पहाडी सडकमा हिलो, पहिरो र भलले सास्ती


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४

पहाडी क्षेत्रमा गुड्ने सवारी चालकलाई आकाशमा बादल मडारिन थालेपछि नै चिन्ता सुरु हुन्छ । सामान्य वर्षा हुँदासमेत सडक हिलाम्य हुने र रातोमाटोमा चिप्लने समस्याले वर्षाभरि गाडी थन्क्याउनुपर्ने बाध्यता छ । यस्ता सडक मर्मतका लागि चौबीसै घण्टा डोजर तम्तयार राखे पनि कहीं पहिरो, कहीं हिलो र कतै भलले अवरोध गरिरहेको हुन्छ । लेकबेंसी यातायात समिति अध्यक्ष युवराज बस्यालका अनुसार वर्षामा बाटाको अवस्था जीर्ण हुने हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको हो ।
जसोतसो जोखिम मोलेर केही जिप चलाए पनि अधिकांश सवारी ठप्प हुँदा यातायात व्यवसायी मारमा परेका छन् । गाडी नचल्दा पहाडी भेगका यात्रु हिंडेरै कावासोती, दलदलेदेखि एक दिन लगाएर गाउँ पुग्नुपर्छ । बजार आउँदा रित्तै भए पनि फर्कंदा भारी बोकेर हिंड्नुपर्ने बाध्यता छ । साँघुरो बाटाका कारण यात्रामा निकै कठिनाइ भोग्नु पर्दा समेत स्तरोन्नतिमा ध्यान नदिँदा समस्या भएको अर्खलाका बमबहादुर आलेले बताए । जिल्ला ट्राफ्रिक प्रहरी नवलपरासीका अनुसार गैंडाकोट–रामपुर, भेडाबारी–बसेनी, दलदले–कोटथर, केउरेनी–बन्दीपुर, रजहर–बाहकोल, कावासोती–अर्खला हँुदै पाल्पा रामपुर, कावासोती–रकुवाका सडक जीर्ण बनेका छन् । यसैगरी चोरमारा–रुचाङ, अरुणखोला–राकाचुलीसहित दुम्कीबास, बर्दघाट, सुनवलबाट उत्तरी पहाडी गाविस र दक्षिणका भित्री सडकसमेत वर्षाका बेला हिलाम्मे हुने गर्छन् ।
हरेक वर्ष मर्मतका नाममा आएको रकम एकमुष्ठ खर्च गर्ने हो भने पक्की सडक बन्ने रकम आइसके पनि तत्कालको समस्या भन्दै पहिरो हटाउने काम मात्र गरेर हिउँदमा वास्ता नगर्नाले बर्सेनि सडकको अवस्था जीर्ण बन्दै गएको छ । १२/१३ वर्ष पहिले निर्माण भएका ती सडकको अवस्था अझै उस्तै छ । साँघुरो र अप्ठ्यारो बाटोको स्तरोन्नति हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीयले गुनासो गरेका छन् । हिउँदमा सामान्य मर्मत गरेको कच्ची बाटो वर्षामा पहिरो र पानीले बगाएपछि ३ महिना यातायात बन्द हुन्छ । हिउँदमा पुन: टालटुल गरेर चलाउने परिपाटीले हरेक वर्ष मर्मतमा लाखौं रुपैयाँ खर्च भए पनि बाटो कच्ची र खाल्टाखुल्टी हुँदा सवारी सञ्चालनमा कठिनाइ भएको छ । सडक कार्यालयले दीर्घकालीन रूपमा नसोचेर बर्सेनि मर्मतका नाममा रकम निकासा गर्ने प्रचलनले यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।
जिल्ला समन्वय समिति, डिभिजन सडक कार्यालय बुटवललगायतबाट बेलाबखतमा हुने सडक मर्मतसम्भार दिगो छैन । वर्षाको समयमा जिल्लाको पहाडी गाविसवासीले सडक सञ्जालबाट टाढा रहनुपर्ने बाध्यता छ । दलदलेदेखि राईकोटसम्म ७१ किलोमिटर कच्ची सडक १२ वषर्अघि जस्तो थियो, अहिले पनि उस्तै छ ।
कालीगण्डकी करिडोरअन्तर्गतको गैंडाकोटदेखि राईकोटसम्म ९० किमि कच्ची सडक पछिल्लो समय स्तरोन्नति कार्य अगाडि बढे पनि पूरा भएको छैन । पहाडी गाविसहरूमा बढेको जनघनत्व र सवारी चाप थेग्न सक्ने अवस्थामा अहिलेको बाटो छैन । गाउँपालिका र नगरपालिका भएपछि अब भने
पहाडी जीर्ण सडक मर्मत भएर वर्षामा समेत निर्बाध सवारी चढेर बजार जान पाउने स्थानीयले आशा
गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com