नेपाली अमेरिकन मतदाताको रोजाई: आप्रवासीको हित र आर्थिक सुधारलाई प्राथमिकता दिने उम्मेदबार


प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार

Khasokhas

अमेरिकामा नोभेम्बर ८ मा हुने चुनावमा लागि नेपाली अमेरिकन मतदाताहरु पनि उत्साहित रहेका छन् । मताधिकार अधिकारमात्र नभएर कर्तब्य समेत भएको बुझेका कतिपय मतदाताहरु अग्रिम मतदानमा सहभागी भइसकेका छन् भने कतिपयले नोभेम्बर ८ कै प्रतिक्षा गरिरहेका छन् ।

न्युयोर्कमा रहेका नेपाली अमेरिकन मतदाताहरु आप्रवासीहरुको हितलाई ध्यान दिने उम्मेदबारहरु आफ्नो रोजाईका उम्मेदबारहरु भएको बताउँछन् । अल्पसंख्यक समुदायको हितमा काम गर्ने, आप्रवासीहरुको हितमा काम गर्ने र आर्थिक सुधारका कार्यक्रमहरु रहेका उम्मेदबारहरु आफ्नो रोजाईमा पर्ने मतदाताहरुको भनाई छ ।

Khasokhas
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको अग्रिम मतदानस्थल । फोटो: खसोखास

न्युयोर्कको वेष्टचेष्टर स्कारडेल निवासी डाक्टर विनोद शाह भन्छन् – ‘आर्थिक अवस्थामा सुधारका साथै पेट्रोलियम पदार्थको मूल्यबृद्धिको वर्तमान अवस्थामा उर्जाको अवस्थामा सुधार ल्याउन सक्ने उम्मेदबारहरु मेरा रोजाइमा छन् । बेरोजरागारी समस्या समाधान र स्वास्थ्यको क्षेत्रमा सुधार गर्नसक्ने उम्मेदबारलाई मतदान गर्ने योजनामा छु ।’

अल्पसंख्यक र आप्रवासी समुदायकको हितमा काम गर्ने उम्मेदबारहरुलाई आफूले मतदान गर्ने उनले बताए । उनी भन्छन् – ‘सिमान्तकृत समुहका लागि विशेष व्यवस्था गर्ने खालको उम्मेदबारलाई मतदान गर्ने हो ।’

बासु फुलारा

त्यस्तै न्युयोर्कको क्वीन्स निवासी कानून व्यवसायी तथा नेपाली अमेरिकन मतदाता बासु फुलाराको रोजाईमा पनि आर्थिक अवस्थामा सुधार ल्याउने एजेण्डा भएका उम्मेदबार छन् । उनी भन्छन् – ‘अमेरिकनलाई कुनै कष्टविना र आर्थिक मन्दिविना मुद्रास्फीतिको अवस्थालाई पार लगाउन नेतृत्वको खाँचो छ ।’

Khasokhas
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको अग्रिम मतदानस्थल । फोटो: खसोखास

भविश्यमा अमेरिकी राजनीतिमा सकृय हुदै जाने योजना बनाएका फुलारा भन्छन् – ‘आप्रवासी समुदायको हितमा काम गर्नसक्ने उम्मेदबार नै नेपाली अमेरिकन मतदाताका रोजाईमा छन् ।’

नोभेम्बर ८ मा नै मतदान गर्ने योजना बनाएका न्युयोर्कको कलेज प्वाइन्ट निवासी रियल्टर तथा नेपाली अमेरिकन मतदाता नवराज केसी भन्छन् – ‘आप्रवासीलाई सहयोग गर्ने उम्मेदबारहरु नै मेरो रोजाइमा छन् । आप्रवासी मैत्री उम्मेदबारहरु भनेका डेमोक्र्याट्सहरु नै हुन् ।’

तर न्युयोर्कको लङ आइल्याड निवासी बेद खरेलको धारणा भने केही फरक छ । जुन सुकै दलको भएतापनि स्थानीय समुदायसँग नजिक रहेको र स्थानीय समुदायको हितमा काम गर्नसक्ने उम्मेदबारलाई मतदान गर्नुपर्ने उनी बताउँछन् । यसपटकको चुनावमा सिनेटरहरु र प्रतिनिधिसभाका सदस्यमात्र नभई राज्य संसद र अन्य निकायका नेताहरु समेत चुनिने भएकाले स्थानीय रुपमा स्थानीय रुपमा आफ्नो समुदायलाई चिन्नेलाई मतदान गर्नुपर्ने उनको भनाई छ ।

स्थानीय उम्मेदबारलाई टोपी लगाइदिदै बेद खरेल ।

अमेरिकामा रहेको नेपाली समुदायको पहुच स्थानीय सरकार, राज्य सरकार र त्यसका अंगमा पनि हुनुपर्ने बताउँदै खरेल भन्छन् – ‘स्थानीय स्तरमा नेपाली समुदायको मुद्दालाई सहयोग र समर्थन गर्नेलाई मतदान गरे पो उनीहरुबाट हाम्रो समुदायलाई सहयोग हुन्छ । जुनसुकै पार्टीको भएपनि नेपाली समुदायलाई चिन्ने, नेपाली समुदायका आवश्यकताबारे जानकार, नेपाली समुदायसँग हातेमालो गरेर हिड्न सक्ने उम्मेदबारलाई मतदान नगरेर चिन्दै नचिनेका, समुदायसँग परिचित नभएका उम्मेदबार खोज्न कता जानु ?’

त्यस्तै न्युयोर्कको क्वीन्स निवासी नेपाली अमेरिकन डा शेखर गिरीले जनाताको पीडा बुझ्न सक्ने, शिक्षा स्वास्थ्य जस्ता विषयलाई गम्भिर रुपमा लिने र शहरी विकाशलाई ध्यान दिने उम्मेदबार आफ्नो छनौटमा पर्ने बताउँछन् । अध्यागमन सुधारका पक्षमा रहेका र आप्रवासीका परिवारलाई अमेरिका ल्याउन सहयोग गर्ने एजेन्डा भएका उम्मेदबारलाई मतदान गर्ने सोचमा रहेको उनको भनाई छ ।

न्युयोर्कको ज्याक्सनहाइट निवासी नेपाली अमेरिकन मतदाता तथा लेखक राजन थपलिया भन्छन् – ‘नेपाली आप्रवासी समुदायलाई जस्ले सहयोग गर्छ, साथै जसले नेपाली समुदायलाई राम्ररी चिने जानेको त्यस्ता उम्मेदबारलाई मतदान गर्ने योजनामा छु । प्रभावकारी एजेण्डा भएकाले र सक्षम नेता भएको कुरा इतिहासले पुष्टी गरेका उम्मेदबारहरुलाई मतदान गर्नुपर्छ ।’

त्यस्तै न्युयोर्कको ज्याक्सनहाइटमा ट्राभल एजेन्सीमा कार्यरत नेपाली अमेरिकन मतदाता कन्चन बस्नेत भन्छिन् – ‘अपराध नियन्त्रण र बालबालिकाको शिक्षामा राम्रो योजना ल्याउने उम्मेदबारलाई नै मतदान गर्नुपर्छ ।’

मैदानमा  ह्यारी भण्डारी र सरहाना श्रेष्ठ

नोभेम्बर ८ मा हुने चुनावमा सबैभन्दा उच्च पदका लागि मैदानमा रहेका २ नेपाली अमेरिकन उम्मेदबारहरु ह्यारी भण्डारी र सराहना श्रेष्ठ हुन् ।

भण्डारी मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड राज्य संसदमा दोश्रो कार्यकालका लागि निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका छन् भने न्यूयोर्क राज्य संसदमा डिष्ट्रिक १०३ उम्मेदबार हुन् सरहाना श्रेष्ठ ।

भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बनेका हुन् । सरहाना श्रेष्ठले २३ वर्षदेखि सोही पार्टीका बहालवाला सांसदलाई हराएर प्राइमरी निर्वाचनमा जीत हासिल गर्दै इतिहास रच्न सफल भएकी हुन् भने भण्डारी अमेरिकामा राज्य संसदमा निर्वाचित हुने पहिलो र अहिलेसम्म एकमात्र नेपाली अमेरिकन हुन् ।

सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी श्रेष्ठको राजनीतिक यात्रा रोचक छ । उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी थिइन् । सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा मैदानमा उत्रिएकी हुन् ।

भण्डारीले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फवाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका छन् । भण्डारी मेरिल्याण्डको राज्य संसदमा आफनो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा छन् । सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती भने थपिएको छ ।

उनको निर्वाचन क्षेत्र डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने क्षेत्र हो । यसले गर्दा मतदाताले उमेद्वारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् । भण्डारी आफनो निर्वाचन क्षेत्रमा आफनो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगिरहेका छन् ।

उनले सन् २०१८ मा व्यक्त गर्नु भएको प्रतिवद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफनो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका छन् ।

भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रुमहरुको निर्माणको लागि भनेर पाँच लाख ५० हजार डलर बराबरको रकम लेजिष्लेटिभ फण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराउन सफल भएका थिए ।

सरहाना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिष्ट्रिकमा डेमोक्र्याट पार्टीको विगत दुई दशकदेखि प्रतिनिधित्व गर्दे आएका वहालवाला सांसदलाई प्राइमरी निर्वाचनमा हराइन् । उनको पहिलोपटकको राजनीतिक यात्राले नै नयाँ उचाई हासिल गर्न सकेको छ ।

पर्यावरणको क्षेत्रमा काम गर्ने श्रेष्ठले आफनो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उदघोष गरेकी छिन् । उनले ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा छिन् ।

सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सरहाना २०१९ मा अमेरिकाको नागरिकता लिइन् । पतिसहित न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आएकी उनी उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिष्टस अफ अमेरिको सहअध्यक्ष समेत भइन् ।

नोभेम्बर ८ मा हुने निर्वाचनमा ३४ सिनेटर, ४३५ प्रतिनिधिसभा सदस्यहरु र ३६ वटा राज्यको गभर्नरको लागि निर्वाचन हुने भएको छ । यसैगरी कतिपय राजयका जनरल एसेम्बली, काउन्टी एक्जुकेटिभलगायत स्थानीय निकायमा सरकार सञ्चालन गर्ने पदाधिकारीको निर्वाचन हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com