इम्पोर्ट टाइकुन : डिभीले अमेरिका ल्याएका ऋषी ढकालको प्रेरणादायी जीवनकथा

प्रकाशित मिति : असार २६, २०७४ सोमबार

-दिब्यज्योति

ऋषि ढकाल, नेपाली अमेरिकन समुदायमा निकै नै चर्चित नाम । अमेरिकी सहर सानडियागोका लागि नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत ढकालको बिस्तारित परिचय तैयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा समेत स्थापित भएको छ । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र नेपालीपनको जगेर्ना गर्न कहिल्यै पछि नपर्ने सामाजिक अगुवाको रुपमा परिचित छन् ऋषि ढकाल ।

‘एकपटकको नेपाली, संधैको नेपाली’ अभियान अन्तर्गत दोहोरो नागरिकताको प्रावधानका लागि एनआरएन आइसीसीको समितिमा रहेर नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न पहल गर्ने एक अभियन्ताको रुपमा पनि ढकालको परिचय स्थापित छ ।

बाल्यकालमै उदाहरणीय

बुवा लिलानाथ ढकाल र आमा मेघामाया ढकालका कोखबाट जेठा सन्तानको रुपमा कार्तिक ७ गते गोरखा जिल्ला, पृथ्बी नारायण नगरपालीका वडा नम्बर ११ मा भएको हो ऋषि ढकालको जन्म । किसान परिवारमा जन्मिएका ढकालको बाल्यकाल सामान्य खालको थियो, गाऊमा मेला पात र घाँस दाउरा गर्दै बाल्यकाल बितेको बताउँछन् ढकाल । बाल्यकालमा अभाव र सामान्य खालको जिवन यापन गरे पनि सबै भन्दा रमाइलो क्षण पनि बाल्यकालमै ब्यतित गरेको सम्झन्छन् ढकाल ।

हुने बिरुवाको चिल्लोपात भने झै सानै उमेर देखि नै निकै मिहिनेती र गम्भिर स्वभाबका थिए ढकाल । सानै उमेरमा पनि उनको स्वभावसंग आफन्त र गाउँलेहरु प्रभावित थिए । अझ गाउका ठूला बडाले त बच्चाको स्वभाव हुनु त ऋषीको जस्तो हुनु भनि उदाहरण दिन समेत पछि पर्दैन थिए ।

खेतीकिसानी, दाउराघाँस गर्दै घरबाट दुईघण्टा पैदल हिँडेर जानु पर्ने शक्ति माध्यमिक विद्यालयमा ८ कक्षा सम्म पढे उनले । पछि घर नजिकै महेन्द्र माध्यमिक विद्यालय खुलेपछि त्यतै भर्ना भए र त्यही स्कुलबाट एसएलसी सकाए ऋषिले ।

गाँउमा उदाहरणीय हुनु र आफ्नो मेहनेती स्वभावका कारणले पनि पढाइमा राम्रै थिए ढकाल । एक दिन ऋषी मेला पात गर्न गएकै बेला एक जना साथि दगुर्दै आएर एसएलसीमा पास भएको खबर ऋषीलाई सुनाए । त्यो क्षण भने विर्सनै नसकिने खुशीको क्षण थियो ऋषी ढकालका लागी ।


काठमाडौंमा रातभर अलपत्र

एस एल सी पछीको पढाइलाई निरन्तरता दीन ढकाललाई काठमाण्डौं आउनुको बिकल्प थिएन । गोरखाको सामान्य किसान परिवारको छोरा ऋषिको हाइस्कुल पछिको पढाइका लागि जीवनको पहिलो काठमाण्डू यात्रा कम्ता मार्मिक थिएन ।

कार्तिकमङ्सिर महिना, काठमाण्डुमा जाडो बढीसकेको थियो । बिरानो काठमाण्डुको बसपार्क झर्दा गोरखा घरबाटै ल्याएको क्याम्पस पढ्नका लागि चाहिने लुगाफाटा र सामालको झोलाहरु बाहेक केही थिएन ऋषिसंग । विसं २०४९ को त्यो रात । एक जना आाफन्तले बसपार्कमा लिन आउछु भनेका थिए । तर उनी आएनन् ।

गाउँमा हुर्केको मान्छे, पहिलोचोटी राजधानी सहर काठमाण्डूमा पाइला राखेको, केही थाहा थिएन । कसैलाई चिनेको थिएन । कता जाने, के गर्ने, आपत परेछ । केही उपाए नलागेपछि आफू चढेर आएको बसमै कठ्यांग्रिएर रात बिताएछन् ऋषिले । भोलिपल्ट उज्यालो भएपछि सोधखोज गर्दै बस्ने निधो भएको आफन्तकोमा पुगे । आमाबुवा, भाईबहिनीसंग खेल्दै गाउँको मध्यम बर्गीय किसान परिवारमा हुर्केका ऋषिलाई काठमाण्डू खासै रमाइलो लागेन ।

प्रेसमा पाँचसयको जागिर

लेखनाथमार्ग ठमेल स्थित सरस्वति क्याम्पसमा आईकम पढ्दै गर्दा २०५० तिर थुप्रै सम्पर्क र भनसुन पछि महिनाको ५ सय तलब आउने काम पाए, स्थानीय एउटा प्रेसमा । तलबले जेनतेन कोठाभाडा मात्र तिर्न पुग्थ्यो । तर ५ सयले कोठाभाडा तिर्ननै मुस्किल थियो, तर पनि अन्य साथिहरुसंग मिलेर बस्ने भएकाले पनि गाह्रो साह्रो गरी जिवन चलेको थियो ।

धेरै थोरै खर्च आमाबुवाले पठाउन सक्ने हैसियत त थियो तर पनि ऋषी आमा बुबालाई दुःख दिन चाहन्नथे । आफ्नै मिहनेतले पढौं, भन्ने भावना थियो उनमा । पर्यटकीय क्षेत्र ठमेलमा निकै काम खोजेपनि भन्ने बित्तिकै अंग्रेजी भाषामा कमजोर इत्यादिका कारणले काम पाउनै निकै गाह्रो भयो । बल्लतल्ल एउटा कार्गो कम्पनीमा कार्यालय सहायकको काम पाए ।

पैदल र साइकलमा ओहरदोहर गर्दै कार्यालय सहायकको पदबाट थालेको कार्गो व्यवसायको काम दुई वर्ष मै १९९५ तिर त मेनेजरको हैसियतमा मोटरसाइकिलमा हुँईंकने भैसकेका थिए । ‘राती क्याम्पस पढ्ने र दिउँसो जागिर गर्ने’ गर्दै रत्नराज्य क्याम्पसबाट विए र पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा एमए पनि गरे ऋषीले ।

फाइल दिन जाँदा जोडिएको सम्बन्ध

काम गर्दै र शिक्षालाई अगाडी बढाउने क्रममै एक मिन ऋषी फाइल पुर्याउन कुनै ठाउँमा पुगेछन् । त्यहाँ उनको नजर एक जना युवतीमा रोकियो, ती युवती नाम थियो विमला अधिकारी । बिमला अधिकारीको परिवारको ठमेलमा पसल थियो । पछी बिस्तारै तिनै युवतीसँग भेटघाट हुने आशामा ऋषी पनि त्यो पसलमा धाउन थाले । तिनै युवती पछि ऋषी ढकालकी जिवन संगीनी बनिन् ।

भनिन्छ एउटा सफल पुरु हुनुमा कुनै न कुनै महिलाको महत्वपूर्ण भूमिका हुनछ । ऋषी ढकाललाई सफल बनाउनमा बिमला अधिकारी ढकालको पनि निकै ठूलो हात छ । बिमला जिवनमा आएपछि ऋषी ढकालको भाग्यउदय भएको भन्दा फरक पर्दैन । ८ बर्ष पहिले ऋषी र बिमलाको पहिलो सन्तानको रुपका छोराको जन्म भयो । त्यसपछि परिवारमा सबै राम्रो भएको ढकाल परिवारको बिश्वास छ । अहिले ऋषी र बिमलाका २ छोरा र २ छोरी गरी जम्मा ४ जना सन्तान छन् ।

डिभीले ल्यायो अमेरिका

२००५ मा ‘डिभी’ कार्यक्रम अन्तर्गत अमेरिका आउनु अघि नै नेपालमा चिनिने कार्गो आयात र निर्यात व्यवसायी भई सकेका थिए ऋषी । व्यवसाय गर्ने मनसायका साथ आफूले गर्ने व्यवसाय कै सामानहरू आफूभन्दा अगाडि नै अमेरिका पठाईवरी क्यालिफोर्निया उडेका ढकाललाई क्यालिफोर्निया पुगेपछि तत्काल व्यवसाय सुरु गरिहाल्न सजिलो थिएन । अमेरिकी भूमिमा व्यवसायको अनुभव नभएको, भाषागत कमजोरी, नेपाली तैयारी पोशाकको स्थानीय बजार स्थापित नभईसकेको अवस्थामा व्यवसाय गर्न सहज भएन उनलाई ।

क्यालिफोर्निया पुगेको ६ महिनासम्म त परिवारलाई कुनै काम सिकाउने र गराउनेतिर त सोच्दै सोचेनन् ऋषीले । व्यापार गर्ने उपायहरू खोज्दै, विभिन्न ठाउँ चाहार्दै त्यत्तिकै सकियो ६ महिना । खाँदा, घुम्दा, अमेरिकामा भएका विभिन्न व्यापारिक मेलारप्रदर्शनीमा सहभागी हुँदा र वेरहाउसको भाडा तिर्दा नेपालबाट ल्याएको पैसा सकिइहाल्यो । पैसा सकिने, ल्याएको सामान जसरी बेचौंला भन्ठानेको त्यसरी बेच्न पनि नसकेपछि ऋषिलाई छटपटी भयो ।

घरखर्च र सामान राख्ने भाडा समेत जोहो गर्न कठिन होला झैँ भएपछि त निकै अत्तालिएको बताउछन् ढकाल । आफू आउनु पूर्व नै क्यालिफोर्नियामा व्यवसाय सुरु गरिसकेका जेठान कपिल अधिकारीले पनि निकै सहयोग पाएका थिए ऋषीलाइ । अमेरीकामा दह्रोसंग खुट्टा टेकाउने काममा अमेरिकामा बसेका जेठान कपिल अधिकारीको ठूलो हात छ भन्दा फरक नपर्ला ।

अमेरिका आएकै दुईबर्षमा तीनलाख डलर ऋण

अमेरीकामा व्यापारको चाँजोपाँजो मिलाउने सन्दर्भमा आएको दुईबर्षमा ३ लाख डलर जत्ति ऋण लागेछ । साथीभाई आफन्तहरुले सहयोग गरेकाले र नेपालको व्यवसायले राम्रै प्रगति गरिरहेकाले होला दशक अघि ३ लाख डलर ऋण लाग्दा एक छिनको लागी त ऋषीले हिम्मत हारिसकेका थिए । ऋण थपिंदै गएपछि ल्याएको सामान कसरी बेच्नेहोला भनेर अनेक उपाय लगाउँथे, ऋषि र बिमला । उनीहरूको दिनचर्या बिहान सबेरै झिस्समिसेमै उठ्ने, सामान बोक्दै विभिन्न ठाउँमा लाग्ने मेला पर्व र ‘विकेण्ड मार्केट’मा गएर केही सामान बेच्ने र राती अबेर लखतरान भएर घर फर्कने गरेर बित्थ्यो । कति पटक त दिनमा चार ठाउँमा पनि पुग्न भ्याए सामान बिक्री गर्नै क्रममा ।

अलिअलि भएको व्यापारको पैसाले महिनाभरीको बिल तिर्न पनि धौधौ पर्ने, साना बच्चाहरू छोड्दै व्यापार गर्न भौंतार्रिंदै गर्दा एक समय त नाम र दाम दुवै भैसकेको, वर्षमा एक दुईपटक युरोप अमेरिका व्यावसायिक भ्रमण गर्न सक्ने हैसियतको व्यवसाय छोडेर व्यर्थैमा डिभीको पछि लागेर अमेरिका आइएछ भन्ने सोचाई आएछ ऋषी दम्पत्तिमा ।

ऋण लागेपछि जागिरतिर

अब केही नहुने भो, न नेपाल फर्कनु न यता टिक्ने उपाय लाग्ने भो भन्ने अवस्था आएकै बेला साथीभाई र परिवारको सल्लाहले श्रीमती विमला नर्स सम्बन्धी तालिम लिएर नर्स सेवा मै काममा लागेपछि घरखर्चको लागि अलि सजिलो भएछ ।

जिवन यापन गर्न र घर भाडाकै जोहो गर्न पनि ढकाललाई केहि न केहि काम गर्नै पर्ने भयो । नेपालको व्यावसायिक ज्ञान र अनुभवले काम गरेरै होला जागिरको लागि आनलाइन फारम भरेको दुई घण्टा भित्रै अन्तरवार्ताको लागि रिटर्न कल पाए उनले । तत्काल अन्तरवार्तामा जान उनीसँग न त ड्राइविंग लाइसेन्स थियो न त क्यालिफोर्नियाको व्यस्त सडकमा गाडी चलाउने हिम्मत । त्यस्तोबेला कामलाग्ने भनेकै साथीभाई र इष्टमित्र रहेछन् । एउटा साथीको मद्दतले अन्तरवार्ता दिन पुगे र छानिए पनि । अब उनी त्यहींकै एउटा कार्गो कम्पनीमा घण्टाको २५ डलर कमाइ गर्न सक्ने भए ।

तीन लाख ऋण, व्यवसाय नचलेको बेला, त्यो जागिर उनलाई लाख भयो । आशा गरे भन्दा धेरै र औसत नेपालीहरूले त्यो बेला पाउने भन्दा तीन गुणा ज्यादा तलब ऋषीले कमाउन थाले । जागिर खाएको केही दिन मैं अमेरिकी बजारमा आयात र निर्यात व्यवसायको केही तौरतरिकाबारे जानकारी हुन थाल्यो । केही व्यवस्थापक र व्यवसायीहरुसंग चिनजान, सम्पर्क पनि हुन थाल्यो । गोदाममा थुप्रिएको नेपालबाट ल्याएको करोडौंको सामान यसरी जागिरमा भुलियो भने त कसरी बेच्न सकिएला र लाखौँको ऋणबाट पार कसरी पाइएला भन्ने सोचाईले गर्दा त्यो जागीरलाई बीस दिन भन्दा माथि लान सकेनन् उनले । भनिन्छ भाग्य भन्दा धेरै र समय भन्दा पहिले कुनै पनि व्यक्तिले केही पाएको हुँदैन ।

सँगसँगै भित्रिए लक्ष्मी र धन

कार्गो कम्पनीमा २० दिन काम गरेपछि उनमा आफैँ केही गर्नुपर्छ भन्ने भावना झन् मजबुत भयो । यो पटक उनले अमेरिकी बजारलाई थोरै भए पनि बुझ्न पाएकाले होला ऋषीमा आत्मविश्वास बढेको थियो । ऋण गरेरै भए पनि मार्केटिंग ब्राण्डिंग, प्याकेजिंग र ह्याण्डलिंगका लागि विज्ञहरु परिचालन गरे, र उनको यो तरिका काम लाग्यो पनि । २००७ मा छोरी ऋद्दिमा जन्मिइन् । उनी ढकाल परिवारमा लक्ष्मी भित्रिए सरह भयो । छोरीले उनीहरूको अमेरिकी व्यवसायमा भाग्य पनि सँगसँगै ल्याईदिए जस्तै भो ऋषि र विमलालाई । २००७ को अन्त्यतिर पुग्दा उनलाई अब भने अमेरिकामा आफ्नो व्यवसाय गर्न सकिन्छ भन्ने लागेछ ।

२०११ मा अर्की छोरी रिहानाको पनि जन्म भयो । परिवार बढ्ने र व्यवसाय बढ्ने सँगसँगै हुँदै गयो । २०१२ र २०१३ तिर पुग्दा त ऋषिको ‘राइजिङ्ग इन्टरनेशनल इन्कर्पोरेशन’ नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भई सकेको थियो । सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्व का लागि दिइने सम्मान तत्कालीन राष्ट्रपति रामवरण यादवबाट ग्रहण गर्न सक्षम भए ।

व्यवसायिक सफलता

तैयारी पोशाक र हस्तकलाको व्यापारिक सफलताले उनलाई व्यवसाय बिस्तार गर्न उत्प्रेरित गरिरह्यो । अहिले उनी साविकको व्यवसायलाई थप सुदृढ़ गर्न थाइल्याण्ड, चीन र भारतबाट समेत सामानहरू आयात गर्न थालेकाछन् भने अमेरिकामा पनि व्यवसाय बिविधीकरण गर्दै रेष्टुरेण्ट, रियलस्टेट जस्ता व्यवसायमा समेत लगानी गरेका छन् । ढकाल परिवारको क्यालिफोर्नियामा केही व्यापारिक प्रपर्टीहरुमा लगानी छ भने अमेरिकी राज्य हवाईमा समेत ‘कामना किचेन’को नामबाट रेष्टुरेण्ट सञ्चालित छ । उनको व्यवसायले अमेरिकी स्थानीय अर्थतन्त्रलाई त फाइदा भएकै छ, त्यो भन्दा धेरै त उनको व्यापारिक प्रतिष्ठानहरुमा कामगर्ने झन्डै ५० मध्ये आधा नेपाली दाजुभाइ दिदीबहिनीहरुको समेत जिविकोपार्जन भएको छ ।

ढकालले नेपालका बिभिन्न क्षेत्रमा लगानी गरेका छन् । एनआरएनको हैसियतमा उनको कमाइको केही हिस्सा नेपालमा पनि लगानी भएको छ । हाइड्रो पावर, नेपाल क्यान्सर अस्पताल र तक्षशिला एकेडेमीमा ढकाल परिवारको लगानी छ । सयौँ नेपालीहरूलाई रोजगारी दिन सफल उनका नेपाल स्थित व्यावसायिक प्रतिष्ठानहरुले नेपालको आर्थिक विकासलाई समेत निकै मद्दत गरेको छ ।

सामाजिक कार्यमा ढकाल परिवार

ढकाल परिवार सामाजिक कार्यमा पनि त्यतिकै सकृय छ । लसएन्जलसमा रहेको पशुपति फाउण्डेसनको स्थापनाको लागि महापुराण लगाएर झन्डै ११ लाख डलर सङ्कलन गर्ने कार्यको संयोजन गरेका ढकाल परिवारले फाउण्डेसनलाई ७५ हजार डलर आर्थिक सहयोग समेत गरेको छ । नेपाली भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्न र अमेरिकामा नै जन्मे हुर्केका बालबालिकाहरुलाई नेपालीपन सिकाउन पशुपति फाउण्डेसन जस्ता संस्थाहरूले निकै सघाउने े विश्वास राख्छन् ऋषि । अहिले पनि पशुपति फाउण्डेसनको भौतिक संरचना निर्माण र सहयोग सङ्कलन गर्न निरन्तर लागिरहेछन् ढकाल र उनको परिवार ।

नेपालमा समेत अस्पताल, शैक्षिक प्रतिष्ठानहरुमा लगानी गरेरहोस् वा आफ्नो गृह जिल्लामा हुने सामाजिक कामहरुमा आर्थिक भौतिक सहयोग गरेर होस् उनी हरदम सामाजिक कामसँग जोडिइरहन चाहन्छन् । ऋषी ढकाल एनआरएन अमेरिकाको सल्लाहकार रहेका छन् भने दर्जनौं संघसंस्थामा विभिन्न भूमिकामा संलग्न छन् । नेपाल अमेरिका च्याम्बर अफ कमर्शको संस्थापक महासचिव समेत रहेका छन उनी । आफू संलग्न सबै संस्थाहरुबाट नेपाली समुदायको अधिकतम हितमा कामगर्न सकियोस् भन्नेमा सधैँ सचेत ऋषि भ्याएसम्म नेपाली समुदायले आयोजना गर्ने सबैखाले कार्यक्रममा उपस्थिति जनाउछन् ।

नेपाल सरकारको तर्फबाट सानडियागो सहरका लागि अवैतनिक वाणिज्यदुतका हैसियतमा २०१३ मा नियुक्त ढकालले आफूलाई सानडियागो क्षेत्रमा मात्र सीमित राखेका छैनन् । सिंगै क्यालिफोर्निया र खासगरी लसएन्जलस क्षेत्रमा उनी निकै सकृय रहेका छन् । हालसालै मात्र अवैतनिक महावाणिज्यदुतमा पदन्नोति पाएका ऋषि नेपाली व्यापार प्रवर्धन, अमेरिकी सरकार र राज्य सरकारका स्थानीय प्रतिनिधीहरुसँग सम्बन्ध विस्तारको काममा लागि परेका छन् । वर्तमान अमेरिकी प्रशासनसंग समेत भन्सार छुटका बस्तुको दायरा बढाउन आफ्नो तर्फबाट निरन्तर लागि रहेका छन् ।

१२ बर्षको सिकाई

अमेरीकामा १२ बर्षका बसाईका क्रममा ऋषीको देखाइ र भोगाइबाट सिक्नुपर्ने कुराहरु धेरै छन् । सुरुका दुईबर्ष निकै हण्डर खाएका ऋषिले सिकेको सबभन्दा ठुलो कुरा भनेकै धैर्यता, लगातारको परिश्रम र मिहेनत हो । आफूमा भएको अनुभव र दक्षतालाई अमेरिकी परिवेश, कानुन र आवश्यकतानुसार आफूलाई परिवर्तन गर्न र सके सम्म यहींकै स्कुल, विश्वविद्यालयहरुबाट दिक्षित हुनसके नेपालीलाई निकै सजिलो हुने ऋषीको सबैलाई सुझाव छ । नेपाल छोडेर अमेरीका आएका युवा युवतीलाई डबल डी (एक डलर कमाउने, दोस्रो अमेरिकी डिग्री) को धारणा अबलम्बन गर्न अनुरोध गरेका छन् ।

ऋषी भन्छन् –‘पहिले अमेरिकी कानुन र आवश्यकता अनुसारको सीप सिक्नुस्, सकेसम्म छोटै भए पनि सर्टिफाइड तालिमहरु लिनुस् वा आफ्नै व्यवसाय सुरु गर्नुस् । अनिमात्र सबैले भन्ने सुन्ने गरेको ‘सपनाको देश’ अमेरिका आउनुको सार्थकता हुन्छ र तपाईँका ‘अमेरिकन ड्रिम’ यथार्थमा बदलिन सक्छ । हामीले सिकेको सीप र कमाइको प्रतिफल बृहत् नेपाली समुदाय र मातृभूमि नेपालले पनि पाउनु पर्छ । र त्यसको लागि ज्ञान, सीप र पुँजी मात्र होइन, धैर्यता, संयम, परिश्रम र लगनशीलता पनि उत्तिकै चाहिन्छ ।’

प्रस्तुत सामाग्री ढकालसँगको कुराकानी, खसोखासको स्वतन्त्र अध्ययन र बीआरटी नेपालमा प्रकाशित परदेशमा सफल नेपाली ‘राइजिङ्ग’ ऋषिमा आधारित छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com