अमेरिका, जहाँ प्रहरीको गोलीबाटै हजारौं मारिन्छन् : किन चल्छ गोली ?


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

-अमित अभय अधिकारी

विश्वको शक्तिशाली देश अमेरिकाको शान्ति सुरक्षा अनि चुस्ततामा खासै कुनै शका छैन । विश्वमा नै दवदवा बनाएर बसेको देश हजारौंको सपनाको देश हो । आर्थिक रुपमा अत्यन्त सम्पन्न तथा बलियो प्रशासनिक शासन अमेरिकाको सफलताको शुत्र हो भन्दा फरक नपर्ला । यस्तो देशको समाज पनि निकै नै सभ्य र भव्य नै छ । नियम कानुन अत्यन्त बलिया अनि बाध्यात्मक छन् जसले जोकोहीलाई पनि अनुशासित र कानुनको दायरामा बाधेर राख्न बाध्य बनाउछ । राष्ट्रपति पििरवर्तन हुन् तर देशको प्रशासनिक नियम अनि निती उस्तै रहन्छ । केही अवस्थामा बाहेक अन्य अवस्थामा देशमा विरोधका आवाज कमै सुनिन्छन् ।

यसरी वर्णन गर्दा कामको इज्जत अनि सम्मान हुने देश, नागरिकले तिरेको करको पूर्ण सदुपयोग हुने देश, विकास अनि परिवर्तनलाई रातारात आत्मसाथ गर्ने देशमा केही समस्या यसरी जकडिएको छ जसलाई रोक्न हरेक राष्ट्रपतिले प्रयास त गर्छन् तर सफल भने हुन सकेका छैनन् त्यसै मध्येको एक हो, प्रहरीको गोलीबाट हुने मृत्यु ।

हो सुन्दा अचम्म लाग्छ अझ नेपाल जस्तो देशका हामीलाई त निकै अचम्म, प्रहरीको एक एक गोली मात्रै नभएर लठ्ठीको हिसाव हुने देशबाट आएका हामीलाई लाग्छ कि यसरी गोली प्रहरीको गोली लागेर मारिने व्यक्ति निकै ठूला अपराधी हुनुपर्छ । जसरी नेपालमा इन्काउन्टर भनिन्छ त्यस्तै केही हुनुपर्छ । त्यसैले यस्ता घटना जायज हो भन्ने अनुमान केही हदसम्म सहित त हुन्छ तर आकडाँ हेर्ने हो भने त्यो अनुमान केही प्रतिशतमात्र सही मान्न सकिन्छ ।

हुन त सरकारी कुनै निकायले यस विषयको आधिकारिक तथ्यांक निकाल्दैनन् । विभिन्न राज्यका प्रहरी कार्यालयहरुले वेलाबेलामा आफ्नो तथ्यांक सञ्चारमाध्यममा दिएर आफ्नो बचाउ वा प्रशसां गर्नुपर्ने अवस्थामा बाहेकका सरकारी गोलीबाट हुने मृत्युको आधिकारिक तथ्यांक भने छैन । यद्यपी विभिन्न सञ्चारमाध्यममले समाचारमा गरिएका रिपोर्टका आधारमा निकालिएको तथ्यांकलाई आधार मान्ने हो भने सन् २००० देखि सन् २०१६ सम्म करिव १३ हजार नागरिक प्रहरीको गोलीको सिकार भइसकेका छन् यद्यपि संघिया अनुसन्धान व्यूरोको तथंकले केवल ५ हजार ८ सय ३० नागरिकको मृत्यु भएको दावी गर्छ । मूलतः थूप्रै अवस्थामा प्रहरी र सरकारी निकायले यस्ता घटनामा संलग्न अधिकारीमाथि अनुसन्धान गर्दै निष्पक्षता बाहिर निकाल्ने गरेको दावी गरेता पनि घटनामा मृत्यु हुनेका परिवार, आफन्त, प्रत्यक्षदर्शी, अधिकारकर्मीले भने प्रहरीको लापरवाही अत्यन्त धेरै रहेको आरोप लगाउने गर्दछन् ।

उदाहरणका लागि संघिय अुनसन्धान व्यूरोले जनाए अनुसार सन् २००० देखि सन् २००९ का बिचमा भएका करिव २ हजार ९ सय ३१ हत्यामा २ हजार ६ सय ६० हत्या जायज भएको ठहर गरेको छ । अर्थात मात्र २ सय ७१ हत्या प्रहरीको लापरवाहीले भएको दावी गरेको छ । यद्यपी परिवार, सञ्चारमाध्यम र अधिकारकर्मीहरु भने यसको खण्डन गर्छन् । अघिल्ला दशकमा हुने हत्या यत्तिकै दवाइने वा पन्छाइने गरियता पनि सन् २ हजार १४ मा मिजौरीको फर्गुसनमा माइकल व्राउन नाम गरेका एक अस्वेत व्यक्तिको हत्यामा प्रहरी लावरबाही भन्दै देशव्यापी आलोचना र विरोध भएपछि प्रहरी प्रशासन केही हदसम्म घटनाप्रति उत्तरदायी र जिम्मेवार बन्न बाध्य बनेको थियो । सिसिटिभी क्यामरामा घटना रेकर्ड हुने गर्दा पनि कतिपय अवस्थामा प्रहरीले आफ्नो गल्ती वा लापरवाहीको बचाउ गर्न गाह्रो पर्ने गरेको हो ।

मिजौरीको उक्त घटनाले देशव्यापी आलोचना र विरोधको सामना गर्नु पर्यो । तत्कालिन राष्ट्रपति बाराक ओवामाले घटनामा चासो दिदैं निष्पक्ष छानविनको माग पनि गरे यद्यपि घटनामा प्रहरीको गल्ती नभएको ठहर गरियो । उक्त घटना पछि सञ्चारमाध्यम पनि प्रहरी प्रशासानलाई खवरादारी गर्न लागीरहे । विकसित सञ्चार उपकरण, अर्काइभको प्रयोग गर्दै तथ्यांक आफैले सार्वजनिक गर्न थाले तर पनि प्रहरीको गोलीबाट हुने मृत्युको संख्या घट्नेभन्दा पनि बढ्दै गएको छ । यस वर्ष मात्रै वितेको ६ महिनामा प्रहरीको बन्दुकबाट निस्किएको गोलीले भएको मृत्युको संख्या ४ सय ९२ पुगिसकेको छ। यो संख्या अघिल्लो वर्षको संख्या बरावर रहेको अमेरिकी अखवार द वासिंगन पोष्टले जनाएको छ । पोष्टको प्रक्षेपणलाई आधार मान्ने हो भने अवको बाँकी ६ महिनामा हुने हत्याले १ हजारको आकँडालाई नाघ्ने छ । यसरी एक वर्षमा १ हजारको आँकडामा प्रहरीको गोलीले मृत्यु हुने यो लगातार तेश्रो वर्ष हुने पोष्टको अनुमान छ। सन् २ हजार १५ र २ हजार १६ मा पनि प्रहरीको गोली लागी मृत्यु हुने सर्वसाधारणको संख्या १ हजार नाघेको जनाउदैं यस्ता घटनामा कमी नआउनुमा प्रहरीको गल्ती रहेको बताएको छ ।

अघिल्ला वर्षका तथ्यांक अनुसार प्रहरीको गोलीबाट भएका मृत्युमा अधिकांश हतियार बोकेका स्वेत नागरिक रहने गरेका थिए । भने यस वर्षमा भएको हत्यामा मारिएक अधिकांश मानसिक अवस्था विगरिएका र एक चौथाई नागरिक अस्वेत नागरिक रहेका छन् । यद्यपि यस वर्ष हतियार नबोकेका नागरिकको हत्यामा भने कमी आएको पोष्टको तथ्यांकले उल्लेख गरेको छ । जसको संखया केवल २७ रहेको छ ।
गत अप्रिल महिनामा टेक्सासको डलासमा १५ वर्षिया अस्वेत बालक जोर्डन एडवार्डको मृत्यु प्रहरीको गोली लागेर भयो ।साथीहरुसंग पार्टीबाट निस्किएका एडवार्डले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि हत्या भएको प्रारम्भिक वयान आएपनि भिडियो रेकर्डिंगले भने प्रहरी अधिकृतको लापरवाहीले मृत्यु भएको देखाएपछि हत्यामा संलग्न अधिकृत बाल्च स्रिपिंगलाई बरखास्त गर्दै हत्या आरोपमा मुद्दा दायर गरेको छ ।

सन् २ हजार १७ को पछिल्लो तथ्याँकमा मानसिक सन्तुलन गुमेकाहरु प्रहरीको गोलीको सिकार भएको देखाइएको छ । अघिल्लो महिना वासिंगटन सियाटलकी ३० वर्षिया गर्भवती महिला चारलिना लाइल्सको हत्या भएको थियो । घटनाको विवरण अनुसार आफ्नो घरमा चोरीको प्रयास भएको भन्दै प्रहरीलाई आफैले खवर गरेकी लाइल्सको सहयोगका निम्ति पुगेको प्रहरी टोलीलाई नै लाइस्ले चक्कु देखाएपछि प्रतिरक्षाका निम्ति प्रहरीले गोली चलाएको थियो । घटनामा संलग्न प्रहरीले प्रतिरक्षाका निम्ति गोली चलाएपनि अन्य प्रविधिको प्रयोग गर्न सकिने तर प्रहरीले लापरवाहीले हतारमा उक्त प्रविधि नबोकी उद्दारमा गएकाले गोली चलाएको भन्दै आफ्नै अधिकृतलाई कारवाही प्रकृया अघि बढाएको थियो ।

सन् २ हजार १७ देखि आजका मितिसम्म २९ प्रहरी अधिकृतको हत्या भइसकेको छ । यो सन् २ हजार १६ को तुलनामा २ कमी हो । सन् २ हजार १६ मा ६६ भने सन् २ हजार १५ मा १ सय २८ प्रहरीको हत्या भइसकेको छ । अमेरिकाको चर्चित सहर लस एन्जल्समा मात्रै विगत २ वर्षमा ४७ नागरिकको मृत्यु प्रहरीको गोली लागेर भएको छ जुन् अमेरिकाको प्रहरी कार्यालयको सबैभन्दा धेरै संख्या हो । लस एन्जल्स प्रहरी कार्यालयले यस्ता घटना कम गर्न प्रयास गरेको बताएपनि घटनामा कमी आउन नसक्नु टाउको दुखाइको विषय बनेको छ । यसका निम्ति विभिन्न उपाय अपनाइएको पनि हो राष्ट्रिय रुपमै बहसको विषय हुदैं सरकार र सदनमा समेत पुगेको विषय पनि हो, विभिन्न उपाय गर्दै प्रहरीको गोलीबाट हुने हत्या कम गर्ने बहष अनि प्रसायका बावजुत पनि यो समस्या अनि आउने रिपोर्टले खासै परिवर्तन भएको देखाउदैन ।


किन चल्छ गोली ?

अमेरिकामा रहेका करोडौं नागरिकहरुमध्ये हतियार। बोक्ने संख्याको एकिन हिसाव सरकारसंग छैन । निश्चित केही प्रक्रिया पूरा गरेर बोक्न पाइने हतियारले प्रहरीलाई जनतासंग डराउनु पर्ने अवस्था छ । कुनै गल्तीमा रोकिएका कुैन गाडी चालकसंग हुन सक्ने हतियार र त्यसबाट घट्न सक्ने घटनामा प्रहरीले आत्मरक्षा भन्दै गोली चलाउनु अमेरिकामा सामान्य जस्तै भएको छ । कतिपय अवस्थामा गोली बाहेकका अन्य उपायबाट पनि घटना रोक्न सकिने भएता पनि सामान्य अवस्थामै पनि गोली प्रहार प्रहरीको निम्ति टाउको दुखाइ बनेको छ । छिटपुट संख्यामा कारवाही गरेर पनि देखाइन्छ तर थूप्रै अवस्थामा आफ्नो साख जोगाउनका निमित्त प्रहरी प्रशासनले पनि आपल्नो अधिकृतको बचाउ गर्दै गोली प्रहार र त्यसपछिको मृत्य अस्वभाविक नभएको विवरण दिन्छन् । सामान्य ट्राफिक अनुशासनको विषयबाट उत्पन्न भएका घटनामा ज्यानै जानु अमेरिकाको निम्ति सबैभन्दा ठूलो समस्या रहेको छ। आफ्नो बचावका निम्ति रहेका प्रहरी अधिकृत प्रतिरक्षाको अवस्थामा पुगी गोली चलाउदाँ प्रहरीकै गोलीबाट हुने मृत्युको संख्यामा कमी आउन सकेको छैन भने नागरिकहरुले पनि सामान्य अवस्थामा हेलचक्क्राई गर्दा ज्यान गुमाउनु परेको छ।

पूर्व टेलिभिजन पत्रकार लेखक हाल संयुक्त राज्य अमेरिकाको टेक्सासमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com