बाढीको भविष्यवाणी अब ३ दिनअघि नै


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- जल तथा मौसम विज्ञान विभागले ठूला नदीमा तीन दिनसम्म बाढी कति आउनेछ भन्ने भविष्यवाणी सुरु गरेको छ । विभागले कर्णाली, बबई र नारायणी नदीमा यसका लागि कम्प्युटर प्रणाली जडान गरेको हो ।

‘तीन दिन पर्ने वर्षाले नदीमा कति पानी बग्नेछ भनेर कम्प्युटरबाटै यकिन गर्न सकिनेछ,’ विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बिहीबार कान्तिपुरसित भने, ‘यसले सम्भावित क्षति घटाउन सहयोग पुग्ने अपेक्षा छ ।’ विभागले ३० वर्षसम्मको वर्षाको तथ्यांक उक्त प्रणालीमा पहिल्यै सेट गरेको छ । ‘पहिला कति पानी परेको थियो र अहिले कति बढी पर्‍यो वा परेन भनेर मापन गरिन्छ,’ उनले भने, ‘त्यही तथ्यांक विश्लेषण गरी पत्ता लगाउन सकिन्छ ।’

यसमा थाइल्यान्डस्थित रिजनल इन्ट्रिगेटेड मल्टिहजार्ड अर्ली वार्निङ सिस्टम फर अफ्रिका एन्ड एसिया (आरआईएमईएस) ले सहयोग गरेको छ । यस किसिमको भविष्यवाणी सुरु गरे पनि सर्वसाधारणका लागि अझै सार्वजनिक नगरिएको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताए । ‘परीक्षणकै क्रममा छौं,’ उनले भने, ‘यसको प्रभावकारिता राम्रै छ, छिट्टै सर्वसाधारणलाई पनि प्रवाह गर्नेछौं ।’ सप्तकोसी र पश्चिम राप्तीमा पनि यस्तै प्रणाली विकास गर्ने काम अन्तिम चरणमा पुगेको शर्माले जनाए । विगतमा ठूला नदीमा बाढीको भविष्यवाणी गर्न नसक्दा ठूलो मात्रामा जनधनको क्षति भएको छ । बेलैमा थाहा नपाएर सुरक्षित स्थानतर्फ भाग्न नसक्दा सर्वसाधारणले ज्यान गुमाउनुपरेको थियो ।

विभागले ७ नदी जलाधारका ७६ स्थानको वर्षाको स्वचालित अनुगमन गरिरहेको छ । त्यसका लागि विभागको नक्सालस्थित कार्यालयमा २४ सै घण्टा विज्ञहरू खटिएका छन् । नदीतटीय क्षेत्रका विभिन्न स्थानमा जडान गरिएका सेन्सरले स्वचालित रूपमा जल सतहको मापन गरी तथ्यांक संकलन गर्छ र टेलिमेट्रीमार्फत तुरुन्तै विभागको डाटाबेस सर्बरमा पठाउँछ ।

उक्त तथ्यांक विश्लेषणबाट निश्चित स्थान/क्षेत्रमा हुन सक्ने बाढीजन्य जोखिमको पूर्वानुमान गरी समयमै सावधानी अपाउन सहयोग पुग्ने जानकारहरूको भनाइ छ । मुख्यत: वर्षा र बाढी अवलोकन गरी पूर्वसूचना प्रवाह गर्न महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी, वाग्मती, कोसी र कन्काई नदी जलाधारहरूमा स्वचालित जल तथा मौसमी उपकरण जडान भइसकेका छन् ।

‘स्वचालित जल तथा मौसमी उपकरणका रियल टाइम डाटाले तल्लो तटीय क्षेत्रका जनमानसमा सूचना पुर्‍याउन सकिएको छ,’ बाढी पूर्वानुमानविज्ञ विनोद पराजुलीले भने, ‘जसले गर्दा सम्भावित धनजनको क्षति घटाउन सहयोग पुग्नेछ ।’
शाखाले नदी जलाधारमा पानीको सतहले खतराको तह पार गर्नेबित्तिकै आफ्नो वेबसाइट हाइड्रोलोजी डट जीओभी डट एनपीमा समेत साइरनसहित डाटा अपडेट गरेको छ । यस्तै, नदीमा खतराको तह पार गर्नेबित्तिकै गृह मन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रमा समेत सूचना दिने गरेको छ ।

उक्त सूचनालाई मन्त्रालयले तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत त्यस्ता ठाउँमा विपद् व्यवस्थापन तयारीका लागि सम्बन्धित निकायलाई सूचित गर्ने गरेको छ । गृहको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्णबहादुर राउतले बाढी पूर्वानुमान शाखाले दिने बाढीको भविष्यवाणीसम्बन्धी सूचना प्रवाहले जनधनको क्षतिमा न्यूनीकरण गर्न सहयोग पुगेको अनुभव सुनाए । ‘पश्चिम कर्णाली र कुसुममा जलसतह मापन गर्ने सिस्टम जडानपछि उक्त क्षेत्रमा मानवीय क्षति रोकिएको छ,’ उनले भने, ‘जसका कारण गत वर्ष बाँके र बर्दियामा जनधनको क्षति भएन ।’
बाढी आउनुभन्दा ५ घण्टाअघि नै तल्लो तटीय क्षेत्रका समुदाय र सर्वसाधारणमा सम्भावित बाढीको सन्देश दिन सकिने भएकाले उक्त प्रणाली प्रभावकारी देखिएको हाइड्रोलोजिस्ट पराजुलीले बताए । ‘पहिले नै जानकारी दिन सकियो भने सर्वसाधारण सुरक्षित स्थानमा जान सक्छन्,’ उनले भने, ‘जसले गर्दा मानवीय क्षति रोकिन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com