर्डरहरु लिने गरिन्छ । भिडियोकल वा फेसटाइमबाट ग्राहकहरुलाई गहनाहरु राम्रोसँग देखाइने भएकाले यसो गर्दा ग्राहकलाई आफूले किन्ने गहनाबारे निर्णय गर्न सजिलो हुने गरेको समिरको अनुभव छ । अनलाइन वा रिमोर्ट अर्डर गरेको गहना आफूलाई मन नपरेमा ग्राहकले एकसाताभित्र फिर्तासमेत गर्नसक्ने सुविधा भएकाले ग्राहकको आकर्षण बढ्दै गएको उनले बताए ।

अमेरिकामा सुनको मूल्यको १० बर्षे चार्ट ।

महामारीपछि ग्राहकको क्रयशक्ति कम भएको छ भने सुनको भाउपनि बढेका कारण ग्राहकहरु एकैपटक महँगो गहना किन्न हच्किने गरेका छन् । सन् २०१९ मा सुनको मूल्य प्रतिआउन्स १२८५ डलर थियो भने सन् २०२० को अगस्तमा २ हजार डलर नाघेको थियो । सन् २०२२ को मार्चमा प्रतिआउन्स २ हजार डलरको हाराहारीमा पुगेको सुनको मूल्य सन् २०२३ को जनवरी २४ मा १९३७ डलर पुगेको थियो । सुनको मूल्य बढेपछि ग्राहकको सुविधाका लागि क्वीन्स डायमण्डले विस्तारै रकम तिर्न सकिने लेअवे प्रणााली समेत सुरु गरेको छ । यो प्रणाली अन्तरगत गहनाको ८० प्रतिशत मूल्य तिरेपछि २० प्रतिशत मूल्य पछि तिर्नेगरी सामान दिने गरिएको छ । त्यसका लागि कुनै क्रेडिट चेक आवश्वक पर्दैन । समिर भन्छन् – ‘समुुदायसँगको सम्बन्ध र परस्पर विश्वासका आधारमा हामीले यो प्रणाली अपनाएका छौं । व्यवसायसँग पुरानो सम्बन्ध भएका ग्राहकको परिचयपत्र लिएर हामीले २० प्रतिशत रकम पछि तिर्नेगरी सामान दिने गरेका छौं ।’

‘त्यो बाहेक क्रेडिट कार्ड एप्लाई गर्नसक्ने व्यवस्था समेत रहेको छ । सिंक्रोनी बैंकसँग सहकार्य गरेर क्रेडिट कार्ड जारी गरिने र कतिपय ग्राहकहले त्यसबाट १५ हजार डलर सम्मको गहनासमेत किन्ने गरेको समिरले जानकारी दिए । तर त्यसका लागि क्रेडिट स्कोर राम्रो हुनुपर्छ भने बैंकबाट क्रेडिट अप्रुभल आवश्यक हुन्छ,’ समिर भन्छन् ।

महामारीपछि क्वीन्स डायमण्डले आफूहरुको आधिकारिक वेवसाइटबाहेक ईटीएसवाई डटकमबाट समेत गहनाहरु बेच्न सुरु गरेको छ । त्यसमा आफूहरुको छुट्टै सेक्सन रहेको समिरले जानकारी दिए । समिर भन्छन् हामीले त्यसमा पहिले नै सुरुवात गर्ने सोंचेका थियौं । तर महामारीपछि ग्राहकलाई अनलाइनमा किनमेल गर्ने बानी पर्न थालेकाले अनुकुल समय भयो ।

त्यस्तै विभिन्न चाडपर्व र अवशरहरुमा अफरहरु ल्याउने र सेलहरु श्रृजना गर्ने उपायले समेत व्यवसायमा सकारात्मक प्रभाव पारेको छ । नेपाली समुदायका चाडपर्वहरु गहनासँग जोडिएकाले र त्यस्ता चाडपर्वमा निश्चित गहना लगाउने तथा उपहार दिने प्रचलन रहेकाले ती चाडपर्वहरुमा अफरहरु ल्याउने गरिएको छ । सूर्य भन्छिन् -‘तिहारमा दिदीबहिनीहरुलाई गहनाहरु उपहार दिइने भएकाले त्यही प्रकारका गहनाहरुको अफर ल्याउँछौं । तीजमा विशेष प्रकारका गहना लगाइने भएकाले त्यही प्रकारका गहनाहरुको अफर ल्याउँछौं । भ्यालेन्टाइन्स डेका लागि प्रेम झल्किने खालका गहनाहरुको अफर ल्याउँछौं ।’

यी उपायहरुले गर्दा व्यवसाय पहिले कै अवस्थामा फर्किन सफल भएको सूर्य महजर्नको अनुभव छ । उनी भन्छिन् – ‘कोरोना महामारीपछि गहना लगायतका लक्जरी सामान ग्राहकको प्राथमिकताकामा कम परेको अवस्थामा समेत यी उपायहरु अपनाएर हामीले लगभग महामारीभन्दा अगाडिको अवस्थामा फर्किसकेका छौं ।’

व्यवसायको विस्तार

कोरोना महामारीपछि क्वीन्स डायमण्डले व्यवसायको विस्तार समेत गरेको छ । कोरोना महामारीभन्दा अगाडि नै मेरिल्याण्ड र क्यालिफोर्नियामा समेत शाखा विस्तार गरिएको थियो । महामारीपछि थप शाखाहरु विस्तार त गरिएको छैन तर ज्याक्सनहाइटमा रहेको व्यवसाय थप स्क्वायर फुटमा फैलिएको छ । पहिले ८ सय स्क्वायर फुटमा संचालन भइरहेको व्यवसाय अहिले १६ सय क्वायर फुटमा फैलिएको छ । सन् २०२१ मा थप ठाउँ लिजमा लिएर व्यवसाय विस्तार गरिएको समिरले जानकारी दिए ।

समिर भन्छन् – ‘अगाडिको भागमा धेरै भीड हुन थालेपछि उक्त भीड कम गर्न र धेरै सामानहरु अर्डर गर्ने ग्राहकलाई सहज बनाउनका लागि पछाडिपट्टी थप ठाउँ लिएका हौं । विवाह लगायतका अवशरमा सामान अर्डर गर्दा एउटै ग्राहकलाई लामो समय लाग्ने भएकाले उनीहरुले आरामले अर्डर गर्नसक्ने गरी व्यवस्था गरेका हौं ।’

कोरोनाभाइरस महामारीको सुरुमा तीन महिना बन्द भएपछि २०२० मा पुनः खोलिएको क्वीन्स डायमण्डमा संचालक सूर्य महर्जन क्वीन्स डायमण्डमा । फोटो: किशोर पन्थी

तर व्यवसाय विस्तारका लागि आफूले सरकारी स्तरबाट कुनै प्रकारको ऋण लिन नपरेको उनले बताए । ईआईडीएल ग्रान्टपेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको रकमले कर्मचारीहरुलाई तलब खुवाउन सहयोग भएपनि व्यवसाय विस्तारका लागि कुनै ऋण र ग्रान्ट लिनु नपरेको समिरको भनाई छ । उनी भन्छन् – ‘त्यो रकम हामीलाई भन्दा धेरै आवश्यक र धेरै प्रभावित साना व्यवसायलाई जाओस् भन्ने उद्देश्यले हामीले लिएनौं ।’

कोरोना महामारीका कारण कोहीपनि कर्मचारीहरुलाई ननिकालिएको समिरले जानकारी दिए । व्यवसाय विस्तार गरेर ३ जना कर्मचारीहरु थप गरेको तर कठिन अवस्थाका बाबजुत पनि कर्मचारीहरु ननिकालेको उनले बताए । महामारीको समयमा कम घण्टामात्र स्टोर खुल्दा र कामदारहरुले कम घण्टामात्र काम गर्दा पनि पूरै घण्टाको तलब दिएको उनले बताए ।

क्वीन्स डायमण्डले महामारीपछि खुद्राका साथसाथै होलसेललाई पनि ध्यान दिएको छ । महामारीपछि नेपाली समुदायका गहना पसलहरु अमेरिकाका अन्य राज्यमा खुल्ने क्रम उल्लेख्य रहेको छ । ती गहना पसलहरुमा होलसेलमा गहनाहरु सप्लाई गर्ने गरेको समिरले जानकारी दिए । महामारीपछि त्यस्ता १० वटा गहनापसलसँग काम गरिरहेको उनले बताए ।

क्वीन्स डायमण्डले अहिले नेपालमा समेत फयाक्ट्री विस्तार गरेको छ । सन् २०२३ बाट नेपालमा फयाक्ट्री एक्सपान्सन गरेको र नेपालमा श्रमशक्ति सस्तो भएकाले यसले गहनाको उत्पादन लागत सस्तो पर्ने भएकाले व्यवसायलाई सम्भावित मुद्रास्फीतिको सामना गर्न समेत तयार पार्ने समिरको अपेक्षा छ । यद्यपी आफूहरुले ३० प्रतिशत गहनाहरु भने अमेरिकामा नै उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।

सम्भावित मुद्रास्फीतिको सामना गर्न समेत महर्जन दम्पत्तिले विभिन्न योजनाहरु बनाएका छन् । मुद्रास्फीतिमा ग्राहकले लक्जरी सामान कम किन्ने सम्भावना हुने भएकाले स्टकहरु होसियारीपूर्वक राख्ने तथा स्टक धेरै नबढोस् भनेर स्टकलाई मिनिमाइज गर्नेतर्फ ध्यान दिने उनीहरुको योजना छन् । अनावश्यक खर्चहरु कटौती गर्ने र विक्री बढाउन प्रयास गर्ने उनीहरुको योजना रहेको छ ।

बेच्न आउनेहरु बढ्दो

महामारीपछि सुनको मूल्य बढेकाले आफूसँग भएको सुन वा गहना बेच्न आउने ग्राहकको संख्यामा समेत उल्लेख्य बृद्धि भएको छ । महामारीभन्दा पहिले नै गहना किनेकाहरुले अहिले बेच्दा उल्लेख्य रुपमा नाफा कमाउनसक्ने भएकाले बेच्न आउनेहरुको संख्यामा बृद्धि भएको हो । अमेरिकामा किनेको गहनाको बिल भएमा आफूहरुले त्यस्तो गहना वा सुन सिधै किनिदिने गरेको समिर बताउँछन् ।

उनी भन्छन् -‘अमेरिकाबाहिर किनेको सुन वा गहना भएको खण्डमा हामीले ल्याब टेस्ट गरेर किनिदिने गरेका छौं । ल्याब टेस्ट गर्न एकदिनको समय लाग्छ । तर हामीकहाँ पहिले किनेको वा अमेरिकामा नै आधिकारिक स्टोरबाट किनेको गहना वा सुन भएमा ल्याब टेस्ट गर्नुपर्दैन । ग्राहकबाट सुन खरिद गर्दा खासै नाफा नहुनेभएतापनि ग्राहकसँगको सम्बन्धका लागि हामीले किन्ने गरेका छौं ।’

आफूकहाँ खरिद गरेको हिराको गहना १० बर्षपछि साट्न आएपनि साटिदिने तथा कुनै अतिरिक्त शुल्बविना किनेकै भाउमा साटिदिने समिरले बताए । तर सुनको गहना भने त्यतीबेला चलेको भाउमा मात्र साट्ने वा खरिद गर्न सकिने उनले बताए ।

गहना किन्दा इन्सुरेन्स गर्न समिरले ग्राहकहरुलाई सुझाव दिन्छन् । इन्सुरेन्स किन्दा किनेको गहना चोरी भएमा, हराएमा वा लुटपाट भएमा पनि इन्सुरेन्सले कभर गर्ने भएकाले इन्सुरेन्स लिनका लागि प्रोत्साहित गर्ने उनले बताए ।

नेपालमा उपहार दिन अमेरिकामा किन्ने

नेपालको तुलनामा अमेरिकामा सुन सस्तो हुने भएकाले अमेरिकामा सुन किनेर नेपालमा लैजानेहरु पनि उल्लेख्य छन् । नेपालमा ५० ग्रामसम्ममात्र सुनका गहना विना भन्सार लैजान पाइने कानुनी प्रावधान रहेको छ । नेपालीहरुले नेपाल जाँदा सुनका गहना ५० ग्रामसम्म लैजादा कुनै भन्सार महसुल लाग्दैन । तर सोभन्दा बढी १०० ग्राम सम्मको सुनको गहनामा प्रति १० ग्राम १० हजार ५०० रूपैया अर्थात् झण्डै ८० डलर भन्सार महसुल तिर्नुपर्छ । त्यो भन्दा बढी सुनका गहना बोकेको अवस्थामा थप १०० ग्रामसम्म प्रति १० ग्राम १२ हजार रुपैया अर्थात् झण्डै ९० डलर भन्सार महसुल तिरी लैजान पाइन्छ । तर, २५० ग्राम भन्दा बढी सुनको गहना बोकेमा बढी भएजति सबै जफत हुने प्रावधान छ । त्यस्तै काँचो सुन अधिकतम १०० ग्रामसम्म भन्सार महसुल तिरेर लैजान पाइन्छ ।

काँचो सुनको सन्दर्भमा पहिलो ५० ग्रामसम्म प्रति ग्राम ९५० रूपैंया अर्थात झण्डै ७ डलर भन्सार महसुल लाग्दछ । थप ५० ग्राम सम्म प्रति ग्राम १ हजार ५० रूपैया अर्थात झण्डै ८ डलर भन्सार महसुल लाग्दछ भने सो भन्दा बढी काँचो सुन बोकेमा बढी भएजति सबै सुन जफत हुने प्रावधान छ ।

अमेरिकामा अहिले सुनको मूल्य प्रतिग्राम झण्डै ५८ डलर रहेको छ भने नेपालमा झण्डै ६६ डलर रहेको छ । ५० ग्राम सुनको अमेरिकामा मूल्य झण्डै २९ सय डलर पर्न आउँछ भने नेपालमा ३३ सय डलर पर्न आउँछ । काँचो सुन नेपाल लगेको खण्डमा तिर्नुपर्ने भन्सार रकमका कारण खासै नाफा नहुनेभएतापनि सस्तो लागतमा बन्ने गहना नेपाल लैजादा ५० ग्राममा झण्डै ४ सयडलरसम्म फाइदा हुनसक्छ । तर त्योभन्दा बढी लैजादा भन्सार तिर्नुपर्ने भएकाले खासै फाइदा हुँदैन ।

नेपाली गहना तिलहरी धेरै रङहरू, विशेष गरी रातो, हरियो, वा पहेंलो रंगको पोतेले सजिएको सुनको एक अत्यधिक लोकप्रिय हार हो । यसलाई नेपाली विवाह समारोहका लागि आवश्यक गहना मानिन्छ। तस्बिर सौजन्य:  क्वीन्स डायमण्ड एण्ड ज्वेलरी

आफूले केहिसमय अगाडि नेपाल जाँदा झण्डै ६० ग्राम काँचो सुन लैजादा काठमाडौं विमानस्थलमा झण्डै ४ सय डलर भन्सार तिर्नुपरेकाले अमेरिकामा काँचो सुन किनेर नेपाल लैजादा कुनै फाइदा नभएको बरु उल्टै झण्झटमा पर्नुपरेको न्युयोर्कको क्वीन्स निवासी निर्मला बास्कोटाको अनुभव छ । उनी भन्छिन् -‘नेपालमा सुन लैजादा विमानस्थलमा भन्सार तिरेको रिसिप्ट अनिवार्य लिनुपर्छ । रकम तिरेर रिसिप्ट नलिएको खण्डमा भन्सारका कर्मचारीले छाडेपछि पनि प्रहरीले पक्राउ गर्नसक्ने भएकाले थप झन्झटको सामना गर्नुपर्ने हुनसक्छ ।’

अमेरिकामा नेपालको तुलनामा सुन सस्तो भएतापनि गहना बनाउने लागत खर्च धेरै हुने तथा नेपालमा सुन महँगो भएपनि गहना बनाउने लागत सस्तो हुने भएकाले समग्र मूल्यमा भने खासै फरक नपर्ने अनुभव छ समिर महर्जनको । तर पनि ५० ग्रामभन्दा कम तौलका गहना लैजादा केही सस्तो पर्ने भएकाले उपहारका लागि त्यस्ता गहनाहरु किन्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको उनको अनुभव छ । अमेरिकामा रकम तिरेर नेपालमा आफन्तहरुलाई उपहार दिन चाहनेहरुका लागि नेपालमा रहेको क्लासिक डायमण्ड एण्ड ज्वेलर्समार्फत सिधै गहना उपलब्ध गराइदै आएको समेत समिरले जानकारी दिए । तर त्यसको मूल्य भने नेपालकै अनुशार हुनेछ । काठमाडौंमा रहेको क्लासिक डायमण्ड एण्ड ज्वेलर्स पनि महर्जन परिवारकै व्यवसाय हो ।

समुदायलाई फिर्ता

क्वीन्स डायमण्डले नाफाको निश्चित रकम विभिन्न परोपकारी कार्यमार्फत समुदायलाई नै फिर्ता गर्ने गरेको छ । विभिन्न समुदायका कार्यक्रमहरुमा स्पोन्सर गर्नेदेखि समुदायका सदस्यहरुलाई समस्या हुँदा डोनेशन उपलब्ध गराउनेसम्ममा महर्जन परिवार सकृय रहदै आएको छ ।

समिर महर्जनले आमाका नाममा स्थापना गरेको अष्टमाया फाउण्डेशनमार्फत समेत सामाजिक कार्य गरिरहेका छन् । यो फाउण्डेशनले अमेरिका र नेपालमा महिला शशक्तिकरणका क्षेत्रमा काम गरिरहेको छ । कोरोना महामारीका समयमा पनि महर्जन परिवारले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने र अरुले सुरु गरेको सहयोग अभियानमा सहकार्य गरेको थियो ।

त्योबाहेक समिर महर्जन र सूर्य महर्जन अमेरिकामा नेपाली समुदायका विभिन्न सामाजिक संघसंस्थामा समेत सकृय रहदै आएका छन् । नेवा गुठीमा २०२० सम्म कोषाध्यक्ष्का रुपमा काम गरेकी सूर्य महर्जन अहिले वल्र्ड नेवा अर्गनाइजेशन अमेरिका च्याप्टरमा उपाध्यक्ष समेत हुन् । समिर महर्जनले पनि अमेरिकामा नेपाली समुदायका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । जसका कारण समुदायसँगको सम्बन्ध थप बलियो भएको छ ।

सूर्य भन्छिन् -‘विजनेशमा समुदायसँगको सम्बन्ध राम्रो हुन जरुरी हुन्छ । समुदायसँगको सम्बन्धले विश्वासको वातावरण बढ्छ । व्यवसायमा कडा प्रतिस्पर्धाका बाबजुत पनि लामो समयदेखिको समुदायसँगको सम्बन्ध र विश्वासका कारण हामीलाई सहज भएको छ ।’

(यो रिपोर्ट न्युयोर्क सिटी मेयरको मिडिया र मनोरन्जन कार्यालयको आर्थिक सहयोगमा सेन्टर फर कम्युनिटी मिडियाबाट आयोजित साना व्यवसाय रिपोर्टिङ फेलोशिपको एक भागको रूपमा उत्पादन गरिएको हो ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com