बर्खाको बाटो


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

– राजबहादुर शाहीचन्द्र कार्कीविद्या राईहरिहरसिंह राठौरमाधव अर्याल

श्रावण १४, २०७४- देशैभर ग्रामीण सडकको लहर चलेको छ। कतिपय जिल्लामा एउटै गाउँ जान राजनीतिक दल पिच्छेका अलग सडक पनि छन्। जंगल र डाँडाकाँडा चिर्दैै सडकका रेखा जताततै कोरिएका छन्। दुर्गम गाउँका बासिन्दामा समेत बस चढ्ने बानी लागिसकेको छ। तर दु:खको कुरा– त्यस्ता अधिकांश सडकको यात्रा अत्यन्त कष्टकर छ। कमसल सडक कतै दुर्घटनाको कारक बनेको छ, कतै सडकमै गाडी फँसेर घन्टौं रोकिनुपरेको छ। कतिपय सडक यस्ता पनि छन्– जसमा एक किलोमिटर पार हुन एक घन्टा लाग्छ। तीमध्ये प्रतिनिधिमूलक केही सडकका कथा–

कर्णाली राजमार्ग अन्तर्गत गमगढी–नाग्म खण्डमा तीन सातायता पहिरो र हिलोको अवरोध थपिँदो छ। सवारी साधन आउ–जाउ गर्नै कठिन छ। झयारी खोला र ताल्चामा हिलोले सबैभन्दा बढी अवरोध गरेको छ। मैतुडाँडामा डेढ मिटर सडक पहिरोले थुनिएको छ। घुच्ची लेक तलको सात मोडमा पनि पहिरोले सडक थुनेको छ। जुम्ला सिजाको जियाभिरमा सडक पहिरोले बगाएको छ। रोकायाबाडा, बइरागीडाँडा पाण्डु गुफासम्मको करिब डेढ सय मिटर सडक वर्षाले निकै हिलाम्मे छ। यस सडक खण्डमा सवारी सधान चल्न मुस्किल हुने गरेको यातायात व्यवसायीको गुनासो छ। ट्रक, जिप, यात्रुबाहक गाडी हिलोमा पँmस्ने गरेका छन्। हिलोमा डुबेका सवारी साधनलाई स्काभेटरले तान्न पुरै दिन लाग्ने गरेको छ। ‘हामी त नाग्माबाटै हिँडेर गमगढी पुग्यौं,’ फोतु नेर गाउँका केआई सिंह मल्लले भने, ‘वर्षाले सडकको अवस्था बेहाल छ। बीच बाटोमा दर्जनौं गाडी हिलोमा फँसेका छन्।’

नेपालगन्जदेखि सामान बोकेर आएका मालबाहक ट्याक्टर, ट्रक गरी करिब डेढ सय सवारी साधन गोठीज्युला, नाग्मा, घुच्चीडाब, मुगु, झयारी लगायत स्थानमा अलपत्र परेका छन्। सुर्खेत, नेपालगन्ज जाने यात्रु गमगढीदेखि गोठीज्युलासम्म हिँडेर पुग्ने र त्यहाँबाट गाडी फेर्दै रुझ्दै/भिज्दै कालिकोट पुग्ने गरेका छन्।

‘गमगढीदेखि कालिकोट पुग्न तीन दिन लाग्यो,’ मुगु सोरु गाउँपालिका–४ का अंग शाहीले भने, ‘काम विशेषका लागि सुर्खेत जान लागेको हुँ। हैरान भैसक्यो।’ जुम्लाको सिजा क्षेत्रको सडक खण्डको हिलोले गाडी चल्न मुस्किल भएको शाही बताउँछन्। वर्षातको मौका पारेर गाडी चालकले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको स्थानीयबासीको आरोप छ।

वर्षाले अवरुद्ध भएको सडक खुलाउन पहल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीले बताए। पहिरोभन्दा हिलोले सवारी साधन चल्न मुस्किल भएको उनको भनाइ छ। जुम्ला सडक डिभिजन कार्यालयले स्काभेटर लगाएर अवरुद्ध सडक खुलाउने काम गरे पनि वर्षाका कारण सडक हिलाम्मे हुँदा र पहिरो झर्ने क्रम नरोकिँंदा समस्या भएको हो। स्काभेटरले सडक अगाडि–अगाडि खुलाउँदै जाने र वर्षाले पुन: अवरुद्ध हुँदै जाने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। नेपाली सेनाले ट्रयाक खोलेपछि २०६९ पुस १ बाट सडकमा यायायात सेवा सुरु भएको हो। ९४ किलोमिटरको गमगढी–नाग्मा सडक अहिलेसम्म कालोपत्रे हुनसकेको छैन। २०७१ सालदेखि सेनाले उक्त सडक खण्ड सुर्खेत सडक डिभिजन कार्यालयको जिम्मामा दिएको थियो। अहिले जुम्ला डिभिजनले हेरफेर गर्दै आएको छ।

नाग्मा–गमगढी स्तरोन्नतिका निम्ति चालु वर्ष ८ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको जुम्ला सडक डिभिजनका प्रमुख अंगलाल रोकायाको भनाइ छ। उक्त रकमले नाग्मादेखि माथि करिब १७ किलोमिटर ग्राभेल गरिने रोकायाले बताए। कालोपत्रेका लागि बजेट नभएको रोकायाले उल्लेख गरे।

गमगढी बजार क्षेत्रको रेडक्रसदेखि जिल्ला शिक्षा कार्यालयसम्मको न्युरोड सडक खण्ड वर्षाले हिलाम्मे भएको छ। मोटरसाइकल, ट्याक्टर र जिप चल्न मुस्किल भएको छ। एकातिर वर्षा र पानी अर्कोतिर बजारबासीको खानेपानी बग्न थालेपछि सडक हिलाम्मे बनेको हो। ट्याक्टर, जिप र एम्बुलेन्स चल्न अप्ठेरो परेको स्थानीयले बताए। न्युरोड सडक सुधारको लागि सडक डिभिजन कार्यालय जुम्लाबाट २ करोड ९१ लाख रकम विनियोजित गरी ठेक्काद्वारा काम सुरु गरे पनि अझै सम्पन्न भएको छैन। गमगढी–नाग्मा सडक खण्डमा गाडी तर्ने ठूला ५ र साना १६ पुल बन्न अझै बाँकी छन्। खोलामा पुल नबन्दा गाडी वारपार गर्न कठिनाइ छ। वर्षातको बेला झयारी खोला, पिना खोला, ताल्चा खोला गोठीज्युला खोलामा पानी बहाव बढ्ने गरेको छ। साना जिप र मोटरसाइकल तार्न हम्मे हुने गरेको छ। सडकमा पर्ने पुल निर्माणको लागि सर्भे डिजाइन भइरहेको डिभिजन प्रमुख रोकायाको भनाइ छ। ठूला पुल बनाउन अझै समय लाग्ने उनले बताए।

सडक मार्ग अवरुद्ध बनेपछि रारा विमानस्थलमा यात्रु र बिरामीको चाप बढेको छ। सडक सुचारु हुँदा बाहिर आउ–जाउ गर्न स्थानीयले गाडीको प्रयोग गर्ने गरेका थिए। स्थलमार्ग अवरुद्ध हुँदा तराई झर्ने यात्रु महंँगो भाडा तिरेर जहाज चढ्न बाध्य छन्। विमानस्थलमा यात्रुको चाप बढेपछि एयरलाइन्स कम्पनीले भाडामा मनपरी गर्न थालेका छन्। एयरलाइन्सले नेपालगन्ज जान ७ हजारदेखि ८ हजार रुपैयाँसम्म भाडा लिन थालेका छन्। गाडीमा २ हजार भाडा तिरेर सुर्खेत पुग्ने स्यानीय एयरलाइन्समा चर्को भाडा तिर्नुपर्ने अवस्थाले मर्कामा परेका छन्। रारा घुम्न आउने आन्तरिक पर्यटकसमेत यही कारण घटेका छन्।

यसैबीच कांग्रेस जिल्ला कार्यसमितिले लामो समयदेखि अवरुद्ध गमगढी–नाग्मा सडक तत्काल खुलाउन माग गरेको छ। बुधबार प्रशासन कार्यालय पुगेको कांग्रेस टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीलाई सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको र उपभोग्य वस्तुको अभाव भएको भन्दै तत्काल खुलाउन माग गरेको हो। सडक अवरुद्ध हुँदा मुगुबासीलाई सास्ती भएपछि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको कांग्रेस कार्यबाहक सभापति गजेन्द्र मल्लले बताए।

सदरमुकाम पुग्नै सास्ती
तेह्रथुमको बसन्तपुर बजार भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक देशमा प्रजातन्त्र आउनुभन्दा केही वर्ष अघिदेखि नै निर्माण थालिएको थियो। २०४२/४३ सालदेखि ट्रयाक खन्न थालिएको यो सडकमा त्यसको केही वर्षपछि कोशी राजमार्ग भएर आएका सवारी चल्न थालेका थिए। त्यसबेला भर्खरै खनिएको सडकको पुरै भाग कच्ची थियो। सदरमुकामलाई कोशी राजमार्ग हँुंदै पूर्वी तराईसंँग जोड्ने २६ किलोमिटर यो सडक निर्माण सुरु भएको ३२ वर्षसम्म पनि अवस्था उस्तै छ। यो सडक बीचमा ६ पटकभन्दा बढी कालोपत्रे भइसक्यो। तर अवस्था वर्षातमा हिलो र हिउँदमा धुलो नै छ। सुधार, कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा वर्षेनि करोडौं रुपैयाँ खर्च हुने गरेको छ। तर सडकमा सवारी चल्न सक्दैनन्। सडक निर्माण, मर्मत, कालोपत्रे लगायत काममा खर्च हुने गरेको बजेटमा भ्रष्टाचार हुने गरेको जिल्लावासीको आरोप छ। तर पनि सम्बन्धित निकाय मौन छ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म राजनीतिक दलका अगुवाहरू ३ दशकभन्दा बढी समयदेखि यो सडकमा निरन्तर गरिएको लगानीको हिसाब–किताब खोजेर दोषीलाई कारबाही गर्ने भाषण गरिरहन्थे। तर चुनावपछि दलका अगुवाहरू पनि चुपचाप छन्। यति छोटो दूरीको सडकमा गरिएको धेरै लगानी बालुवामा पानीसरह भएको बसन्तपुर बजारका पूर्व निर्माण व्यवसायी उदय पौडेलले बताए। सडक कालोपत्रे, मर्मत, स्तरोन्नति, ग्राभेल, टालटुल, मोड सुधार लगायतका काम देखाएर यो सडकमा वर्षेनि करोडौं रुपैयाँ भ्रष्टाचार भइरहँदा पनि स्थानीय प्रशासन र दलका अगुवाहरू मौन रहेको पौडेलले आरोप लगाए।

असार अन्तिममा आएर कालोपत्रे र भत्किएका स्थानमा टालटुल गरेको सडकमा सामान्य वर्षा हुनासाथ सवारी हिलोमा पँmसेर चल्न सक्दैनन्। गत जेठ र असार महिनामा ठाउँ–ठाउँमा कालोपत्रे गरिएको यो सडकमा अहिले साना सवारी साधन गुड्न सक्दैनन्। सडकमा पानी जमेर हिलाम्मे भएका कारण २६ किलोमिटर सडक पार गर्न ६ घन्टाभन्दा बढी समय लाग्ने गरेको संयुक्त बस व्यवसायी संघका जिल्ला इन्चार्ज दयाराम ढकालले बताए। वर्षौंदेखि निरन्तर मर्मतको काम भइरहेको बसन्तपुरभन्दा केही अगाडिको सडकमा दिनहुँ सवारी फँसेर घन्टौंसम्म जाम हुने गरेको छ। यसले गर्दा यात्रु समयमा गन्तव्यमा पुग्न सक्दैनन् भने सवारीको समेत पार्टपुर्जा बिग्रिने गरेको यातायात व्यवसायीको भनाइ छ।

पटक–पटक कालोपत्रे सम्पन्न भइसकेको चित्रे–म्याङलुङ सडक खण्डमा कालोपत्रे उप्किएपछि सडक तीन दशक अघिको कच्ची अवस्थामा पुगेको छ। भर्खरै कालोपत्रे गरिएको सडक हिलाम्मे भएपछि बसन्तपुर भएर सदरमुकाम आउने र यहाँबाट पूर्वी तराईतर्फ जाने यात्रु मारमा परेको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सभा पौडेलले बताए। सडक हिलो भएर सवारी ओहोर–दोहोर गर्न नसक्दा पूर्वी तराईबाट खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र जिल्लामा उत्पादित कृषि उपज बाहिर पठाउन नसकिएको पूर्व अध्यक्ष पौडेलले बताए। ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेर कालोपत्रे गरेकाले सडक चांँडो भत्किएको स्थानीयको आरोप छ। सडकमा ठूलठूला खाल्डा परेका छन्। यस्तो सडकमा सवारी चलाउँदा बढी जोखिम हुने सवारी चालक कुमार राईले बताए। २६ किलोमिटर यो सडकमा ६ सयभन्दा बढी खाल्डाखुल्डी रहेको जिल्ला ट्राफिक प्रमुख भीम कटुवालले बताए।

बर्खा सुरु भएपछि ट्राफिक प्रहरीको अधिकांश दिन सवारी साधनलाई हिलो कटाउँदैमा बित्ने गरेको उनले पीडा सुनाए। यो सडकको मर्मतका लागि सडक डिभिजन कार्यालय धनकुटाले वर्षेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ। ‘सडक हिलाम्मे हुंँदा पैदल यात्रुलाई समेत ओहोर–दोहोरमा समस्या छ’, सुङनाम तीनजुरे मावीका प्रधानाध्यापक खगेन्द्र राना मगरले भने। सडक मर्मत गर्ने ठेकेदार र त्यसको अनुगमन, निरीक्षण गर्ने सडक विभागका इन्जिनियरहरूको लापरबाहीले सडकको अवस्थामा सुधार नभएको स्थानीय आरोप लगाउँछन्।

भत्किएको सडक कालोपत्रे, टालटुल, मर्मत, सुधार, ग्राभेल, ढलान लगायत काम गर्न गत आवमा मात्र ७ करोडभन्दा बढी रकम सडक डिभिजन कार्यालयले खर्च गरेको जनाएको छ। तर कुनै पनि स्थानमा भरपर्दो काम भएको छैन। पहिल्यै कालोपत्रे भइसकेको सडक भत्किएको र त्यसमा पुन: कालोपत्रे गर्न भन्दै ठेकेदारले सडकमा विछ्याइएका ढुंगा खोतलेर निकालेपछि हिलाम्मे भएपछि सवारी गुड्न नसक्ने भएको छ। चित्रे, बसन्तपुर खेल मैदान, बसन्तपुर बजारदेखि गांँडेपात्ले, च्याक्चे, फिर्के, लसुुने, पिगुवा खोला, काँडे, सुर्के लगायत स्थानमा कालोपत्रे उप्किएर हिलाम्मे भएको छ। यी स्थानमा दिनहँु सवारी फँस्ने गरेकाले यात्रु समयमा गन्तव्यमा नपुग्ने गरेको ट्राफिक प्रमुख कटवालले बताए।

सडक डिभिजन कार्यालयले भने हावापानी, भूबनोट तथा निर्माण सामग्री सडक सुहाउँदो नभएकाले गुणस्तरीय काम गर्न नसकिएको जनाएको छ। यो क्षेत्र बाह्रै महिना चिसो रहने भएकाले कालोपत्रे गर्दा तापक्रम नपुग्ने गरेको डिभिजन प्रमुख इन्जिनियर विष्णुप्रसाद काफ्लेले बताए। ‘कालोपत्रे जम्नलाई चिसो ठाउँ भएकाले तापक्रम पुग्दैन’, उनले भने। कालोपत्रे गर्दा सडकमा विछ्याइने रोडा, गिट्टी, बालुवा, अलकत्रा लगायतका सामग्री तापक्रमका कारण तत्कालै जम्न नसक्दा केही समयपछि उप्किने गरेको उनले बताए। तर ठेकेदारले जेठ–असार र पुस–माघमा मात्र सडकमा काम गर्ने गरेका छन्। यो मौसममा पानी बढी पर्ने र चिसो हुने भएकाले कामको गुणस्तर राम्रो नहुने गरेको निर्माण व्यवसायी हरि किरातले बताए। निर्धारित समयमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीहरू मोबिलाइजेसन खर्च लिएर बेपत्ता हुने गरेकाले पनि समस्या भएको कार्यालयले जनाएको छ। ठेक्का सम्झौतापछि पेस्की रकम लिने र काम नगरी सम्पर्कविहीन हुने ठेकेदारको सूची पनि लामै रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

यो सडक निर्माण र स्तरोन्नतिमा सडक विभाग, अर्थ मन्त्रालय, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) तथा अन्य दातृ निकायले समेत वर्षेनि रकम खर्च गर्दै आएका छन्। गुणस्तरीय काम गर्दा अर्को वर्ष नभत्किने र बजेट माग्न नपाइने भएकाले सडक डिभिजनका इन्जिनियर र ठेकेदारको मिलेमतोमा झारा टार्नमात्र काम हुने गरेको उद्योग वाणिज्य संघ बसन्तपुरका अध्यक्ष रोशन सुवेदीले आरोप लगाए।

जहाँ गाडी चल्नै सक्दैन
भोजपुर जोड्ने एकमात्र ६६ किलोमिटर नारदमुनि थुलुङ राजमार्ग सदरमुकाम आइपुगेको एक दशक बितेको छ। तर कच्ची, साँघुरो भएका कारण हिउँद–बर्खामै सर्वसाधारणले सास्ती खेप्नुपर्छ। यो राजमार्गमा यात्रुले वर्षातमा हिलो र हिउँदमा धुलोको मार खेप्नुपर्छ।

एसियाली विकास बैंकको १ अर्ब ८९ करोड २९ लाख ६८ हजार ८ सय रुपैयाँ सहयोगमा राजमार्ग कालोपत्रे थालिएको भए पनि निर्माणले गति लिनसकेको छैन। मेसिन लगाएर खनेको आलो माटोमा वर्षातको बेला एक मिटर गहिराइसम्म दबदबे हिलो बढेपछि सवारी साधनका नाममा मोटरसाइकल पनि चल्न सक्दैनन्। साना गाडी, बस, ढुवानीका साधन फँस्ने र भासिने गरेका छन्। दर्के पानी परेका बेला राजमार्गका खाल्डामा भैंसी आहाल बस्न मिल्नेगरी दह जम्छ। र धान रोपाइँ गर्न मिल्नेगरी हिलाम्मे हुन्छ।

चिनियाँ कम्पनी टियन्जिन–रमण–कन्काई जेभीले संयुक्त रूपमा कालोपत्रेका लागि ९९ करोड ४४ लाख ६८ हजार ५ सय रुपैयाँमा ठेक्का लिएका थिए। २०१८ जनवरीमा काम सक्नेगरी २०१५ को डिसेम्बरदेखि काम थालेका हुन्। म्याद सकिन ६ महिना बाँकी छ। सडक आयोजना प्रमुख विजय महतोका अनुसार हालसम्म १० किलोमिटर मात्र कालोपत्रे भएको छ। पुरै खण्डको ७५ प्रतिशत भौतिक पक्षका निर्माण सम्पन्न भइसकेका छन्। वर्षातले गर्दा साउन महिनाभर र भदौ दोस्रो हप्तासम्मका लागि निर्माण कार्य बन्द भएको छ। वर्षात सकिएपछि मात्रै काम सुचारु हुने महतोले जानकारी दिए। निर्माणका क्रममा रहेका कारण लगातार वर्षात हुँदा यातायातका साधन चल्न नसकेपछि तराई तथा राजधानीसंँगको सम्पर्क महिनौंसम्म टुट्ने गरेको छ। गम्भीर दुर्घटना, गर्भवती महिला र आकस्मिक सेवा दिनुपर्ने बिरामी यातायात सम्पर्कमा सहज नहुँदा जोखिममा पर्ने गर्छन्। जिल्लाकै एकमात्र टक्सार विमानस्थलमा पनि प्रतिकूल मौसमले गर्दा नियमित उडान भर्न सक्दैन। यस्तो अवस्थामा जिल्लाबासी कैदी–बन्दीसरह बन्नुपरेको टेम्केमैयुङ गाउँपालिकाका लकेश राईको गुनासो छ।

‘यो समस्या वर्षेनि भोग्दै आएकै हो, कालोपत्रे थालेदेखि त सडक नियमित चल्ला भन्ने आस थियो, कामको गति सुस्त छ, भनेको बेला प्लेन पनि चल्दैन, सबैको पहुँचमा पनि पुग्दैन,’ उनले भने। चैतदेखि लेगुवा–भोजपुरतर्फ कालोपत्रे थालिएको थियो। हाल जरायोटारसम्म सकिएको छ।

कालोपत्रेका लागि मुख्य गरेर कटिङ र स्ट्रक्चरका काम भइरहेको भोजपुर सदरमुकामदेखि तिवारी भञ्ज्याङसम्म २५ किमि खण्ड र लेगुवादेखि धनकुटाको पाख्रिबाससम्म करिब २६ किमिमा स्तरोन्नति तथा कालोपत्रे तयारीकै काम भइरहेकाले यातायात सेवा नियमित हुनसकेको छैन। यी दुई स्थानमा वर्षातको बेला ५/६ घन्टा पैदल हिँड्नुपर्छ।

लेगुवादेखि धनकुटाको पाख्रिबास खण्डमा सडक विभागले काम गरिरहेको छ। निर्माणाधीन खण्डमा ठूला मेसिन प्रयोग गरेर सडक फराकिलो बनाउने क्रममा जमिन खुकुलो हँुदा सामान्य वर्षात हुँदा पनि सडक बन्द हुनेगरी पहिरो खस्ने तथा ठूला ढुंगा बीचैमा झर्ने गरेको छ। यसले गर्दा पनि बाटो अवरुद्ध हुन थप टेवा पुग्ने गरेको बस व्यवसायी संघले बताएको छ। सडकलाई सकेसम्म नियमित सञ्चालन गर्न निर्माणाधीन स्थलमा मर्मतका लागि कामदार र मेसिन खट्दै आएका छन्। सदरमुकामदेखि धनकुटा हँुदै धरान पुग्न १० घन्टा लाग्नेमा अचेल दुईदेखि तीन दिनसम्म लाग्ने गर्छ।

भौगोलिक विकटताका कारण यातायातको एकमात्र भरपर्दो माध्यम सडक भए पनि राजमार्गकै हालत यस्तो हुँदा २००७ सालदेखि विकास र समृद्धितर्फ लम्किएका भोजपुरबासी विकासमा सधैं पछाडि छन्। २००८ सालदेखि मन्त्री हाँक्ने अवसर पाउँदै आएको भोजपुरले पछिल्लो दुई वर्षमा ३ जना मन्त्री पायो। २००८ सालमा नारदमुनि थुलुङ स्वायत्त शासन राज्यमन्त्री भएका थिए। भर्खरै मात्र साविक क्षेत्र नं. १ का समानुपातिक सांसद ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन्। पटक–पटक मन्त्री पाउने भाग्यमानी भोजपुरेले एकमात्रै राजमार्ग स्थायी भएको पाउन नसकेकोमा दुर्भाग्य महसुस गर्छन्। ‘केन्द्रसम्म पहुँच पुग्ने नेतृत्व छन्, गर्न चाहँदैनन्, कुर्सीमा पुगेपछि धरातल बिर्सन्छन्,’ रामप्रसाद राई गाउँपालिकाकी मन्दिरा राईले भनिन्, ‘जिल्ला बाहिर जाने एउटै राजमार्ग कालोपत्रे हुन अझै कति वर्ष लाग्ने हो, धुलो त ठिकै छ, कहिलेसम्म हिलोमा फँसिरहनुपर्ने हो?’ उनले आक्रोश पोखिन्।

पानी पर्‍यो कि विजोग
पाल्पाको आर्यभन्ञ्याङ–रामपुर सडकले धेरैवटा गाउँ जोड्नेमात्रै होइन, उल्लेख्य जनसंख्या र अप्ठेरो भूगोललाई पनि समेटेको मानिन्छ। तर यो सडकको स्तरोन्नति कहिल्यै हुँदैन। ४९ किमि ग्रामीण सडक ओटासिल भए पनि वर्षेनि वर्षायाममा यस भेगका बासिन्दाले सास्ती खेप्दै आएका छन्।

साँघुरो सडक, उप्केको ओटासिल, पहिरो खस्ने समस्या छ। डाँडाबस्ती छिचोल्दै लगिएको सडकको सेर्कावास, बेलौती घारी, वीरकोट, सेफद, सिलुवा, सानोगल्धा, चापगैरा लगायत स्थानमा भासिने र पहिरोले समस्या निम्तिने गरेको छ। वर्षायाममा सातादेखि महिना दिनसम्म आवागमन बन्द हुने गरेको छ। सडक बन्द हुँदा रामपुर नगरपालिकासहित पूर्वखोला र निस्दी गाउँपालिकाका जनतालाई निकै सास्ती पर्छ। रामपुर क्षेत्रमा सडक स्तरोन्नति नभएकाले वर्षामा आउ–जाउ रोकिँदा खाद्य संकट नै हुने व्यापारी ज्ञानेन्द्र गैरेको भनाइ छ।

हेभी इक्युपमेन्ट प्रयोग नगरी खनिए पनि पछिल्ला केही वर्षयता सडक भासिने र पहिरो खस्दा सास्ती खेप्नुपरेको छ। तीन वर्ष अघिसम्म तत्कालीन जिविसमार्फत रहेको सडक अहिले डिभिजन सडकले स्तरोन्नतिको जिम्मा लिएको छ। ‘प्रत्येक वर्ष वर्षा लागेपछि पहिरो खसेर सास्ती खेप्नुपर्छ,’ व्यापारी गैरेले भने, ‘वर्षायाममा सधैं सास्ती खेप्दै यात्रा गर्नुपर्छ।’ उनका अनुसार वर्षा लागेपछि रामपुर क्षेत्रमा नाकाबन्दी जस्तै हुन्छ। रामपुर क्षेत्रलाई पृथ्वीराजमार्गको खैरेनीटारदेखि भिमाद हुँदै ३८ किलोमिटर सडक सञ्जालले जोडिएको छ। तर ग्रामीण सडक र खोलामा पुल नहुँदा वर्षायाममा यही सडकसमेत बन्द हुन्छ।

रामपुर नगरपालिका–९ लाम्दी खोलाका ८१ वर्षीय ज्ञानप्रसाद अर्याल आर्यभञ्ज्याङ–रामपुर सडक खनेको सुरुवाती अवस्था जान्दछन्। २०२४/२५ सालमा गैँती, कोदालो, बेल्चा र गलबाट खन्न सुरु गरेको सडक ओटासिल (स्तरोन्नति कालोपत्रे) भयो। तर उनले जे सोचेका थिए, त्यस्तो हुन सकेन। उनले भने, ‘सिद्धार्थ राजमार्ग जस्तै चौडा र डबल लेनको सडक बन्छ होला जस्तो लागेको थियो।’

तानसेन–आर्यभञ्ज्याङ उतिबेलै १६ किलोमिटर सडक कालोपत्रे बन्यो। आर्यभञ्ज्याङ–रामपुर ४९ किलोमिटर भने ट्रयाक खोल्दाकै अवस्थामा छ। ‘ओटासिल गरे पनि साँघुरो छ,’ उनले भने, ‘अहिलेसम्म स्तरोन्नति भइसक्नुपर्ने थियो।’ विश्व बैंकको सहयोगमा ओटासिल भए पनि साढे ३ देखि ५ मिटरसम्मको चौडा छ। पूर्व–पश्चिम जोड्ने र धेरै गाउँ समेटेर खनेको सडकको रेखांकन भने स्वीस नागरिक भूगोलविद टोनी हेगनले गरेका हुन्।

आर्यभञ्ज्याङ प्रवेशदेखि रामपुरसम्म स्तरोन्नति हुनुपर्ने हो। तत्कालीन अवस्थामा खनिएकाले कतिपय बस्ती फाल्नुपर्ने हुन्छ। जिविसका पूर्वसभापति झपेन्द्र जीसीले धेरै अघिको सोच भएकाले अहिले चौडा गर्दा बस्ती फाल्नुपर्ने समस्या भएको बताए। सडकमा डोजर, स्काभेटर लगाएर खन्न सुरु भएपछि पहिरो खस्ने समस्या निम्तिएको उनले बताए। ‘वातावरणीय अनुकूलता कायम गरी खनिएको सडकमा डोजर प्रयोग गर्न थालेपछि झनै समस्या बढेको हो,’ उनले भने, ‘त्यसबेला लगाएका लाँकुरीका रुख पनि अहिले डोजर लगाउँदा ढालेका छन्। यसले झनै समस्या ल्याउनेछ।’ स्तरोन्नतिको नाममा जथाभावी सडक खन्दा वातावरणीय समस्या आएको छ। सडक डिभिजनका सूचना अधिकारी पवित्रमणि आचार्यले २५ महिनामा ८ किलोमिटर स्तरोन्नति गर्ने ठेक्का लागेको बताए। सुरु ठेक्का रकम १५ करोड र व्यवसायीले घटेको रकम ५ करोडबाट काम भइरहेको उनले बताए।

२२ वर्षमा पनि बनेन
धादिङको उत्तरी भेगमा सडक सञ्जाल पुर्‍याउने लक्ष्यसाथ बजेट विनियोजन भएको २२ वर्ष बित्यो। साङकोश–तिप्लिङ सडक भने कहिल्यै बनिसकेन। २२ वर्षमा ३० किमि सडक बाह्रै महिना चल्ने बन्न सकेन। उक्त कच्ची सडकमा रुट परमिट नलिएका सार्वजनिक सवारी साधनहरू सञ्चालनमा छन्। तर हरेक वर्ष वैशाखदेखि नै बन्द हुन्छन्। ‘वर्षात लाग्नासाथ ३० किमि त के १२ किमि जुम्रे, कटुन्जेसम्म पनि सवारी साधन चल्न सक्दैनन्’, खनियावास गाउँपालिका प्रमुख रणबहादुर तामाङले भने, ‘मोटरसाइकलमै ३० किमि पार गर्न ५ घन्टा लाग्छ।’

नेपाली कांग्रेसका सांसद दिलमान पाख्रिनका अनुसार सरकारले हरेक वर्ष पर्याप्त बजेट नपठाएर यस्तो समस्या भएको हो। सडक विभागले जिल्ला विकासले स्तरोन्नति गर्दै गरेको ३० किमिलाई छाडेर ९ मिटर चौडाइको ११ किमि सडक १० करोड लगानीमा निर्माण सम्पन्न गरिसकेको छ। ‘यो सडकलाई ७० किमि पुर्‍याउन १२ करोड ८५ लाख रकममा ३० किलोमिटरको ठेक्का सम्झौता पनि भइसकेको छ’, गजुरीस्थित साइट इन्चार्ज मधुसूदन साँखीले बताए।

सदरमुकामदेखि उत्तरी बस्तीका साविक ५ गाविस– तिप्लिङ, झार्लाङ, ल्हापा, री, सेर्तुङमा सडक सञ्जालले नछोएकै कारण भूकम्प र पहिरो गएपछि उद्धार र राहत वितरणमा निकै कठिनाइ भयो। हेलिकप्टर बाहेक अर्को ढुवानी साधन नभएपछि भूकम्पपछिका पुनर्निर्माण कार्य ठप्प छ। विभिन्न संघ/संस्थाले जिम्मा लिएका विद्यालय र स्वास्थ्यचौकी निर्माण, निजी आवास पुनर्निर्माणमा कठिनाइ भएको छ।

रसुवाको स्याफ्रुबेसीदेखि सोमदाङ हुँदै जिल्लाको उत्तरी भेग तिप्लिङमा सडक पुर्‍याउन अर्को संस्था निर्माणमा जुटेको छ। उक्त सडक अझै १० महिना लाग्ने निर्माण कार्यमा जुटेको संस्थाले जनाएको छ। ‘विगतका वर्षहरूमा उपभोक्ताहरूले जिम्मा लिने तर कामै नगरी लाखौं रकमको दुरुपयोग हुने गरेको थियो। २ वर्षमा मात्रै स्थानीय उपभोक्ताहरूले जिल्ला विकास समितिबाट कामै नगरी ४० लाख रकम भुक्तानी लिएपछि उजुरी पनि परेको थियो’, सोमदाङका स्थानीय दावा तामाङले सुनाए, ‘तर कतै कुनै सुनुवाइ भएन।’

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com