बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित


प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन÷तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका दुई सय २१ जना, जुम्लामा एक सय ८७ घरपरिवारका एक हजार एक सय ६६ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

असोज १९ गतेदेखि २३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले बगर बनाएको तिला गाउँपालिका -४, जुम्लाको साँपुल्ली गाउँस्थित धानखेती । तस्वीर: शुरबहादुर सिंह/रासस

कालीकोटमा एक सय ६७ घर परिवारका एक हजार दुई सय ६९ जना, हुम्लाका ४५ घरपरिवारका एक सय ८१ जना विस्थापित भएको उहाँको भनाइ छ । डोल्पामा चार घरपरिवार विस्थापित भएका छन् । प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ । राहत र उद्धारका लागि एक हजार नौ सय ३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिनुभयो । प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com