२३ बर्षदेखिका सांसदलाई पराजित गर्दै न्युयोर्क संसद प्राइमरीमा नेपाली मूलकी श्रेष्ठ विजयी


प्रकाशित मिति : असार १६, २०७९ बिहीबार

न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदबार सराहना श्रेष्ठले विजय हासिल गरेकी छिन् । २३ बर्षदेखि लगातार र सन् १९९३ मा एक कार्यकाल गरी १३ कार्यकाल न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्दै आएका ६६ बर्षका डेमोक्रेटिक उम्मेदबार केभिन काहिललाई श्रेष्ठले पराजित गरेकी हुन् ।

४० बर्षभन्दा लामोसमयदेखि राजनीतिमा सकृय रहदै आएका काहिललाई ३ बर्ष अगाडि अमेरिकी नागरिकता लिएकी ४१ बर्षकी सराहना श्रेष्ठले पराजित गरेकी हुन् । सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठले सन् २०१९ मा मात्र अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

श्रेष्ठले ७ हजार ७ सय २ भोट ल्याएकी छिन् भने काहिलले ७ हजार १ सय ७३ भोट ल्याएका थिए । अनुपस्थीत र सहमति दिइएका मतपत्रहरु गणना नगरिदै श्रेष्ठको जीत घोषणा गरिएको हो । अब नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलोपटक काहिलको नाम मतपत्रबाट हट्ने भएको छ भने उक्त स्थानमा श्रेष्ठको नाम हुनेछ ।

डेमोक्र्याट्सहरुको बाहुल्यता रहेको उक्त डिस्ट्रिक्टमा नोभेम्बरमा श्रेष्ठको जीत लगभग सुनिश्चित रहेको छ । श्रेष्ठ न्युयोर्क राज्यको संसदमा उम्मेदबारी दिने र प्राइमरी चुनाव जित्ने नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनी नोभेम्बरको निर्वाचन पछि अमेरिकाको राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने  नेपाली मूलकी पहिलो महिला हुनेछिन् ।

जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवाज उठाउदै आएकी उनले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्नेछिन् ।

श्रेष्ठले गतबर्ष नै  चुनावी अभियान सुरु गरेकी थिइन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेण्डाहरुको समर्थन गरेकी छिन् । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले श्रेष्ठको उम्मेदबारीको समर्थन गरेका थिए ।

उनको उम्मेदबारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरेकी थिइन् । त्यस्तै अमेरिकन चर्चित कलाकार र अधिकारकर्मी सिन्थिया निक्सनले पनि उनको उम्मेदबारीको समर्थन गरेकी थिइन् ।

श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य समेत हुन् भने उनी डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह अध्यक्ष समेत हुन् । त्यस्तै उनी स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवद्र्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत हुन् ।

न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ बर्षको हुने गर्छ ।

पछिल्लो समयमा अमेरिकन मुलधारको राजनीतिमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गएको छ । अहिलेसम्म जननिर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com