लाइसेन्सका लागि सडक परीक्षा अनिवार्य


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

  • – चारै नाकामा वासिङ सेन्टर
  • – प्रदूषण जाँच परीक्षण सेन्टर पनि सँगै राखिने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा (ट्रायल) मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ । यदि सडकमा गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाइसेन्सका लागि अयोग्य मानिनेछ । लेन अनुशासन, ट्राफिक बत्ती, सिट बेल्टलगायत आधारभूत नियममा लापरबाही गरे लाइसेन्स पाइने छैन ।
सरकारले सडक परीक्षा उत्तीर्ण नभए लाइसेन्स नदिने नियम लागू गर्ने तयारी गरेको उपत्यका ट्राफिक महाशाखाका डीआईजी मिङमार लामाले जानकारी दिए । दुर्घटना बढदै गएको भन्दै उनले अझ दक्ष र सिपालु चालक बनाउन यस्तो नियम लागू गर्न थालिएको बताए । ‘अन्तर्राष्ट्रिय चलनअनुसार सडक परीक्षा लिनुपर्नेछ हुन्छ यो कुनै नयाँ होइन, हामीले पहिलोपटक लागू गर्न लागेका हौं,’ उनले भने, ‘१५ दिनभित्र नियम लागू गर्छौं ।’ मोटरसाइकललगायत चारपांग्रेको लाइसेन्स लिनुअघि चालकले सडक परीक्षा उत्तीर्ण गर्नुपर्ने उनले बताए ।
उपत्यका चारै नाकामा सवारीसाधन सरसफाइ (वासिङ सेन्टर) को निर्माण गरिने पनि उनले जानकारी दिए । फोहोर गाडीलाई सेन्टरमा सफाइ गरेर मात्र उपत्यका प्रवेशको अनुमति दिइने उनले बताए । नागढुंगा, जगाते, मुडखु र फर्पिङमा गाडी प्रदूषण परीक्षण र सरसफाइ सेन्टर बनाइनेछ । उपत्यकामा बढदै गएको प्रदूषण र धूलो–धूवाँ नियन्त्रण गर्न सेन्टर निर्माण गरिने उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको ‘काठमाडौं दिगो सहरी योजना’ ले उपत्यकाका संवेदनशील स्थानमा सीसीटिभी राख्ने भएको छ । त्यसका लागि एसियाली विकास बैंक (एडीबी) ले २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको डीआईजी लामाले बताए । साथै, उपत्यकाका ३५० भन्दा बढी स्थानमा यात्रीका लागि सूचना बोर्ड राखिनेछ । जसमा एक स्थानबाट अर्को स्थानमा पुग्न गाडी भाडादर, यात्रुले जानुपर्ने स्थानबारे सबै विवरण राखिनेछ । ‘स्मार्ट स्ट्रिट साइनबोर्ड’ नाम दिइएका ती बोर्डमा सोलार प्यानल जडान गरिनेछन् । उपत्यका ट्राफिक महाशाखाले काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागसँग समन्वय गरी कार्यान्वयन गर्न लागिएको उनले बताए । साथै उपत्यका ५ स्थानमा आकाशे पुल निर्माणका लागि महानगरसँग छलफल भइरहेको उनले बताए । उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधनलाई चक्रपथमा पार्किङ निषेध गरिएको छ ।
‘सिधै नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाउनेछन्,’ उनले भने, ‘चक्रपथमा ट्राफिक जाम घटाउन यस्तो निषेध गर्नैपर्ने हुन्छ ।’ साथै मालवाहक ट्रकलाई निश्चित स्थान मात्र पार्किङ गर्न दिइनेछ । त्यसका लागि बालाजु र कीर्तिपुरमा स्थान खोज्ने कार्य भइरहेको उनले बताए । विभाग प्रवक्ता टोकराज पाण्डेले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन केही नियम परिवर्तन गरिएको बताए ।
एकतर्फी रूपमा सवारीसाधन चलाउन पाउने सडक 
मैतिदेवी चोकबाट मन्दिरतर्फ जान नपाइने
खिचापोखरीबाट एभरेस्ट बैंकतर्फ जान नपाइने
पाटन चापागाउँ मोडबाट आउन मात्र पाउने/सातदोबाटोतर्फ जान नपाइने
महाराजगन्जस्थित २ नम्बर गण जाने बाटोबाट गह्रौं सवारीसाधनमा निषेध
गहनापोखरीबाट आउन नपाइने
बाटुलेघरबाट चारखालतर्फ जान नपाइने

दायाँतर्फ सवारी मोड्न निषेध गरेका स्थान
त्रिपुरेश्वरदेखि कालीमाटी सडक : कनक पेट्रोल पम्प, नयाँ बाटो
माइतीघरदेखि कृष्ण पाउरोटी सडक : कुमारी मोड, शंकरदेव मोड
पुरानो बानेश्वर सडक : नयाँ बानेश्वर आएर भीमसेनगोला मोड्न नपाइने
कान्तिपपथ, ज्याठा ठमेल, कानदेवतास्थान, हनुमानस्थान, इनार मोड, साझा, बल्खुडोल, दमकल मोड, छाते गणेश, न्युरोड पीपलबोट, संकटामोड, बाँसघारी, कुमारी मन्दिर, ज्ञानेश्वर ओरालो, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, एयरपोर्टबाट आएको गाडी सिनमंगल घुम्नुपर्ने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com