माओवादीलाई रक्षात्मक बनाएर के हिंशामा फर्काउन खोजेको हो ?


प्रकाशित मिति : फाल्गुन २३, २०७९ मंगलबार

यो लेखको सुरुवातमै एउटा कुरा स्पष्ट पारौं होला कि म व्यक्तिगत रुपमा माओवादीको हिंशात्मक गतिविधिको पूर्णत विरोधी हुँ । म शव्दले वा नीतिले मात्रै विरोधी हैन मैले माओवादीको हिंशात्मक गतिविधिलाइ गलत भन्दै त्यसको प्रतिवाद गरेको पात्र पनि हुँ ।

मैले माओवादीको नीति सिद्धान्त र व्यवाहारको विरोध गर्दै गर्दा र कतिपय गतिविधिको प्रतिवाद गर्दै गर्दा मलाइ गुण्डाको नाइके अनि यसो त्यसो भनेर वक्तव्य लेख्ने मध्य कतिपय मित्रहरु अहिले मेरो फेसबुकमै रहेर वा अनलाइनमा यो आलेख हेर्दै पनि हुनुहुनेछ । यद्धपि माओवादीको हिंशात्मक गतिविधि र जवर्जस्ती गर्ने प्रवृति विरुद्ध उभिंदा मलाइ साथ दिने मेरा सहकर्मीहरु देखि त्यतिबेला मलाई गुण्डाको नाइके देख्नेहरु सबैलाइ थाहा थियो र छ कि म मृत्युलाइ भन्दा जीवनलाइ प्रिय ठान्ने , मार्ने भन्दा बचाउनेलाइ राम्रो मान्ने मानिस थिएँ र हुँ ।

त्यसैले माओवादी हिंशात्मक गतिविधि चल्दै गर्दाको अवस्थामा त्यसलाइ निस्तेज पार्न भनेर सरकारले संकटकाल लगाउने बित्तिकै मेरै क्याम्पसका केहि माओवादी समर्थित साथीहरुलाइ प्रहरीले गिरफ्तार गर्दा तत्कालिन डिआइजी निवास देखि एसपी अफिस सम्म गएर “ माओवादी विचारको समर्थक भए पनि ति विद्यार्थीहरुको बाँच्ने अधिकार छ , थुनामै रहँदा उनीहरुलाइ मार्ने सोच सम्म पनि नआओस है” भनेर भन्ने फुच्चे केटो पनि मै थिएँ ।

त्यति मात्रै हैन तत्कालिन अवस्थामा जारि हिंशात्मक गतिविधि त्यागेर शान्ती प्रक्रियामा माओवादी फर्के पछि पनि उसका कतिपय गतिविधिहरु प्रति म सदैव आलोचनात्मक रहँदै आएको छु । कथित युद्धको नाममा त्यस समयमा भए गरेका क्रुर हत्या र अन्य अपराधमा प्रत्यक्ष संलग्न जोसुकैलाइ कसुर अनुसारको सजायँ हुनुपर्छ भन्दै आएको मान्छे पनि हो म र आज पनि म त्यस मान्यतामा दृढ छु । त्यति मात्रै पनि हैन खासमा माओवादी अध्यक्ष प्रचण्डको त म सदैव कडा आलोचक रहँदै आएको छु । सत्ता केन्द्रित वहाँको गतिविधि र परिवार केन्द्रित व्यवाहार सदैव खेदजनक छ ।

यद्धपि आज जे जसरि नेकपा माओवादीका अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाइ आधार मानेर कसैले आफ्नो आफन्तको हत्यामा उनलाई कसुरदार मानेर मुद्दा हालिएको विषयलाइ लिएर जे जसरि एकाथरीले खुसि व्यक्त गर्दै उछाल्ने र उचाल्ने काम गर्दैछन त्यस प्रति भने म पूर्णत असहमत छु । म असहमत त्यसरी मुद्दा हाल्नेहरु प्रति छैन उनीहरु प्रति त मलाइ सहनाभुती छ । व्यक्ति हत्याको विषय अमुर्त वक्तव्यलाइ आधार मानेर मुद्दा दर्ता गर्दैमा टुंगिने विषय हैन भनेर नबुझेर , त्यही मुद्दालाइ आधार मानेर मानवीय संवेदना भड्काएर अर्कै खेति गर्ने षड्यन्त्र प्रतिको उनीहरुको अनभिज्ञता र अज्ञानता प्रति मेरो दयाभाव छ ।

मेरो आपत्ति तिनीहरु संग छ जसले न कहिल्यै माओवादी हिंशाको त्राशदी व्यहोर्नु पर्यो न त आगामी भविष्यमा आउन सक्ने चुनौतीको सामाना उनीहरुले गर्नु पर्नेछ । त्यसरी मान्छे भडकाउने काम गरिरहेका उनीहरुले नबुझेको वा बुझ्न नचाहेको तथ्य के हो भने माओवादी हिंशा छोडेर शान्तिको बाटोमा आइसके पछि सोलोडोलो माओवादीको विगतलाइ आधार मानेर आज पनि अपराधी , आज पनि आतंककारी भन्ने गल्ति गरिनु बेठिक हुन्छ । किन ? किन कि त्यसो गर्दा आज शान्ति र लोकतन्त्रको अभ्यास गरिरहेको माओवादीले यो व्यवस्था मात्रै हैन अहिलेको सामाजिक अवस्थानै हामीलाइ स्विकार्ने खालको छैन त्यसैले हामीले अभ्यास गर्न खोजको शान्तिपूर्ण गतिविधिको समय आइसकेको छैन भन्ने निष्कर्ष निकाल्यो भने अर्को विद्रोह अनिवार्य छ ।

अनि के हामि अर्को विद्रोहको सामना गर्न तयार हो ? हैन भने कोहि कसैले मुद्दा हाल्यो , त्यस मुद्दा उपर सुनुवाई गर्ने सम्मानित अदालतले फैसला गर्यो भन्ने वित्तिकै त्यसैलाइ आधार मानेर प्रचण्ड जेल जानै लागेको जसरि कोकोहोलो किन ? एउटा पार्टीको अध्यक्षको हैसियतले अमुर्त रुपमा बोलेको कुरालाइ आधार बनाएर व्यक्ति व्यक्तिले मुद्दा हाल्दै जाने हो भने प्रचण्डले जिम्मा लिन्छु भनेकै आधारमा पाँच हजार मुद्दा पर्ने त भए ।

त्यसरी अमुर्त ढंगले नै मुद्दा लगाउने सिलसिला चलाउँदै जाने हो भने माओवादी हिंशा प्रतिहिंशाको अर्को पक्ष पनि त्यसमा तानिन पर्ने नै होला । त्यसो हुँदा त माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच हजारको जिम्मा लिन्छु भन्दा उनको विरुद्ध मुद्दा दर्ता भएको प्रतिक्रियास्वरूप १७,००० मध्य वाँकी १२,००० को जिम्मा शेर बहादुर , गिरिजा सुर्य बाहादुर कसकसलाइ पर्ने होला अनि समग्रमा ज्ञानेन्द्र शाहलाइ पनि १२००० कै पर्ने होला । त्यसो हुँदा अदालतले कति मुद्दा हेर्ला अनि हाम्रो समाज कति तिर बिभाजन होला ? त्यो चिन्ताको कुरा छ तर दुखद कुरो के भने हाम्रो ध्यान के भैरहेको छ मा मात्रै गएको छ । भैरहेको कुराहरु किन भैरहेका छन अनि त्यसले भविष्यमा के कस्तो असर पार्छ भन्ने चिन्तन कोहि कसैले गरेको छैन।

मेरै निजि विचार भन्ने हो भने तत्कालिन माओवादी हिंशालाइ अपराधिक घटनाहरुकै रुपमा चित्रित गरेर माओवादीहरुलाइ अपराधीकै रुपमा दण्डित गर्नु पर्थ्यो र त्यस गतिविधिलाइ सम्पूर्ण रुपमा बन्द गराउन सक्नु पर्थ्यो । म जस्तै चाहने धेरै थिए तर त्यसो हुन त सकेन । गतिविधि अपराधिक र हिंशात्मक भए पनि माओवादीले त्यसो गर्न मानिसहरुलाइ संगठित गर्दै गर्दा राजनतिक परिवर्तनको आशा देखाएको थियो । उनीहरुका गतिविधिहरु अपराधिक र कतिपयबेला आतंककारी नै भए पनि ति राजनीतिक विचार संग जोडिएका थिए ।

जव आयतन र प्रभावको हिसावले माओवादी व्यापक भए तव त आम मानिसहरुले जे जसो गरेर हुन्छ हिंशात्मक बाटोमा रहेको माओवादीलाइ शान्तीपूर्ण राजनीतिमा ल्याउनै पर्छ भनेको हो नि , हैन र ? माओवादी हिंशाको त्यही शृंखला बन्द गर्ने भन्दै जस्केला बाट ज्ञानेन्द्र शाहले आफ्नो निरङ्कुश सोचको व्यवहारिक अवतरण गर्दै प्रतिगमन गरेको हैन ? अनि जसरि पनि हिंशा रोक्नु पर्छ भनेर नै तत्कालिन सात दल मिलेर माओवादीलाइ विस्तृत शान्ती सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको हैन ? अनि शान्ति सम्झौता पछि माओवादी फेरी हिंशाको बाटोमा नजाओस भनेर काँग्रेस एमाले समेतले भोट दिएर माओवादीलाइ देशकै ठुलो दल बनाएको हैन ? हामिलाइ मन परे पनि नपरे पनि सत्य त यही हो नि ।

हो, जव माओवादी हिंशा छोडेर शान्तिमा आइसकेको छ भने अव माओवादीको हिंशाको विगत र अस्थिरताको वर्तमानलाइ परास्त गर्ने भनेको उनीहरुको विगतलाइ कोट्याएर वा गिजोलेर हैन बरु उनीहरुले सहर्ष स्वीकार गरेर अभ्यास गर्दै रहेको लोकतन्त्रमा उनीहरुलाइ जनमतमा परास्त गरेर मात्रै हो । तर इन्तु किन्तु परन्तु केहि गरेर पनि माओवादीलाइ उसले परित्याग गरिसकेको हिंशात्मक गतिविधी नै आफु सुरक्षित रहने एक मात्रै बाटो हो भन्ने निष्कर्ष निकाल्ने तहमा पुर्याउने काम कमसेकम जनताको पंक्ति बाट हुनुहुदैन । हो नेपाललाइ अस्थिर राख्न चाहने देशी विदेशी शक्तिहरु यो वा त्यो नाममा समस्या खडा गराउने अनि त्यसमा खेल्ने काम गरिरहन्छन ।

त्यसो गर्दा नै उनीहरुको हित हुन्छ त्यसैले उनीहरुलाइ त्यसो गर्न कोशिस गर्न बाट रोक्न सकिन्न पनि तर धेरै दुख कष्ट भोगिसके पछि आएको शान्तिपूर्ण अवस्थालाइ विथोल्ने कामको सारथि स्वयम नेपाली चाहिं हुनुहुदैन । होलान माओवादी पार्टी र त्यसको नेतृत्व प्रति हाम्रा असन्तुष्टि तर त्यसलाइ प्रकट गर्ने सहि माध्यम भनेको अमुर्त कुराको आधारमा दर्ता भएको मुद्दाको विषयलाइ उछालेर सिंगो माओवादी पंक्तिले नै आफुलाइ असुरक्षित महशुस गर्ने अवस्थामा पुर्याउनु पक्कै हैन । तसर्थ लहडमा हैन सावधानीपुर्वक चलौं ।

(अमेरिकाको न्युयोर्क निवासी देउजा राजनीति, सुरक्षा र सामाजिक विषयमा कलम चलाउँछन् ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com