नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले यसरी मनाए कुकुर तिहार


प्रकाशित मिति : कार्तिक ६, २०७९ आईतबार

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन र उनको परिवारले पनि कुकुर तिहार मनाएको छ । उनीहरु कुकुर तिहारको उत्सवमा सामेल भएको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ ।

उनीहरुले पारिवारिक कुकुर बोगीलाई कुकुर तिहारको अवसरमा मीठा परिकार र माला लगाइदिएका छन् । राजदूत थम्प्सन, उनकी पत्नी जेन र पारिवारिक कुकुर बोगी अक्टोबरको दोश्रो साता नेपाल आएका हुन् ।

थम्प्सनले यसैसातादेखि नेपालका लागि अमेरिकी राजदूतका रुपमा कार्यभार सम्हालेका छन् । नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको थम्प्सनले एक वक्तब्यमार्फत बताएका थिए ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुपमा काम गरेका थिए ।

त्यसअघि थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।

मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। उनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।

सबै तस्वीर:  अमेरिकी दूतावास काठमाडौं

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com