अमेरिका निवासी पूर्व मिस ब्युटिफूल श्यारोन शेर्पालाई आन्द्राको ‘स्टेज फोर क्यान्सर’


प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार

अमेरिकाको शियाटल निवासी पूर्व मिस ब्युटिफूल श्यारोन शेर्पा आन्द्राको क्यान्सरबाट पीडित भएकी छिन् । क्यान्सर स्टेज फोर अवस्थामा रहेको र अगस्तको पहिलो साता पहिलो चरणको किमो थेरापी गरिएको छ ।

अप्रिलको दोश्रो साता पेट दुखेर अस्पताल जाँदा आन्द्राको क्यान्सर भएको पुष्टी भएको र कलेजोको केही भागमा समेत क्यान्सर फैलिएको उनको मेडिकल रिपोर्टमा उल्लेख छ । उनको शियाटलमा रहेको स्वीडिस मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

आफूमा क्यान्सरलाई जित्ने आत्मविश्वास रहेको र छिट्टै सामान्य अवस्थामा फर्किने आशा रहेको श्यारोन शेर्पाले खसोखासलाई बताइन् । मनिषा कोइरालाले जस्तै आफूले पनि क्यान्सरलाई जीतेर सामान्य जीवनमा फर्कने उनले आत्मविश्वास व्यक्त गरिन् । उनले भनिन् – ‘डाक्टरहरुको उपचार, सबैको माया र प्राथनाले क्यान्सरलाई छिट्टै जित्ने आत्मविश्वास पलाएको छ ।’

दोर्जी छिरिङ शेर्पा र अन्जु गुरुङका तीनमध्येकी जेठी छोरी श्यारोन काठमाडौंमा जन्मिएकी हुन् । उनकी कान्छी बहिनी सराहको सन् २०१० विमान दुर्घटनामा निधन भएको थियो । सराहले उक्त विमानमा परिचारिकाका रुपमा काम गर्दै आएकी थिइन् । श्यारोनकी आमाको पनि सन् २०१४ मा निधन भएको थियो । आफूले जीवनमा यस्ता पीडादायक क्षणहरुलाई पनि पार गरेको र अहिलेको पीडालाई पनि झेल्ने साहस आफूमा रहेको श्यारोनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्यकालमा दार्जिलिंगको सनसाइन स्कुलमा अध्ययन गरेकी श्यारोनले काठमाडौंको कान्तिपुर ईंग्लिस हाइस्कुलबाट एसएलसी उत्तिर्ण गरिन् । उनले चोभारमा रहेको मोर्डन इन्डियन स्कुलबाट १२ कक्षाको अध्ययन पूरा गरिन् भने कलेजमा अध्ययनरत रहेको बेला सन् १९९६ को मिस ब्यूटिफूलमा भाग लिएर मिस ब्यूटिफूलको उपाधी पनि जितिन् । उनले त्यतीबेला मिस मिस क्याटवाकको उपाधी पनि जितेकी थिइन् ।

त्यसपछि उनलाई कैयन चलचित्र, विज्ञापन र मोडलिङका लागि अफरहरु आए । कान्तिपुर एफएममा उनी लोकप्रिय रेडियो प्रस्तोता समेत भइन् । नेपालमा किंगफिसर वियर सुरुगर्दा कार्यक्रम संचालन गरेकी उनले सन् १९९८ मा महाशिवरात्री म्युजिक फेस्टिवलको समेत संचालन गरेकी थिइन् । उनले भिजिट नेपाल १९९८ मा र्याम्प मोडलिङ समेत गरिन् । वेभ म्यागाजिन, कोकाकोला, चौधरी ग्रुपको रियल गोल्ड वियरमा समेत मोडलिङ गरेकी उनीसँग चलचित्रमा समेत अभिनय गरेको अनुभव छ ।

उनले गगन विरही निर्देशित शिखर चलचित्रमा नायक श्रृकृष्ण श्रेष्ठसँग मुख्य भूमिकामा अभिनय गरिन् भने चलचित्र चमत्कारमा राजेश हमालसँग अभिनय गरिन् । उनले चलचित्र अंगालो अंगालोमा पनि अभिनय गरेकी थिइन् । तिम्रो आगमनले बोलमा गीतमा उनले रामकृष्ण ढकालसँग अभिनय गरिन् । उनले लुम्बिनी एयरवेज, स्काइलाइन एयरवेज र गोरखा एयरवेजमा पनि काम गरिन् भन् नेपाली टेलिभिजनमा कार्यक्रम संचालनको अनुभव समेत रहेको छ ।

त्यसपछि जापान गएकी उनले त्यहाँ र्याडिसन होटलमा काम गरिन् । जापानमा उनले कैयन कार्यक्रमहरुमा नेपाली नृत्य समेत प्रस्तुत गरिन् । जापानबाट अमेरिका आएकी श्यारोन मिस नेपाल अमेरिका २०११ मा सहभागी संयोजक र कोरियोग्राफर थिइन् । उनले सन् २०१२ मा न्युयोर्कबाट संचालित ह्वाइट हिमाल टेलिभिजनमा समेत कार्यक्रम संचालन गरिन् । अमेरिकाको क्यालिफोर्नियामा रहँदा उनले प्यासेफिक प्लाजा होटलमा फ्रन्ट डेस्कमा काम गरिन् भने नेपाली रेष्टुरेण्टमा समेत काम गरिन् । सन् २०१७ मा सुरक्षा पोजिशनमा काम गर्नेगरी पोर्टल्याण्ड बसाई सरेकी उनको सन् २०२० को कोरोना महामारी सुरु हुनुभन्दा ठीक अगाडि सोसल सेक्युरिटी कार्ड, बैंक कार्ड, पासपोर्ट लगायतका कागाजातहरु चोरी भए ।

त्यसपछि श्यारोनको जीवनमा निकै कठिन क्षणहरु आए । कागजपत्रहरु हराएपछि काम नपाउने अवस्था आएको र आफू पोर्टल्याण्डको सडकमा बस्ने अवस्था आएको श्यारोनको अनुभव छ । त्यसपछि उनी शियाटलमा बसाई सरिन् । त्यहाँ उनले पत्रिका बेच्ने भेण्डरका रुपमा काम गर्न थालिन् । यो काम गर्दा आफ्नो मालिक आफै भएको र कसैको तालिकामा काम गर्नु पर्ने अवस्था नरहेको उनले बताइन् ।

शियाटलमा उनले ह्वील, साल्भेशन आर्मी र सेन्ट जेम्स क्याथेड्रल लगायतका शेल्टरहरुमा समय विताउने क्रममा उनमा धेरै प्रभाव पर्यो । सडकमा रहेकाहरुका लागि आफूले खाना पकाएर दिने गरेको र उनीहरुमा असलपन देख्ने गरेको उनले बताइन् । पछिल्लो समय उनको जीवनमा सुधार हुँदै गइरहेको थियो । उनी दक्षिण शियाटलमा एउटा सानो घरमा बस्न सुरु गरेकी थिइन् । तर यही बेला श्यारोनमा आन्द्राको क्यान्सर देखिएको छ ।

आफूमा क्यान्सर देखिएपनि नआत्तिएको र धैर्यताका साथ उपचारको प्रकृयामा रहेको उनले बताइन् । तर पनि उनको अनुहारको हाँसो भने हराएको छैन । उनले हास्दै भनिन्  ‘म छिट्टै निको हुनेछु । र फेरी न्युयोर्कमा दालभात खान आउनेछु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com