पोखराको सराङकोटमा रहेको बाल कारागार: १५ बालक एउटै कोठामा, धारा छ तर पानी आउँदैन


प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार

– दुर्गा रानामगर

पोखराको सराङकोट ग्यारजातीमा रहेको बाल सुधार गृह (बाल कारागार) मा विभिन्न जिल्लाबाट आएका बालकहरू बाल बिजाइँको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । बाल सुधार गृहको परिसरमा भान्छा, बस्ने होस्टल, विद्यालय, सुधार गृहको अफिस भवन रहेको छ ।

१८ वर्षभन्दा मुनिका बालबालिका भएकाले उनीहरूलाई पढ्नका लागि प्रोत्साहन गरिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्रमअन्तर्गत न्यूनतम सुविधाबिहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) को व्यवस्थापनमा सुधार गृहमा रहेका बालकहरूलाई विद्यालयमा पढाउन ३ जना प्रशिक्षक राखिएका छन् ।

अहिले त्यहाँ रहेका बालकमध्ये केही सोही विद्यालयमा र केही क्याम्पसमा पढिरहेका छन् । १८ वर्ष नपुग्दै सुधार गृहमा आएका तर १८ वर्ष कटिसकेपछि पनि सजाय नसकिएकाले उनीहरूलाई सुधार गृहम राखिएको हो । उनीहरू ब्याचलर पढिरहेका छन् र सुधार गृहमा रहेका साना बालकलाई पढाउन सहयोग पनि गरिरहेका हुन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१५ बालक एउटै कोठामा

बालबालिका रहेको संवेदनशील क्षेत्र सुधार गृहको अवस्था भने नाजुक छ । पोखराको मात्र नभएर नेपालभर रहेका ८ वटै बाल सुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राखिएका छन् । वि.सं. २०६८ सालमा पोखरामा स्थापना गरिएको बाल सुधार गृहको क्षमता ५० जनासम्मको हो तर त्यहाँ अहिले ९९ जना बालकहरू रहेका छन् । सुधार गृहको क्षमता भन्दा बढी बालबालिका राख्नुपर्ने बाध्यता रहेको बाल सुधार गृह पोखराकी सामाजिक कार्यकर्ता इञ्चार्ज रमा शर्माले बताउनुभयो । यसले गर्दा एउटै कोठामा १५ जना बालकहरू कोचिएर बस्नुपरेको छ ।

सुत्ने ठाउँ नपुगेर भुईंमै ओछ्यान लगाएर सुत्नुपर्ने अवस्था रहेको कैद भुक्तान गरिरहेका एक बालकले बताउनुभयो । सानो कोठामा दुई तलाको ४, ५ वटा खाट, एउटा खाटमा २ देखि ३ जना कोचिएर सुत्नुपर्ने हुन्छ । कोठामा खाट बाहेक बालकहरूको लत्ताकपडा पनि राखिएको छ जसले साँघुरो कोठामा बालकहरू बस्न बाध्य छन् । सुधार गृहको क्षमता बढाउन नसकेको वर्षौ भइसकेको छ ।

सुधार गृहको उद्देश्य बालबालिकाको बानीव्यवहारमा सुधार ल्याई उनीहरूलाई पारिवारिक र सामाजिक रूपमा पुनस्र्थापना गराउनु हो तर यसका लागि त्यसै अनुसारको वातावरण पनि आवश्यक पर्छ । उनीहरूको शिक्षा, स्वास्थ्यसँगै सर्वाङ्गीण विकासका लागि सुधार गृहको वातावरण बालमैत्री हुनु जरुरी छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

इञ्चार्ज शर्मा बताउनुहुन्छ– ‘सुधार गृहमा रहेका बालबालिका शारीरिक, भावनात्मक रूपमा स्वस्थ हुनु जरुरी छ तर स्वास्थ्य तर्फ चासो लिइएको छैन । बालबालिकाको नियमित स्वास्थ्य परीक्षणका लागि एकजना हेल्थ चेकअप गर्ने मान्छे पनि छैन ।’

धारा छ तर पानी आउँदैन

बाल सुधार गृह रहेको सो ठाउँमा पानीको अभाव छ । पानी ल्याउन धेरै पहल गरिए पनि बाल सुधार गृहप्रति समाजको हेर्ने दृष्टिकोण सकारात्मक नहुदाँ त्यहाँको समुदायबाट पर्याप्त सहयोग नमिलेको इञ्चार्ज शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पहिले हामीले वडा नं. २४ मा रहेको मुहानबाट पानी ल्याएर प्रयोग गरेका थियौं । पछि त्यहाँका वडाबासीले नै हाम्रो मुहान भत्काइ दिनुभयो । त्यस पश्चात् सुधार गृह भएको वडा नं १८ र नजिकैको वडा नं. २४ का वडा अध्यक्षहरू मिलेर छलफल गर्दा धेरै विवाद पनि भयो । विवादले पानी आउन सकेन । नयाँ मुहान बनाउने, पाइप बिछ्याउने कामका लागि हामी मुख्य मन्त्रीकोमा पुग्यौं, सिडिओमा गयौं, नगरपालिका, वडा कार्यालय सबैतिर पुग्यौ तर कसैबाट सहयोग मिलेन । दिनको २५ सयको पानीको ट्याङ्की किनेर पनि साध्य छैन । त्यसका लागि हामीलाई बजेट दिइएको छैन ।’

सुधार गृहको गेटबाट छिर्ने बित्तिकै पानीको धारा छ तर त्यहाँ पानी आउँदैन । हाल पोखराबाट हप्तामा दुईतीन पटक पानीको ट्याङ्कर किनेर सुधार गृहमा प्रयोग गरिएको छ । यसले गर्दा नुहाउने, पिउने, कपडा धुने लगायतका काममा रुटिन बनाएर बालकहरूलाई प्रयोग गर्न लगाइन्छ । कहिलेकाहीं पानी किन्न ढिलाइ भए हप्तौंसम्म बालकहरू ननुहाइ बस्नुपर्ने अवस्था रहेको कैद भुक्तान गरिरहेका बालकले बताउनुभयो ।

३२ वर्षसम्म पनि नसुध्रिएको बालबालिकाको अवस्था

संयुक्त राष्ट्र संघको बालबालिकासम्बन्धी महासन्धि १९८९ मा नेपालले हस्ताक्षर गरेको ३२ वर्ष भइसकेको छ । ३२ वर्षसम्मका उपलब्धि पनि छन् तर अझै नेपालमा बालबालिकाको अवस्था भने अझै सुध्रन सकेको छैन । महासन्धिको धारा २४ ले बालबालिकाको स्याहारको विकासमा जोड दिँदै सम्पूर्ण बालबालिकालाई आवश्यक औषधोपचार सहयोग र स्वास्थ्य स्याहार उपलब्धतामा सुनिश्चित गर्नुपर्ने, बालबालिकाका लागि पर्याप्त पोषणयुक्त खाद्यान्न र शुद्ध पिउने पानीको व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ तर महासन्धिलाई नै अवलम्बन गर्ने महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयको मातहतमा रहेको बाल सुधार गृहमा भने बालबालिकाका आधारभूत आवश्यकता पनि पूरा हुन सकेको छैन ।

अधिवक्ता तथा कास्की जिल्ला अदालतमा बाल इजालशमा समाजसेवीको रूपमा रहनुभएकी कुञ्जनी परियारले बाल सुधार गृहमा बालकहरूको अवस्था निकै दयनीय भएको बताउनुभयो । उहाँले सुधार गृहमा बालबालिकाका लागि आवश्यक पौष्टिक आहार, पिउने पानी, खेलकुद लगायतको व्यवस्था नहुँदा बालबालिका कसरी शारीरिक र मानसिक रूपमा स्वस्थ हुन सक्छन् भन्ने प्रश्न गर्नुभयो ।

हाल पोखराको बाल सुधार गृहमा रहेका बालकका लागि खाद्य खर्च भनेर सरकारले प्रति बालक दैनिक ६० रुपैयाँ भत्ता र ७ सय ग्राम चामल आउने गरेको छ । युसेप नेपालले हप्ताको एकचोटि मासु, अण्डा, गेडागुडीको व्यवस्था गरिदिएको छ । बालबालिका लागि पर्याप्त रूपमा खेलकुद सामग्री, स्थान तथा गतिविधिको अभाव छ । विद्यालयको पढाइबाहेकको समयमा बालकहरू क्यारम बोर्ड र टेलिभिजन हेर्नमा व्यस्त हुन्छन् ।

ठूला बालकहरू भने कागजका आकर्षक ससाना सजाउने घर बनाइ सिर्जनात्मक काममा लागेका रहेछन् । बालबालिकाका लागि सुधार गृहमा एकजना मनोपरामर्शको व्यवस्था गरिएको छ ।

मनोपरामर्श दाता ज्योति गुरुङले भन्नुभयो– ‘सुधार गृहमा आउने बालबालिका लागि विशेष किसिमको वातावरण तथा प्रक्रिया अपनाएर मनोपरामर्श दिइनु जरुरी छ तर अहिले हामीले जेजति गरिरहेका छौं– त्यो अपुग छ ।’

बालकहरूलाई स्थानान्तरण गरिने

राष्ट्रिय बाल अधिकार परिषद्का गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले सो क्षेत्रमा पानीको सम्भावना नरहेको बताउनुभयो । उहाँले पहिले नै २ करोडको बजेट विनियोजन गरी पानी ल्याउने पहल गरेको जानकारी दिँदै उहाँले स्थानीय समुदायको पर्याप्त सहयोग नमिलेको बताउनुभयो ।

उहाँले अबको केही महिनामा तनहुँ ढकालटारमा निर्माण भइरहेको प्रदेशस्तरको सुधार गृहमा बालकहरू स्थानान्तरण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सुधार गृहको निर्माण अब अन्तिम चरणमा छ । बालबालिकाका लागि खेल मैदानसहित सुत्नका लागि पर्याप्त ठाउँ पनि छ । अहिलेको ठाउँ सानो छ त्यहाँ थप गर्न सकिन्न । अब तनहुँमा नै उनीहरूलाई स्थानान्तरण गरेपछि अहिले देखिएका समस्याहरू समाधान हुनेछन् ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com