बाबु बन्दै भए आफूलाई बदलौं


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

 

दीपक प्रसाद दहाल

भाद्र १५, २०७२
घरमा नयाँ सदस्यको आगमन हुँदै छ भने अवश्य पनि परिवारमा खुसी छाएको हुनुपर्छ । अझ पहिलोपटक बाबुआमा बन्न लागेका जोडीलाई त यस्तो खुसी विशेष हुने गर्छ । तथापि यो कुरामा खुसी मात्र नभएर जिम्मेवारीमा वृद्धि एवं भूमिकामा परिवर्तनजस्ता कुराहरू पनि साथै जोडिएर आउँछन् । आमामा देखा पर्ने शारीरिक एवं मानसिक परिवर्तन त छँदैछ पुरुष अर्थात् बाबुमा पनि सन्तानको जन्मपश्चात् परिवर्तन आउँछ । उक्त नयाँ भूमिकामा आफूलाई सहज बनाइराख्न तथा परिवर्तित परिस्थितिअनुकूल सन्तुलित जीवन बिताउन पुरुषले पनि स्थितिअनुकूल आफूमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।
कामेच्छामा नियन्त्रण : गर्भावस्थाका बेला सबै सामान्य छ भने सम्भोगको आनन्द लिन सकिन्छ तथापि कुनै समस्या छ भने चिकित्सकको सल्लाहअनुसार चल्नु आवश्यक हुन्छ । सामान्यत: यस्तो अवस्थामा महिलाहरू यौनेच्छा राख्दैनन् तर यो सबैजनामा लागू हुन्छ भन्ने होइन । जे भए पनि यस्तो अवस्थामा महिला साथीलाई यौनसम्पर्कका लागि दबाब दिनु उचित हुँदैन, अझ गर्भावस्थाका अन्तिम दुई महिनामा यौनकार्यबाट टाढै रहनु हितकर हुन्छ ।
होम मेकर : श्रीमती गर्भवती छिन् भने स्वाभाविक रूपले सामान्य अवस्थामा जसरी काम गर्न सक्दिनन् । यस्तो अवस्थामा खाना बनाउने, बजार गएर किनमेल गर्ने, लुगा धुने वा धुने व्यवस्था मिलाउनेजस्ता घरायसी काममा सहयोग गर्नु पुरुषको कर्तव्य हुन्छ । यसो गर्नाले घरायसी काममा पत्नीको बोझ हट्ने त छँदैछ, पतिको सहयोग पाउँदा पत्नीलाई विशेष खुसी महसुस हुन्छ र उनी शारीरिक एवं मानसिक रूपले हलुका पनि हुन्छिन् जसको सकारात्मक असर भावी सन्तानमा पनि पर्ने कुरा विशेषज्ञहरू बताउँछन् ।
महत्वपूर्ण अनुभव गराउनु : जन्मपश्चात् पहिलोपटक शिशुलाई हेर्न जाँदा पत्नीका लागि कुनै राम्रो उपहार वा बुके लिएर जानु उपयुक्त हुन्छ । यसले पत्नीको मनमा पतिले आफूलाई महत्व दिएको भान हुन्छ र त्यसको सकारात्मक असर त नवजात शिशु एवं प्रसूति आमा दुवैका लागि विशेष हितकारक हुन्छ । पत्नीले आफूलाई सुन्दर सन्तान उपहार दिएकी छिन् भने आफूले कुनै सानो उपहार दिएर उनलाई खुसी तुल्याउने मौका नगुमाउनु नै राम्रो हुन्छ । सकिन्छ भने अफिस छुट्टी लिएर केही दिन पत्नीको हेरचाहमा लाग्नुपर्छ । यसबाट सम्बन्धमा मजबुती आउने त छँदैछ पत्नीले प्रसूति हुँदाको पीडा भुल्न पनि सहयोग पुग्छ ।
शिशुको हेरचाहमा सहयोग : शिशुको हेरचाहमा सहयोग गर्नु बाबुको कर्तव्य हो । यसका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्छ । शिशुका लागि राती उठ्नुपर्ने हुनसक्छ, भोक लागे खुवाउनुपर्छ, रोए फुल्याउनुपर्छ, डाइपर भिजाए फेराइदिनुपर्छ । यस्ता काम गर्दा निद्रा माया मार्नुपर्ने अवस्था पैदा हुँदा पनि झर्कोफर्को गर्ने, रिसाउने गर्नुहुँदैन, श्रीमतीलाई शिशुको रेखदेखमा सहयोग पुर्‍याउनुपर्छ ।
जिम्मेवारीबोध : अफिसपछि तथा छुट्टीमा पनि साथीभाइसँग मस्ती वा घुमघाम गर्ने, फिल्म हेर्नेजस्ता काम पहिले त ठीक थियो तर बाबु बनिसकेपछि भने यस्ता कुरामा केही नियन्त्रण गर्नैपर्ने हुन्छ । यसरी दिनचर्यामा फरक आउँदा केही कष्ट हुनु स्वाभाविकै हो तापनि पहिलेजस्तै गर्छु भनेर सुख पाइँदैन । यसो गर्न खोजे पतिपत्नीको सम्बन्धमा आँच आउनसक्छ । यस्ता कुरामा श्रीमतीले बाहिरी रुपमा केही नभने पनि भित्रभित्रै उनी रिसाइरहेकी हुनसक्छिन् । उनले आफूलाई पतिले वास्ता नगरेको, शिशुको जन्मले पतिलाई खुसी दिन नसकेको, आफू मरीमरी शिशु हेरिरहेको तर पतिले भने मजा लुटिरहेको जस्ता अनेक कुरा खेल्नसक्छन् जसले सम्बन्धमा खलल पुर्‍याउँछ ।
भावनात्मक सहयोग : शिशुको जन्मपश्चात् कतिपय महिलामा गर्भावस्थापछि हुने तनाव हुन्छ । शिशु जन्मँदा हुने हार्मोन तथा शारीरिक परिवर्तनले यसमा भूमिका खेलेको हुन्छ । बढेको जिम्मेवारीका कारण तनाव भैरहेको बेला आवश्यक भावनात्मक सहयोग प्राप्त नभए महिलाहरुमा डिप्रेसन देखा पर्नसक्छ । आफूलाई पत्नी डिप्रेसनको सिकार हुँदैछिन् भन्ने लाग्यो भने ढिलो नगरी मनोचिकित्सको परामर्श लिनुपर्छ र धैर्यपूर्वक उपचारमा सहयोग दिनुपर्छ ।
शिशुसँग खेल्नु मात्रै जिम्मेवारी होइन : शिशुसँग खेलेरै मात्र जिम्मेवारी पूरा हुन्छ भन्ने केही पुरुषको सोच पाइन्छ, जब कि यति मात्रैले बाबुको जिम्मेवारी पूरा हुँदैन । शिशु रोइरहेको छ भने उसलाई फुल्याउने काम आमाको हो भनेर चुप लाग्नु हुदैन, फुल्याउने प्रयास गर्नुपर्छ । डाइपर फेर्नुपर्नेछ भने पनि अरूको मुख ताकेर बस्नुहुदैन । यसो गर्दा शिशुसँगको सम्बन्ध थप कसिलो हुनुका साथै पत्नीसँगको सम्बन्ध पनि बलियो हुन्छ ।
दुध खुवाउने सीप : जब शिशुले केही महिनापछि बोतलबाट दूध खान सुरु गर्छ, दूध पिलाउन बाबुले पनि सिक्नुपर्छ । शिशुलाई खुवाउने–पियाउने काम पत्नीकै मात्र हो भनेर चुपचाप बस्नुहुदैन । महिला–पुरुष बराबरी हुने समय आइसकेको छ, पत्नी पनि कामकाजी हुनसक्छिन् । यस्तो अवस्थामा शिशु हुर्काउने जिम्मेवारी आमाकै हो भनेर पन्छिनुहुदैन ।
आफ्नो काम आफैं गर्ने बानीको विकास : मेरो मोजा कहाँ छ, रुमाल कता परेछ, सर्ट कता हो, टाई कता गयो, कपडामा पनि इस्त्री छैन भनेर पत्नीलाई कराउने बानी छ भने त्यसलाई बदलिहाल्नुपर्छ । शिशु जन्मपश्चात् पत्नीको जिम्मेवारी धेरै बढ्छ । यस्तो अवस्थामा पतिको काम पनि गरिदिनुपर्‍यो भने चिडचिडाहट हुनु स्वाभाविकै हो । तसर्थ आफ्नो काम आफैं गरेर श्रीमतीलाई सहयोग गर्न सकिन्छ ।
शारीरिक परिवर्तनमा नकारात्मक टिप्पणी नगर्ने : हरेक पुरुषमा आफ्नी पत्नी सदैव सुन्दर एवं स्लिम–ट्रिम देखियून् भन्ने चाहना हुन्छ । जक कि प्रसवपछि महिलाको शरीरको आकारमा परिवर्तन देखा पर्छ । यस्तो बेलामा श्रीमतीको शरीरप्रति अनावश्यक टिप्पणी गर्नु र नानाथरी ताना मार्नु उचित हुँदैन । यसो गर्दा उनी डिप्रेसनको सिकार हुनसक्छिन् । बरु उनलाई प्रसव भएको ५–६ महिनापछि व्यायाम गर्नका लागि प्रोत्साहित गर्ने, सकारात्मक तरिकाले सम्झाउने र जस्तो छिन् त्यसैमा पनि सुन्दर छिन् भनेर तारिफ गर्नु बुद्धिमानी हुनसक्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com