मेरिल्याण्ड संसदमा दोश्रो कार्यकाल सुरु गरेका भण्डारीले नेपाल र नेपाली समुदायका लागि के गरे?


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

मेरिल्याण्ड राज्य संसदमा नेपाली मूलका ह्यारी भण्डारीले दोश्रो कार्यकाल सुरु गरेका छन् । पहिलो कार्यकालमा भण्डारीले नेपाल र नेपाली समुदायका लागि के काम गरे ? यसबारेमा धेरैको चासो रहेको छ ।

भण्डारीले सामाजिक न्यायको प्रत्याभूति दिने खालका १० आप्रवासीमैत्री कानून निर्माण गरेका थिए भने नेपाली र एशियालीसमुदाय केन्द्रका लागि लाखौं डलर विनियोजन गराउन सफल भए । कोरोना कहरमा २५ नेपालीको शव व्यवस्थापन गरेभने बाल्टिमोर काउन्टीमा दीपावलीलाई मान्यता दिलाउन पहल गरे । नेपाली विद्यार्थीहरूलाई राज्य प्रतिनिधि छात्रवृत्ति प्रदान गर्नेदेखि एसेम्बलीबाट दशै विधेयक पारित गराउन सफल भए ।

कोभिड १९ को खोप र अन्य सामग्री नेपाल पठाउन भूमिका खेलेका उनले कोरोना महामारीका बेलामा १६ सय भन्दा धेरै नेपालीलाई बेरोजगार भत्ताका लागि संयोजन गरे । नेपालीलाई टीपीएस प्रदान गर्न निरन्तर वहस पैरवी गर्दै आएका उनले नेपाली भाषालाई मेरिल्याण्ड डीएमभीमा मान्यताका लागि पहल गरे । नेपाली समुदायका हरेक दुख सुखमा साथ र सहयोग गर्दै आएका उनले गरेका कैयन महत्वपूर्ण कामहरुमध्ये मुख्यलाई हामीले सुचिकृत गरेका छौं ।

मेरिल्याण्डमा नेपालीको संस्था बानालाई राज्य सांसद भण्डारीको पहलमा दुई लाख ५० हजार डलर

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका बानालाई
विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग स्वीकृत गराउन सफल भए । सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट दिनेगरी स्वीकृत भयो ।

भण्डारीले सन् २०१९ मा यसका लागि संसदमा बिल पेश गरेका थिए । जुन एक लाख २५ हजार म्याचिङ फण्ड प्राप्त भएपछि निकाशा हुने र ७ बर्षभित्र प्रयोग गर्नुपर्नेगरी स्वीकृत भएको थियो । बाल्टिमोर काउन्टीका तर्फबाट म्याचिङ फण्ड प्राप्त भइसकेकाले यो रकम निकाशाका लागि समेत सहज भएको थियो । यो रकम सन् २०२७ भित्र प्रयोग गरिसक्नुपर्नेछ ।

बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फण्ड बानाको खातामा जम्मा गरिदिएको थियो । समुदायका लागि चालु खर्चबाटै म्याचिङ फण्ड उपलव्ध हुनु आफैंमा मानक उपलव्धी हो । यस्तो उपलव्धी नेपालीका लागि पहिलो हो भने अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवत पहिलो हो ।

मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्याउँने आधिकारिक व्यक्तिका रूपमा यो सुखद् खबर सार्वजनिक गर्न पाउँदा आफू निकै खुशी भएको भण्डारीले बताएका थिए ।

बाना बण्ड बिल पारित भएर राज्यबाट एक लाख २५ हजार निकासा भएको सन् २०२० मा हो । तर त्यसका लागि म्याचिङ फण्ड खोज्नुपर्ने प्रावधान रहेकाले त्यो रकम समयमा उपभोग गर्न सकिएको थिएन । तर बाल्टिमोर काउन्टीले म्याचिङ फण्ड उपलव्ध गराइदिएकाले बानालाई दुई लाख ५० हजार रकम पाउन सहज भएको छ ।

बानाको सामुदायिक भवन दुई लाख ९८ हजारमा खरिद गरिएको थियो भने संस्था ऋणमै रहेको छ। यसको स्तरोन्नतिका लागि राज्य र काउन्टीले दुई लाख ५० हजार सहयोग प्रदान गरेको हो । दुई लाख ९८ हजारको संरचनाका लागि दुई लाख ५० हजार सहयोग यो आफैंमा एक मानक सहयोग हो ।

कोरोना महामारीका बेलामा नेपाललाई खोप उपलब्ध गराउन पहल

कोरोना महामारीका बेलामा नेपालमा खोप उपलब्ध गराउने कुरा निकै महत्वपूर्ण थियो । अमेरिकाबाट नेपालका लागि खोप उपलब्ध गराउनका लागि विभिन्न तहबाट विभिन्न प्रयासहरु भएका थिए । राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप उपलब्ध गराईदिन पत्र लेखेकी थिईन् ।अमेरिकामा रहेका नेपालीहरुले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई फोन गर्नेदेखि हस्ताक्षर अभियान संचालन गर्नेसम्मका काम भएका थिए ।

त्यसमध्ये मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न खेलेको सहयोगी भूमिका पनि उल्लेखनीय थियो । राज्य बिधान सभा सदस्य भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईडी व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिक रुपमा नै पत्र लेखेका थिए । नेपालले भारत र चीनलाई औपचारिक आग्रह गरेकै बखत बिधान सभा सदस्य भण्डारीले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरुसमक्ष नेपाललाई खोप सहायताका लागि आग्रह गरेका थिए ।

अमेरिकी सरकारले नेपाललाई पनि खोप उपलब्ध गराउने औपचारिक निर्णय भएपछि ग्लोबल हेल्थ इस्युमा काम गरिरहेका क्रिस भ्यानले भण्डारीलाई इमेल लेखेर नेपालका लागि यस्तो विषम परिस्थितिमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । नेपाललाई खोप उपलब्ध गराउने बिषयमा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा विश्व स्वास्थ्य उपसमिति अध्यक्ष क्रिस भ्यान होल्यान, अमेरिकामा रहेका उच्च अधिकारीहरुले बिधान सभा सदस्य भण्डारीको नेतृत्वमा जुम बैठक समेत गरेका थिए । नेपालमा भ्याक्सिन सहयोगका लागि अमेरिकी संसदलाई आव्हान गर्दै भण्डारीले हस्ताक्षर अभियान समेत चलाएका थिए ।

टीपीएसवाहकका पक्षमा राजनीतिक लविंग

भण्डारीले अमेरिकामा रहेका नेपाली टीपीएसवाहकका पक्षमा निरन्तर राजनीतिक लविंग गर्दै आएका छन् । भण्डारीले अमेरिकामा टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजान समेत राजनीतिक लविंग गर्दै आएका छन् ।

टीपीएसवाहकका लागी बाइडेन प्रशासन समेत सकारात्मक रहेकाले नेपाली समुदायले ढोका ढकढक्याउनुपर्ने बेला भएकाले यस सन्दर्भमा काम गरिरहेको उनले बताए ।

भिसा नपाएका नेपाली डिभी विजेताहरुको समस्या समाधानका लागि भण्डारीले अमेरिकी सरकारलाई औपचारिक आग्रह गरेका थिए । त्यस्तै कोरोना महामारीका बेलामा विभिन्न भिसामा अमेरिका आउन नपाएका नेपालीहरुका सन्दर्भमा अमेरिकी दूतावास काठमाडौंसँग लविंग गरेर उनले ती नेपालीहरुलाई अमेरिका आउने वातावरण बनाउन सहयोग गरेका थिए । जसमा डाक्टरहरुको ठूलो समुह समेत थियो ।

अमेरिकामा नेपालीको दाहसंस्कार र शव नेपाल पठाउन सहयोग

कोरोना महामारीका बेलामा अमेरिकामा शवहरु दाहसंस्कार गर्ने पालो पाउन समेत निकै मुस्किल रहेको थियो । अझ न्युयोर्कमा स्थीति दर्दनाक रहेको थियो । कोरोनाका कारण मृत्यु भएका कैयन नेपालीका शवहरु दाहसंस्कारका लागि एकातिर पालो पाउन मुस्किल थियो, अर्कोतर्फ शव दाहसंस्कारका लागि रकम जुटाउन पनि मुस्किल थियो । यो अवस्थामा भण्डारीले जनप्रतिनिधिका रुपमा नेपालीका शव दाहसंस्कारको वातावरण मिलाउनेमात्र नभई सस्तोदरमा दाहसंस्कारको प्रबन्ध समेत गरेका थिए । कतिपय नेपालीको शव दाहसंस्कारका लागि फण्डको समेत व्यवस्था गर्न भूमिका खेलेका थिए ।

त्यस्तै कोरोना महामारीपछि अमेरिकामा मृत्यु भएका कैयन नेपालीको शव नेपाल पठाउन पनि भण्डारीले सहयोग गरेका थिए । अन्तर्राष्ट्रिय उडानहरु बन्द हुनुभन्दा ठीक अगाडि क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद निधन भएको रोजी रानाको शव नेपाल पठाउने काममा भण्डारीले उल्लेख्य सहयोग गरेका थिए ।

रोजीको पार्थिक शरीरलाई क्यालिफोर्नियावाट आन्तरिक शव व्यवस्थापनको जिम्मेवारी सहित शवगृहहरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो । रोजीको शव बुझ्न भण्डारी आफै एयरपोर्टमा गएका थिए । महामारीपछि शव नेपाल पठाउन मुस्किल रहेको अवस्थामा भण्डारीले कोरोनाबाहेक अन्य कारणले मृत्यु भएकाहरुका शव नेपाल पठाउन उल्लेखय सहयोग गरेका थिए ।

मेरिल्याण्ड राज्य संसदको तल्लो सदनबाट दशैं विधयेक पारित

गतबर्ष अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीबाट दशै विधयेक पारित भएको थियो । भण्डारीले दशै विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरेका थिए । नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि भण्डारीले यो विधयेक संसदमा प्रस्तुत गरेका थिए ।

विधेयक पारित हुनु भनेको दशैले नेपालमा उत्पति भएको असत्यमाथि सत्यको विजय भएको खुशीमा मनाइने एक सांस्कृतिक चाडका रूपमा मान्यता पाउँनु रहेको भण्डारीले बताएका थिए । यस विधेयकमा हरेक वर्ष अक्टोबर ५ मा दशैं डे मनाइने भनिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com