न्युयोर्कका नेपाली अमेरिकन मतदातालाई उम्मेदबारका एजेण्डा बुझ्नै गाह्रो, मतपत्रका ४ प्रस्तावबारे पनि अनविज्ञ


प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार

अमेरिकामा नोभेम्बर ८ मा हुने मध्यावधी निर्वाचनमा संसद सदस्यका लागिमात्र होइन, राज्य र स्थानीय स्तरका विभिन्न पदहरुमा समेत निर्वाचन हुँदैछ । तर न्युयोर्कका नेपाली अमेरिकन मतदाताहरुलाई भने उम्मेदबार चिन्न र उम्मेदबारका एजेण्डाहरु बुझ्न नै गाहो भएको देखिएको छ ।

‘अत्यन्तै कममात्र उम्मेदबारहरुले मतदातासँग पहुच कायम गरिरहेका छन् । अधिकांश उम्मेदबारका एजेण्डाहरु मतदातालाई थाहा छैन । कैयन मतदाताहरु आफ्ना उम्मेदबार चिन्दैनन् ।’ –  न्युयोर्कको ज्याक्सनहाइटमा पारालिगल सेवा लुम्बिनी वर्ल्डवाइड इन्क संचालन गर्दै आएका नेपाली अमेरिकन मतदाता मनमोहन सिंह घिमिरे भन्छन् ।

उनी भन्छन् – ‘एकातिर उम्मेदबारहरुले पनि आफ्ना एजेण्डाहरु नेपाली अमेरिकन मतदातालाई बुझाउन त्यती वास्ता गरेको देखिन्न । अर्कोतिर नेपाली अमेरिकन मतदाताले उम्मेदबारका एजेण्डा बुझ्नका लागि खासै प्रयत्न गरेको पनि देखिन्न । साथै उम्मेदबारका एजेण्डा बुझ्नमा भाषाको समस्या पनि मुख्य समस्याका रुपमा रहेको छ ।’

परिवारका साथमा मनमोहन सिंह घिमिरे ।

नोभेम्बर ८ मा हुने चुनावमा न्युयोर्क सिटीका मतदाताहरुले न्युयोर्क राज्यका गभर्नर, राज्यका कम्पट्रोलर, एटोर्नी जनरल, अमेरिकी सिनेटर, प्रतिनिधिसभा सदस्य, राज्य सिनेटर, राज्यको एसेम्बली मेम्बर, न्यायायिक डिस्ट्रिक्टका सर्वोच्च अदालतका न्यायाधिसहरु, काउन्टीका सिभिल कोर्टका न्यायाधिसहरु लगायतका पदमा मतदान गर्नेछन् । तर कुन कुन पदमा मतदान गर्ने र उम्मेदबारहरु को को छन् भन्ने अधिकांश नेपाली अमेरिकन मतदातालाई थाहा नभएको मतदाताहरु बताउँछन् ।

न्युयोर्कमा झण्डै १० हजार नेपाली अमेरिकन मतदाताहरु रहेको विभिन्न तथ्यांकले देखाएको छ । तर ती मतदाताहरु गतबर्षको न्युयोर्क सिटीको चुनावमा मेयरमा मतदान गर्न र सन् २०२० को राष्ट्रपतिको चुनावमा मतदान गर्न जति उत्सुक देखिएका थिए, यसपटक त्यती उत्सुक देखिएका छैनन् ।

न्युयोर्कको ज्याक्सनहाइट निवासी लेखक तथा प्रोफेसर राजन थपलिया भन्छन् – ‘२०२० को राष्ट्रपति चुनाव र २०२१ को मेयर तथा सिटी काउन्सिलको चुनावमा जति यसपटकको चुनावमा नेपाली अमेरिकन मतदाताहरुमा त्यती उत्साह र सहभागिता देखिएको छैन । उम्मेदबारहरुले पनि नेपाली भाषामा आफ्ना एजेण्डाहरु नेपाली अमेरिकन मतदाता समक्ष राखेको देखिएको छैन ।’

‘डेमोक्रेटिक बाहुल्य रहेको क्षेत्र भएकाले र कतिपय उम्मेदबारहरु जित्नेमा ढुक्क भएकाले पनि मतदाताको वेवास्ता गरेका हुनसक्छन् । जसका कारण मतदाताहरुलाई मतदानस्थलसम्म पुगेर मतदान गर्नमा समेत निरुत्साहन गरेको छ ।’ –  थपलिया भन्छन् ।

उम्मेदबारहरु के गर्दैछन् ?

न्युयोर्क क्वीन्समा नेपाली अमेरिकन मतदाताहरुको बाहुल्य रहेको छ । उम्मेदबारहरु नेपाली समुदायका एकाध कार्यक्रममा पुग्ने गरेपनि आफ्ना एजेण्डाहरु बुझाउनमा भने त्यती सफल देखिएका छैनन् । न्युयोर्क राज्य संसदको सिनेट र एसेम्बली मेम्बरका केही उम्मेदबारहरुले नेपाली समुदायमाझ पहुचको प्रयास गरेका छन् ।

जेनिफर राजकुमार न्युयोर्कको डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्ने न्युयोर्क राज्य सभाकी सदस्य हुन् । उनले डिस्ट्रिक्ट ३८ लाई पुन प्रतिनिधित्व गर्नका लागि नोभेम्बर ८ मा हुने चुनावमा लड्दैछिन् । डिस्ट्रिक्ट ३८ मा ग्लेन्डेल, ओजोन पार्क, रिचमन्ड हिल, रिजवुड, र वुडहेभनका भागहरु पर्छन् । न्युयोर्कको नेपाली अमेरिकन समुदायमाझ लोकप्रिय उनले दिपावलीलाई सार्वजनिक विद्यालय विदा मनाउने बिलको स्पोन्सर गरेका कारण उनको चर्चा अझ चुलिन पुग्यो ।

जेनिफर राजकुमार

न्युयोर्कमा नेपाली अमेरिकन हेरिटेज डे र माउन्ट एभरेष्ट डे मनाउने प्रस्तावहरु राज्य संसदबाट पारित गराएका कारण उनी न्युयोर्कका नेपाली समुदायमाझ थप परिचित र लोकप्रिय बन्न पुगेकी छिन् । नेपाली समुदायका कार्यक्रमहरुमा पनि उनको बाक्लो उपस्थीति देखिदै आएको छ । उनले सन् २०२१ देखि राज्य संसदमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी छिन् ।

त्यस्तै न्युयोर्कको डिस्ट्रिक्ट १४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबार अलेक्जान्ड्रिया ओकासियो कोर्टेज पनि न्युयोर्कको नेपाली समुदायमाझ परिचित नाम हो । ३३ बर्षकी यी प्रगतिशिल उम्मेदबारले सन् २०१९ देखि संसदमा यो क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी छिन् । यो डिस्ट्रिक्टमा ब्रोंक्सको पूर्वी भाग र उत्तर–मध्य क्वीन्सको भाग रहेको छ भने झण्डै १७ प्रतिशत एसियनहरु रहेका छन् । क्वीन्सको भागमा कलेज पोइन्ट, कोरोना, इस्ट एल्महस्र्ट, एल्महस्ट, ज्याक्सन हाइट्स, र उडसाइडका भागहरु समावेश छन्, जहाँ नेपाली समुदायको बाक्लो बसोबास रहेको छ ।

अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले अमेरिकाको सबैभन्दा ठूलो नेपाली डायस्पोरा समुदायको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्ने उनको कार्यालयले खसोखासलाई बताएको छ । यसबर्ष २ मिलियन डलरको पहिलो दक्षिण एसियाली समुदाय स्पेस सिर्जना गर्न कोर्टेजले भूमिका खेलेकी थिइन् । छाया सीडीसीबाट सञ्चालित यो स्पेसले अध्यागमन कानुनी सहायता, आवास परामर्श, र बेरोजगारी बीमा जस्ता सुविधाहरूमा पहुँच प्रदान गर्नेछ ।

सबैकुरा नेपाली अनुवाद र व्याख्या मार्फत पहुँचयोग्य बनाइएको अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजको कार्यालयले बताएको छ । उनले यस उपलब्धिको बारेमा उनको कार्यालयले यही महिना जारी गरेको भिडियोमा समेत बताएकी छिन् । भिडियोमा उनले नेपाली समुदायको मन जित्न केही लाइन नेपाली भाषामा समेत बोलेकी छिन् ।

अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज

नेपाली साना व्यवसायहरू सफल भएको देख्नु पाउनु अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजका लागि महत्वपूर्ण रहेको उनको कार्यालयले बताएको छ । उनले ज्याक्सनहाइट रहेको नेपाली रेष्टुरेण्ट भान्सा घरमा गएर उनीहरूको चिन्ता सुन्नेदेखि ज्याक्सनहाइटमा नै रहेको गोर्खाली रेष्टुरेण्टको ढोका खुला राख्न मद्दतको लागि समर्थनको लागि आह्वान गर्नेसम्मका काम गरिन् । उनले छिमेकीहरूलाई फस्टाउन मद्दत गर्न काम गरिरहेको उनको कार्यालय बताउँछ ।

त्यस्तै जेसिका रामोस न्युयोर्क राज्यको सिनेटको डिस्ट्रिक्ट १३ बाट उम्मेदबारी दिएकी छिन् । सन् २०१९ देखि न्युयोर्क राज्य सिनेटमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी उनी नेपाली समुदायमाझ परिचित छिन् । उनको डिस्ट्रिक्टमा १८ प्रतिशत एसियनहरु रहेका छन् । यो डिस्ट्रिक्टमा न्युयोर्कको क्वीन्सको ज्याक्सन हाइट्स, कोरोना, एल्महस्र्ट, इस्ट एल्महस्र्ट, एस्टोरिया, उडासाइड लगायतका क्षेत्रका भागहरु पर्छन् । धेरैजसो इस्ट एल्महस्र्ट ठूलो भाग प्रतिनिधित्व गरेपनि जेसिका रामोस नेपाली समुदायका कार्यक्रमहरुमा पुग्ने गर्छिन् ।

जेसिका रामोस

न्युयोर्कमा बर्षा र बाढीका कारण १९ महिनाका बालकसहित तीनजना नेपालीहरुको मृत्यु भएको बार्षिकीमा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा गरिएको दीप प्रज्वलनमा पनि उनी गत महिना सहभागी भएकी थिइन् । त्यहाँ उनले आफ्ना चुनावी एजेण्डाहरुबारे मन्तव्य दिएकी थिइन् । साथै उनले न्युयोर्कमा रहेका अबैध बेसमेन्टहरुलाई बैध बनाउनुपर्ने र भाडामा बस्नेहरुलाई सोही अनुशार सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी थिइन् । न्युयोर्कमा हरिकेन आइदाका कारण गतबर्ष बेसमेन्टमा बस्दै आएका ११ जनाको मृत्यु भएको थियो, जसमा ३ जना एकैपरिवारका नेपाली थिए ।

त्यस्तै अमेरिकी संसदको प्रतिनिधिसभामा न्युयोर्कको ६ औं डिस्ट्रिक्टबाट सन् २०१३ देखि प्रतिनिधित्व गर्दै आएकी ग्रेस मिंग यसपटकपनि चुनावमा उठ्दैछिन् । उनको डिस्ट्रिक्टमा झण्डै ४० प्रतिशत एसियनहरु रहेका छन् ।

उनी पनि नेपाली समुदायमाझ परिचित उम्मेदबार हुन् भने बेलाबेलामा नेपाली समुदायका कार्यक्रममा देखा पर्दै आएकी छिन् । यस डिस्ट्रिक्टमा क्वीन्सका औबरन्डेल, बेसाइड, एल्महस्र्ट, फ्लशिंग, फरेस्ट हिल्स, ग्लेन्डेल, किउ गार्डन, मास्पेथ, मिडल भिलेज, मुरे हिल, र रेगो पार्क लगायतका क्षेत्र पर्छन् । अब यो डिस्ट्रिक्टमा ज्याक्सन हाइट्स र अस्टोरियाका भागहरु पनि समावेश गरिएको छ, जुन यसभन्दा अगाडि डिस्ट्रिक्ट १४ का भागहरु थिए ।

न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित नेपाली अमेरिकन म्युजिक फेस्टिभलमा स्टेभन रागा ।

त्यस्तै न्युयोर्क स्टेट एसेम्बलीमा डिस्ट्रिक्ट ३० बाट उम्मेदबार स्टेभन रागा पनि नेपाली समुदायमाझ केहीहदसम्म परिचित छन् । २५ प्रतिशत एसियनहरु बसोबास गर्ने यस डिस्ट्रिक्टमा उडसाइड, मास्पेथ, एस्टोरिया, मिडल भिलेज, एल्महस्र्ट, सन्नीसाइड लगायतका क्षेत्रहरु पर्छन् । उनी पनि न्युयोर्कमा बर्षा र बाढीका कारण १९ महिनाका बालकसहित तीनजना नेपालीहरुको मृत्यु भएको बार्षिकीमा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा गरिएको दीप प्रज्वलनमा गत महिना देखिएका थिए ।

मतपत्रमा ४ प्रस्तावमा जनमतसंग्रह

यसपटकको चुनावमा न्युयोर्क सिटीका मतदाताहरुका मतपत्रमा उम्मेदबारमात्र नभएर विभिन्न प्रस्तावहरु पनि रहेका छन् । यसबारे पनि अत्यन्तै कममात्र नेपाली अमेरिकन मतदाताहरुलाई थाहा छ ।

चार प्रस्तावमध्ये एउटा राज्यव्यापी प्रस्ताव हो, जसमा भविश्वमा वातावरण सम्बन्धि परियोजनामा खर्च बढाउने प्रस्ताव रहेको छ । तीनवटा प्रस्ताव न्युयोर्क सिटीसँग सम्बन्धित छन्, जसमा जातीय इक्विटी कार्यालय गठन गर्ने, सरकारको लागि मानक कथन सिर्जना गर्ने र जीवनयापन खर्च गणनाबारे परिभाषित गर्ने रहेका छन् । यदि पारित भएमा यी चारवटै प्रस्ताव तुरुन्तै कार्यान्वयनमा आउनेछन् ।

सन् १९८५ यता मतपत्रमा राखिएका यस्ता ५५ प्रस्तावमध्ये ३९ प्रस्तावहरु पारित भएका छन् । त्यसैले यसपटकका प्रस्तावहरु पारित हुने नहुने निश्चित भने छैन । एउटा प्रस्तावले न्यूयोर्क राज्यलाई विशेष वातावरण सम्बन्धी परियोजनाहरू र नीति प्रयासहरूको लागि बन्ड जारी गरेर ४ दशमलव २ बिलियन डलर ऋण लिन अनुमति दिनेछ । जसमा पानी प्रणाली सुधार गर्न २५० मिलियन, फोहोर पानी पूर्वाधारको लागि २०० मिलियन, शून्य उत्सर्जन स्कूल बसहरूको लागि ५०० मिलियन र सिमसार संरक्षण र नवीकरणीय ऊर्जा परियोजनाहरू जस्ता जलवायु न्यूनीकरणका लागि १ दशमलव ५ बिलियन समावेश छ ।

त्यस्तै अर्को प्रस्तावमा न्युयोर्क सिटीको चार्टरमा प्रस्तावना थपेर न्यूयोर्कको सरकारको लागि एक प्रकारको मिशन स्टेटमेन्ट सिर्जना गर्ने विषय समावेश छ । जसमा मूल्यमान्यता र दृष्टिकोणको कथन समावेश छ । जसको उद्देश्य सबैका लागि न्यायपूर्ण र समानुपातिक शहर बनाउनु हो ।

अर्को प्रस्तावले न्युयोर्क सिटीको चार्टरमा तीनवटा नयाँ आवश्यकताहरू थप्नेछ । सबै सहर एजेन्सीहरूले प्रत्येक दुई वर्षमा जातीय इक्विटी योजनाहरू सिर्जना गर्ने, सिटी सरकारमा जातीय समानता योजनालाई समन्वय गर्न जातीय इक्विटीको नयाँ कार्यालय स्थापना गर्ने र जातीय समानतामा आयोग गठन गर्ने विषय यो प्रस्तावमा समावेश छन् । त्यो आयोगले जातीय इक्विटी योजनाको लागि प्राथमिकताहरू पहिचान र प्रस्ताव गर्नेछ भने प्रत्येक सिटी एजेन्सीको लागि जातीय इक्विटी योजनाहरूको समीक्षा गर्नेछ ।

अर्को प्रस्तावमा सिटीसरकारले कुनै व्यक्ति वा घरपरिवारले प्राप्त गर्न सक्ने सार्वजनिक, निजी वा अनौपचारिक सहायतालाई ध्यानमा नलिई सहरमा जीवनयापनको वास्तविक लाग गणना गर्न नयाँ विधि प्रयोग गर्न आदेश दिनेछ । अहिलेको गरिबी मापदण्ड गर्ने तरिका न्युयोर्क सिटीको आवश्यकता वा नीतिगत निर्णयहरूका लागि सही नभएको निष्कर्षका साथ यो प्रस्ताव ल्याइएको हो । दशकौं अघि विकसित गरिएको संघीय गरिबी मापनले क्षेत्रीय लागतहरूलाई ध्यान दिदैन । त्यसैले न्यूयोर्क सिटीले गरिबी मापनको आफ्नौ उपाय बनाएको छ । तर यसले अझै पनि सार्वजनिक सहायतालाई आयको रूपमा गणना गर्ने भएकाले नयाँ विधि ल्याउन खोजिएको हो ।

कभरमा २ मिलियन डलरको पहिलो दक्षिण एसियाली समुदाय स्पेस सिर्जना गर्ने उपलब्धीका लागि अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजको कार्यालयले जारी गरेको भिडियोको स्क्रीनशट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com