नेपाल आइपुग्यो अमेरिकाको यल युनिभर्सिटी आर्ट ग्यालेरीले फिर्ता गरेको बौद्ध देवी पार्वतीको मूर्ति
प्रकाशित मिति : असार ११, २०७९ शनिबार
अमेरिकाको कनेक्टिकटमा रहेको यल युनिभर्सिटी आर्ट ग्यालेरीले फिर्ता गरेको नेपालको बौद्धदेवी तारा/पार्वतीको मूर्ति नेपाल आइपुगेको छ । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुएल मिकल्लेर र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले उक्त मूर्तिलाई नेपालमा स्वागत गरेका छन् ।
आर्गिलाइट ढुङ्गाबाट नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरूतिर बनेको विश्वास गरिएको यो मूर्ति सन् २०१५ मा यल आर्ट ग्यालरीले एकजना दाताबाट प्राप्त गरेको थियो । मे ६ मा उक्त ग्यालरीले नेपाली महावाणिज्यदूतावास न्यूयोर्कसँग ग्यालरीको स्थायी संग्रहमा रहेको नेपालको बौद्धदेवी तारा(पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने सहमति गरेको थियो ।
नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले यलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
यस मूर्तिका विषयमा नेपालको पुरातत्व विभाग र यल युनिभर्सिटी आर्ट ग्यालरीबाट सन् २०२१ मा छुट्टाछुट्टै गरिएका अनुसन्धानबाट समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसावले आरम्भिक मध्यकालको सो मूर्ति बिसं २०३२ सालसम्म भक्तपुर गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको र त्यहाँबाट हराउनु अघि बौद्धदेवी पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको छ।
उक्त मूर्ति फिर्ता घोषणाको अवशरमा बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले यल युनिभर्सिटी, यल युनिभर्सिटी आर्ट ग्यालेरी, उक्त ग्यालरीकी हेनरी जे हेनिज द्वीतीय निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई सो कलाकृति फिर्ता गर्ने कार्यमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । कार्यवाहक महावाणिज्यदूतले उक्त कलाकृतिका विषयमा अनुसन्धान गरी नेपाललाई फिर्ता दिने निर्णयमा सहकार्य गरेकोमा नेपाल सरकारको तर्फबाट ग्यालरीको प्रशंसा गरेका थिए ।

ग्यालरीको सहकार्यबाट नेपालका हराएका साँस्कृतिक सम्पदाको पुनस्थापना र नेपालको इतिहास र संस्कृतिको संरक्षण गर्ने नेपालको अभियानमा सकारात्मक योगदान पुर्याएको गौतमले बताएका थिए । उनले नेपालका हराएका सम्पदाको पुनःस्थापना तथा मूर्ति फिर्ता प्रयासमा सञ्चारमाध्यम, नागरिक समाज र सम्बन्धित निकायबाट प्राप्त सहयोगको उच्च प्रशंसा गर्दै सो मूर्ति नेपाल फिर्ता पठाउने व्यवस्था गरेकोमा यल आर्ट ग्यालरीप्रति धन्यवाद व्यक्त गरेका थिए ।
उक्त मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी हेनरी जे हेनिज द्वीतीय निर्देशक स्टेफनी वाइल्सले बौद्ध देवी तारा(पार्वतीको मूर्तिका विषयमा अध्ययन र नेपाल सरकारलाई फिर्ता गर्ने प्रक्रियामा भएको उपलव्धिमूलक छलफल र साझेदारीलाई उजागर गर्न पाउँदा यल युनिभर्सिटी आर्ट ग्यालेरीका तर्फबाट खुसी व्यक्त गरेकी थिइन् । उक्त ग्यालरीको संकलनमा रहेको सो मूर्ति संकलनबाट हटाउने निर्णय सहकार्यमा लिइएको र उक्त ग्यालरीले गरेको अध्ययनबाट मूर्ति फिर्ता दिने निश्कर्षमा पुग्न नेपाली महावाणिज्यदूत र नेपाल सरकार पुरातत्व विभागका तर्फबाट गरिएको सहयोगप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेकी थिइन् ।
नेपाली महावाणिज्यदूतावास र यल युनिभर्सिटीले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि निकटमा रही सहकार्य र साझेदारी गर्ने इच्छा समेत प्रकट गरेका छन् । साथै नेपाल र अमेरिकाबीच लामो समयदेखि रहेको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो प्रयास रहने कुरा समेत व्यक्त गरेका छन्।









