एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी नै छ : परराष्ट्र मन्त्रालय


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताइन् ।

सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त भएको तर अमेरिका पठाइनसकेको प्रवक्ता लम्सालले बताइन् ।‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन ।

पहिले के(के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ’ प्रवक्ता लम्सालले भनिन्, ‘उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं ।’यसअघि सन् २०१५ र सन् २०१७ मा नेपाली सेनाले एसपीपीमा सहभागी गराउन काठमाडौंस्थित अमेरिकी दूतावासमा पत्राचार गरेको थियो । त्यसपछि अमेरिकाले सन् २०१९ मा नेपाललाई एसपीपीमा सहभागी गराएको थियो ।गत जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com