राष्ट्रपति निर्वाचन : बागमतीस्तरीय अभिमुखीकरण आज


प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनुभएको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com