भूमिहीन भन्छन् : निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो ।

अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् । म्याग्दे गाउँपालिका–४ निवासी कल्पना नेपालीले भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने आश पलाएको बताउनुभयो । “भूमिको नाममा कहीँकतै केही नभएको निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उहाँले भन्नुभयो, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।”

सोही ठाउँ निवासी जुना थापा पनि निस्सा पाएपछि खुसी हुनुहुन्छ । “आफ्नो नाममा अहिलेसम्म जग्गा छैन, निस्सा वितरण गरेपछि जग्गा नापजाँच कार्य सुरु हुन्छ,” उहाँले भन्नुभयो, “अब मेरो नाममा पनि जग्गा हुन्छ की त भन्ने आश जागेको छ ।”

भूमिहीनलाई जग्गा दिलाउन पहिलो चरणको प्रक्रिया सुरु भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । निस्सा वितरणको आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने श्रेष्ठको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा भूमि प्राप्तिको आधार बनेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । निस्सा वितरण सुरुआत पहिला नै गर्न लागिएको भए तापनि निर्वाचनका कारण रोकिएको हँुदा ढिलो भएको घिमिरेले बताउनुभयो ।

म्याग्दे गाउँपालिकामा अव्यवस्थित बसोबासी एक हजार एक सय ५३, भूमिहीन सुुकुम्बासी ६५, भूमिहीन दलित ८५ जनाले निस्सा प्राप्तिका लागि फारम भरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । फारम भरेका सबैलाई निस्सा वितरण सकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

जग्गा नापजाँच अगाडि बढाउँदै पालिका

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कारण रोकिएको जग्गा नापजाँचको काम तनहुँमा पुनः सुरु भएको छ । निर्वाचन आचारसंहिताका कारण रोकिएको जग्गा नापजाँचको काम पुनः सुरु भएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित लिउतपाखा गाउँबाट जग्गाको नापजाँचको काम सुरु भएको कार्यवाहक वडाध्यक्ष कमलबहादुर मगरले जानकारी दिनुभयो । “जग्गा उपलब्धताका लागि निवेदन पेश गर्नुभएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य सुरु भएको छ”, मगरले भन्नुभयो ।

जग्गा नापजाँचका लागि नापी कार्यालय तनहुँका सर्भेक्षक राजीव श्रेष्ठको नेतृत्वमा टोली परिचालन भएको छ । आँबुखैरेनी गाउँपालिका–३ कै मिलनटोलमा पनि जग्गा नापजाँचको कार्य सुरु भएको छ । भोगचलन गर्दै आएको ऐलेनी जग्गा उपलब्धताका लागि निवेदन पेश परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य सुरु भएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखि भूमिहीन र अव्यवस्थित बसोबासीका रुपमा रहेका सर्वसाधारणलाई लालपुर्जा प्रदान गर्नका लागि समयमै नापजाँच कार्य सम्पन्न गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले जग्गा नापजाँच कार्यका लागि यसअघि नै निस्सा वितरण गरिसकेको छ । राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१, २, ११, १३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ ।

जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । जिल्लाको देवघाट गाउँपालिका–५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा पनि जग्गाको नापजाँच कार्य जारी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com