नयाँ घरमा भूकम्पपीडित


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

श्रावण १, २०७४- भूकम्पपछिका २ बर्खा गोठ र टहरामा बिताएका लमजुङ गैरीगाउँकी ६१ वर्षीया चेप्ची गुरुङको परिवार यसपटक नयाँ घरमा सरेको छ ।

आफ्नै छानोमुनि बस्दा ढुक्क लागेको उनको परिवारको भनाइ छ । नजिकै रहेको गोरखा बारपाकमा २०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु थियो । भूकम्पले उनको पनि घर भत्किएको थियो । त्यसयता उनको परिवारले गोठ र टहरामा दैनिकी चलायो । ‘अब त छोटो आयु यहीं बिसाउन पाइएला,’ उनले भनिन् ।

७० वर्षीया मैत गुरुङ पनि नयाँ घरमा सरेकी छन् । ४ वर्षअघि उनका पतिको मृत्यु भएको थियो । विदेशबाट बिरामी भएर फर्किएका छोरा भीमबहादुरका साथ उनी नयाँ घरमा सरेकी हुन् । ‘२ लाख रुपैयाँ पाएँ । यताउता गर्दा १ लाख जुटाएँ । अझै ५० हजार ऋण छ,’ उनले भनिन्, ‘यो बर्खा कसरी कटाउने भन्ने चिन्ता छैन । खुसी लागेको छ ।’ वाग्मती गुरुङले पनि २ कोठाको चिटिक्क परेको घर बनाएकी छन् । घरछेवैको टहरामा उनले डेढ वर्ष बिताइन् । ६ महिनाजति पालमै गुजारिन् । पति भारतमा छन् । गौरीमाया र प्रीतिमान गुरुङ दम्पतीले ऋण काढेर घर बनाएका छन् । ‘भच्चेक (गोरखा) को बैंकमा दुईपटक गएर दुई लाख ल्याएँ । फेरि एक लाख पाइन्छ रे,’ प्रीतिमानले भने, ‘तीन लाख जति ऋण छ । एक लाख ल्याएर तिर्छु, दुई लाख नमरी बाँचे तिरौंला ।’

स्थानीयका अनुसार घर पुनर्निर्माणका लागि जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोपाडेस) ले सहयोग गरेको हो । कार्यक्रम संयोजक विजय गुरुङका अनुसार दूधपोखरी गाउँपालिका–१ (साबिक दूधपोखरी गाविस–७), गैरीगाउँमा ३२ घर निर्माण गरिएको छ । दूधपोखरी गोरखासँग सीमा जोडिएको छ । सदरमुकाम बेंसीसहरबाट पानी नपरेको समयमा मुस्किलले १ दिनमा पुगिन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत निजी आवास तथा पुनर्निर्माण कार्यक्रमका लमजुङ जिल्ला सम्पर्क व्यक्ति शिव रेग्मीका अनुसार जिल्लामा कुल लाभग्राही १३ हजार ५ सय १९ छन् । ८ हजार १ सय ७३ जनाले घर बनाउन रकम सम्झौता गरिसकेका छन् । १ सय ६५ ले पहिलो र ३२ घरपरिवारले दोस्रो किस्ताको रकम बुझिसकेका छन् । उनका अनुसार लाभग्राहीमा नपरेको र सर्भेमा छुटेको भन्दै १८ सय १५ जनाले गुनासो फारम भरेका छन् ।

पुनर्निर्माण आशालाग्दो
भूकम्प गएको लामो समयसम्म पनि सुस्त देखिएको पुनर्निर्माण कार्यले गति लिन थालेपछि ओखलढुंगाका बासिन्दाले राहत महसुस गरेका छन् । अन्य जिल्लाको तुलनामा यहाँ पछिल्ला दिन घर निर्माण तीव्र छ । घर पुनर्निर्माणका लागि १८ हजार ७ सय १ परिवारले सम्झौता गरेका थिए । तीमध्ये १८ हजार ६ सय ५४ ले पहिलो किस्ता बुझेकामा ६४ सय ७९ घर निर्माण क्रममा छन् ।

१ हजार ३ सय ८६ घर बनिसकेका छन् । दुई परिवारले अन्तिम किस्तासमेत बुझिसकेका छन् । ८ सय ७९ परिवारलाई अन्तिम किस्ताका लागि सिफारिस गरिएको छ । ‘निर्माण सम्पन्न भइसकेकाले धमाधम अन्तिम किस्ता पाउनेछन्,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला समन्वय समिति प्रमुख युवराज खरेलले भने, ‘अहिले हामी तीव्र गतिमा पुनर्निर्माण गरिरहेका छौं ।’

आवास अनुदानको तेस्रो किस्ताका लागि मात्रै १ हजार ८ सय २३ निवेदन परेका छन् । दोस्रो किस्ता लिनेको संख्या ४ हजार ११ छ । जिल्लामा पहिचान भएका लाभग्राही २० हजार १ सय ६५ थिए । लाभग्राहीमा नपरेको गुनासो गर्दै ८ हजार १९ निवेदन परेका थिए । तीमध्ये ६ हजार ६ सय ७५ जनाको गुनासो सम्बोधन भइसकेको प्राधिकरणले जनाएको छ । गुनासोमा परेकामध्येबाट १६ सय ४३ घरधुरीलाई रेक्ट्रोफिटिङ (आंशिक मर्मत) गर्न सिफारिस गरिएको छ । जिल्लामा प्राविधिक र आवश्यक जनशक्ति वृद्धि भएकाले काम अघि बढाउन सघाउ पुगेको खरेलले जानकारी दिए । हाल इन्जिनियर, ओभरसियर र सबइन्जिनियर गरी जिल्लामा १ सय ४३ प्राविधिक खटिएका छन् । डकर्मीको संख्यासमेत १८ सय नाघेको छ ।

सरकारले पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको मितिले २ वर्षभित्र अनिवार्य घर निर्माण गरिसक्नुपर्ने नयाँ मापदण्ड बनाएको छ । संशोधित कार्यविधि २०७४ अनुसार अब पुनर्निर्माणसम्बन्धी गुनासोलगायत जिम्मेवारी स्थानीय तहमै सर्ने भनिए पनि हालसम्म गाउँपालिका र नगरपालिकामा कुनै त्यस्ता गुनासा आइसकेका छैनन् । अब पुनर्निर्माणको काम स्थानीय तहबाटै हुने भएपछि तत्काल गुनासा सम्बोधन हुने अपेक्षा स्थानीयले लिएका छन् ।

चौकी पुनर्निर्माण
नुवाकोटमा द्वन्द्व र भूकम्पले ध्वस्त भएका प्रहरी चौकी पुनर्निर्माण थालिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराका अनुसार क्षतिग्रस्त ११ चौकीमध्ये ७ वटाका भवन बनिसकेका छन् । बाँकीको पनि पुनर्निर्माण भइरहेको छ । भवन भत्किएकाले प्रहरीले पालमै बसेर सेवा दिइरहेको अवस्था छ । वर्ष दिनभित्र सबै चौकीका पक्की भवन निर्माण हुने जानकारी उनले दिए । देउराली, फिकुरी, तारुका, पार्टीभन्ज्याङ, सिक्रे, ककनी र समुद्रटार चौकीका भवन निर्माण भइसकेका छन् । सदरमुकाम विदुरमा दुईवटा चौकी निर्माणाधीन अवस्थामा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com