बाढीपीडित भोकै


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

असार १९, २०७४- रूपनी गाउँपालिका–२ पौवाटोलका अधिकांश घरमा शनिबार दिउँसोदेखी खाना पाकेको छैन । खाडोखोलाको बाढी गाउँ पसेर खाद्यान्न बगाइदिएको छ । घरभित्रै भल पसेर बसिसाध्य छैन । केही परिवारले आफन्तले ल्याइदिएको खानाले बालबालिकाको भोक मेटाएका छन् भने केही परिवार भोकभोकै छन् ।
शनिबार पसेको बाढीले पौवाटोलका अढाई सय घर डुबेका थिए । पानी पर्न रोकिएपछि पानीको सतह घटे पनि माटोको भुइँ हिलाम्मे रहेकाले भित्र बस्न सकिने अवस्था छैन । त्यसमाथि खाद्यान्न सबै बगेकाले खाना बनाउन नसकेको सुनरीदेवी खंगले बताइन् । उनले भने, ‘शनिबारदेखि भोकै छु, चामल सबै बाढीले बगायो । न खाद्यान्न छ न त दाउरा, कसरी बनाउनु खाना ?’ उनको ६ जनाको परिवार बिचल्ली परेको छ ।
सात जनाको परिवार रहेको ललितादेवी मण्डलको अवस्था पनि उस्तै छ । ‘मिस्त्री काम गर्ने श्रीमान्ले कमाएको पैसाबाट एक ड्रम चामल किनेर राखेको थिए, बाढीले सबै बगायो, अब ७ जनाको परिवार के ले पाल्नु’ उनले भनिन्, ‘सुकुम्बासी छँदै थियांै, अब भोकै बस्न बाध्य भइयो ।’
चार फिटसम्म पानी पसेकाले अन्नपात, लताकपडा र बुहुमूल्य सरसामान बगेको मुनिलाल मण्डलले बताए । ‘बहाव तेज भएकाले केही जोगाउन सकिएन,’ खाली बाकस देखाउँदै उनले भने, ‘परिवारको सारा सम्पत्ति यसमै थियो, सबै बाढीले बगायो, हामी घर न घाटका भयौं ।’ मुनिलालका २ वटा घर कामै नलाग्ने गरी भत्केका छन् । पौवाटोलका डुम समुदायका घुरन मरिकको पनि बिजोग छ । घुरनको छानै बगेको छ । आइतबार दिउँसो उनी खुला आकाशमुनि खाना पकाउने प्रयास गर्दै थिए । तर, चुलोमा आगै टिपेन । ‘चुलो, दाउरा सबै भिजेका छन्,’ उनले भने, ‘कसरी पकाउनु खाना ?’
शनिबार बिहान खाडो, महुली, सुन्दरी, जतालगायत खोलामा आएको बाढीले डुबानमा परेका मयनाकरहेडी, त्रिकौल, मधवापुर, तिलाठी, सकरपुरा, मलेठ, रायपुर, रघुनाथपुरका अधिकांश बासिन्दालाई खाना जुटाउनै समस्या छ । बालबालिका र वृद्धवृद्धाको बिजोग छ । चौपाया अलपत्र छन् । ‘घरमा खाद्यान्न भए पो खाना बनाउनु ?’ तिलाठीका त्रिलोकीनाथ मिश्रले भने, ‘खाद्यान्न बाढीले बगाइसक्यो, भान्सा र आँगनमा हिलैहिलो छ ।’ फेरि पनि कतिबेला वर्षा होला र घर छाडेर भाग्नुपर्ला भनेर उनीहरू त्रस्त छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समिति संयोजकसमेत रहेका प्रजिअ कृष्णबहादुर कटुवालले शनिबार मलेठ र मयनाकरेडीका ५ सय ५० परिवारलाई मुरै र चिउरा वितरण गरिएको बताए । उनले बाढीका कारण अति प्रभावित भएका र २ छाक खानै समस्या भएका परिवार पहिचान गरी तात्कालिक राहत व्यवस्था मिलाइने जानकारी दिए । नेपाली सेनाले पीडितको घर पुनर्निर्माणमा सघाउने तयारी गरेको छ । राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गणले आइतबार मलेठ र रायपुरको पौवाटोलमा भत्केका घरको लगत संकलन गरेको छ । गणका गणपति प्रमुख सेनानी डम्बरबहादुर बोहराले घर निर्माणमा स्थानीय स्रोत साधन परिचालन गर्दै नेपाली सेनाले पुनर्निर्माण र मर्मतमा श्रम खर्चने जनाए । उनले सोमबार बिहानैबाट घर मर्मतमा जुट्ने बताए ।
‘स्थायी समाधान देऊ’
बाढीपीडितले तात्कालिक राहतभन्दा पनि बाढी समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । तिलाठीका युवा बिटु मिश्रले भने, ‘हामी वर्षौंदेखि डुबान भोग्दै आएका छौं, वर्षभरि कमाउँछौं अनि घर जोड्छौं वर्षामा बाढीले सबै बगाइदिन्छ । हामीलाई राहत होइन, स्थायी समाधान चाहिएको छ ।’
तिलाठीका अधिकांश बाढीपीडितले राहतभन्दा पनि बाँध निर्माण हुनुपर्नेमा जोड दिएका छन् । ‘हामीलाई कसैले सहयोग गर्न चाहन्छ भने बाँध निर्माणका लागि दबाब सिर्जना गरिदिनुस्’ तिलाठीका अर्का युवा ज्योतिष झाले भने, ‘अहिले राहत लियो फेरि उस्तै दिन आइहाल्छ ।’
वर्षौंदेखि तिलाठीमा खाडोखोलाका कारण बस्ती डुबानमा पर्दै आए पनि बाँध बनाइएको छैन । कुनै बेला राज्यले आवश्यक बजेट नछुट्टयाउने त कहिले नम्बरी जग्गामा बाँध बनाउन नदिने अडान लिँदा समस्या थपिएको थपियै छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com