Follow @khasokhasmag

न्युयोर्कमा नेपालीका समस्या भाषादेखि श्रोतमा पहुचसम्म, उम्मेदवारका प्राथमिकतामा नपरेको गुनासो


प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार

– किशोर पन्थी

‘न्युयोर्कको नेपाली समुदाय अल्पसंख्यकभित्रको पनि अल्पसंख्यक समुदाय हो । अल्पसंख्यक आप्रवासी समुदायका अधिकांश समस्याहरु मिल्दाजुल्दा हुने भएतापनि त्यो बाहेक नेपाली समुदायका आफ्नै विशिष्ट समस्याहरु समेत छन् ।’ –  लामो समय नेपाली समुदायमा सकृय रहदै आएका तथा शेर्पा किदुग अमेरिकाका पूर्व अध्यक्ष समेत रहेका उर्गेन शेर्पा भन्छन् ।

न्युयोर्कका नेपाली र नेपाली भाषी समुदाय बढ्दै गर्दा नेपाली समुदायको स्थानीय राजनीतिप्रति चासो र सहभागिता विस्तारै बढ्दै गइरहेको छ । उम्मेदबारहरुको पनि नेपाली समुदायप्रतिको चासो बढ्दै गइरहेको छ ।

‘तर यसपटकको चुनावमा गतबर्षको सिटी काउन्सिलको चुनावमा जत्ति उम्मेदबारहरुले नेपाली समुदायलाई ध्यान दिएको पाइएन । नेपाली समुदायका समस्याहरु उम्मेदबारहरुको एजेण्डामा अटाउन अलिक मुस्किल देखियो ।यसपटक न्युयोर्कका नेपाली समुदायका मतदाताका शीर्ष मुद्दा कुनै पनि उम्मेदवारका प्राथमिकतामा देखिएका छैनन् । ‘ –  झण्डै एकदशक भन्दा लामो समयदेखि न्युयोर्क क्वीन्समा बस्दै आएका लेखक राजन थपलिया भन्छन् ।

घरेलु कामदारका समस्याहरु, नेल शैलुनमा काम गर्नेहरुका अधिकारहरु, भाषिक न्याय, स्थानीय सरकारका साधनश्रोतमा पहुच, प्रतिनिधित्व लगायतका सन्दर्भमा अल्पसंख्यक आप्रवासी समुदायले भोग्ने समस्या मिल्दा जुल्दा भएपनि नेपाली समुदायका समस्याको आफ्नै विशिष्टता रहेको छ । तर नेपाली समुदायलाई लक्ष्यीत कार्यक्रमबारे जनप्रतिनिधिहरु वा उम्मेदबारहरुले खासै चासो नदिएको नेपाली समुदायका व्यक्तिहरुको गुनासो छ ।

नवराज केसी

न्युयोर्क सिटी काउन्सिल सदस्यका लागि पूर्व उम्मेदबार तथा नेपाली सामाजिक व्यक्तित्व नवराज केसी भन्छन् – ‘नेपाली समुदायका विभिन्न खालका समस्याहरु जनप्रतिनिधि वा उम्मेदबारहरु समक्ष पुर्याउन सकेको खण्डमा उनीहरुले राम्रो रेस्पोन्स गर्दै आएका छन् । तर त्यहाँसम्म पुर्याउनमा समेत पहुचको समस्या छ । जसका कारण नेपाली समुदायलाई लक्ष्यीत कार्यक्रमहरु कममात्र रहेका छन् ।’

भाषाको समस्या मुख्य

भाषिक न्यायको कुरा गर्दा भाषा अनुवादको कुरामात्र नभई समुदायका व्यक्तिले सरकारी सेवा र अधिकारलाई कसरी बुझ्ने भन्ने प्रश्न पनि मुख्य रहेको लेखक थपलियाको भनाई छ । उनी भन्छन् – ‘पहिलो त स्थानीय सरकारका साधन श्रोतहरु नेपाली भाषामा असाध्यै कममात्र रहेका छन् । दोश्रो, नेपाली भाषामा भएपनि सरकारले प्रयोग गर्ने भाषा समुदायका सदस्यहरुले नबुझने र जटिल खालको हुने भएकाले समस्या छ ।’

नेपाली सांस्कृतिक झाँकी

‘आप्रवासीहरुका लागि भाषा कक्षाहरु त छन् । स्थानीय सरकारले त्यस्ता भाषा कक्षा संचालन गर्नका लागि पार्टनरसिप पनि गरिरहेको पाइन्छ । तर त्यस्ता कक्षामा नेपाली भाषाबाट अँग्रेजी र अँग्रेजी भाषाबाट नेपाली नपढाइने भएकाले ती कक्षामा सहभागी हुने कैयनले पनि भाषा सिक्न सकेका छैनन् । भाषाकक्षा सम्पूर्णरुपमा नै अँग्रेजीमा हुने भएकाले कैयन नेपाली समुदायका सदस्यहरुका लागि त्यस्ता भाषाकक्षा उपयोगी हुन सकेका छैनन् । भाषा प्रशिक्षक नेपाली समेत बुझ्ने भएको खण्डमा त्यस्ता कक्षाहरु उपयोगी हुनसक्छन् । सकेसम्म नेपाली भाषा बोल्ने व्यक्तिले नै अँग्रेजी पढाउनुपर्छ ।’ –  थपलिया भन्छन् ।

भाषाकै कारणले स्थानीय सरकारले प्रदान गर्ने कैयन अवशर, अधिकार र सुविधाहरु थाहा पाउन नसक्ने अवस्था समेत रहेको बताउँछन् नवराज केसी । उनी भन्छन् – ‘न्युयोर्कमा ड्राइभर लाइसेन्सका लागि लर्नर परमिटको परीक्षा नेपाली भाषामा दिन सकिने र डिएमभी फर्म पनि नेपाली भाषामा भर्न सकिने सुविधा छ । यद्यपी अन्य कैयन निकायमा नेपाली भाषामा श्रोतहरु अत्यन्तै कममात्र उपलब्ध छन् वा उपलब्ध छैनन् । कैयन हटलाइन सुविधाहरु पनि नेपाली भाषामा छैनन् ।’

उर्गेन शेर्पा

स्थानीय सरकारले उपलब्ध गराउने तालिमहरु समेत अँग्रेजी भाषामा हुने भएकाले त्यस्ता कैयन तालिम समेत उपयोगी हुन नसकेको उर्गेन शेर्पाको अनुभव छ । उनी भन्छन् – ‘विभिन्न तालिमहरु हुँदा त्यस्ता तालिमहरु अँग्रेजी भाषामा हुन्छन् । जुन नेपाली समुदायका कैयन सदस्यहरुले बुझ्न सक्दैनन् । उदाहरणका लागि नेल टेक्निसियनका लागि कुनै तालिम भएमा नेपालीमा हुँदैन, अँग्रेजीमा हुन्छ । सरसफाइबारे कुनै तालिम भएमा नेपालीमा हुँदैन, अँग्रेजीमा हुन्छ । त्यसैले त्यस्ता कक्षा वा तालिममा सहभागी हुँदासमेत कुरा नबुझ्ने समस्या रहेको छ ।’

‘नेपाली समुदायको बाहुल्यता रहेको क्षेत्रका लाइब्रेरीहरुमा पनि नेपाली भाषामा पुस्तक र श्रोतहरु हुँदैनन् । नेपाली भाषा बोल्ने व्यक्ति पनि कतै छैनन् । नेपाली समुदायभित्र पनि नेपाली भाषाका लाइब्रेरीहरु छैनन् । नेपाली भाषाबारे कार्यक्रमहरु संचालन गर्नका लागि नेपाली समुदायको आफ्नै सामुदायिक हल छैन । त्यसैले समस्याहरु एकअर्कासँग सम्बन्धित छन् ।’ –  थपलिया भन्छन् ।

स्थानीय सरकारका साधन श्रोतमा कम पहुँच

स्थानीय सरकारका साधन श्रोतमा पहुँच कायम गर्नमा समस्या हुनुको एउटा कारण भाषा भएपनि अन्य कारण समेत जोडिएर आउने बताउँछन् उर्गेन शेर्पा । उनी भन्छन् – ‘स्थानीय सरकारमा प्रतिनिधित्व हुन नसक्दा समेत साधन श्रोतमा कम पहुँच हुने गरेको छ । स्थानीय सरकारको कुरा गर्दा चुनावलाईमात्र हेर्ने देखिन्छ । तर प्रतिनिधित्वका लागि स्थानीय सरकारमा हुने राजनीतिक नियुक्तीहरु पनि समानुपातिक र समावेशी हुनुपर्छ । नेपाली समुदायको आवाज बोल्ने व्यक्ति सम्बन्धित निकायमा नहुँदा भाषा बुझेपनि र साधन श्रोतबारे थाहा पाएपनि त्यो लिनका लागि समस्या हुने गरेको छ ।’

समस्या व्यक्त गर्ने उचित प्लेटफर्म नभएका कारण नेपाली समुदाय भ्वाइसलेस जस्तै हुने बाध्यता रहेको बताउँछन् राजन थपलिया । उनी भन्छन् – ‘भाषा बुझनेहरुलाई समेत स्थानीय सरकार वा राज्यका रिसोर्सहरुबारे जानकारीको अभाव छ । ती श्रोत साधनहरुबाट कसरी फाइदा लिने भन्नेबारे जानकारी छैन । त्यसैले स्थानीय सरकार वा राज्यका रिसोर्सहरुबारे जनचेतनामुलक कार्यक्रमहरुको समेत अभाव रहेको छ ।’

खसोखासमा अमेरिकी अध्यागमनबारेको समाचार पढ्दै एक नेपाली ।

‘कागजपत्रविहिनका अधिकार स्थानीय स्तरमा धेरै स्थापित छन् । तर जनचेतनाको कमीका कारण थाहा पाउनै नसक्ने अवस्था छ । त्यसैले हरेक साधन श्रोतहरुबारे व्यापक रुपमा सचेतना कार्यक्रम आवश्यक छ ।’- उर्गेन शेर्पा भन्छन् ।

स्थानीय सरकारले दिने कैयन अवशर र सुविधाहरु थाहा पाउन नसक्ने अवस्था आउनुको मुल कारण प्रतिनिधित्वको अभाव भएको बताउँछन् नवराज केसी । उनी भन्छन् -‘समुदायपनि यसबारे सचेत हुनुपर्छ । प्रतिनिधित्वका लागि आफै पनि पहल गर्नुपर्छ । आफै अगाडि नसरेसम्म कहिलेकाँही पछि परिरहने समस्या रहिरहन्छ ।’

क्षमताबृद्धिका लागि व्यवसायिक तालिमहरुको अभाव

नेपाली समुदायको क्षमताबृद्धिका लागि विभिन्न प्रकारका व्यवसायिक तालिमहरु समेत आवश्यक रहेको बताउँछन् उर्गेन शेर्पा । उनी भन्छन् – ‘व्यवसायिक तालिमहरु दिन सकेको खण्डमा नेपाली समुदायको स्तरोन्नती अझ धेरै हुन सम्भव छ ।’

‘नेपाली समुदायमा कैयन प्रकारका व्यवसायिक तालिमको आवश्यक छ । अफिस संचालन, जागिरको अवशर लगायतका विषयमा तालिमहरु दिनु आवश्यक देखिन्छ । अवशर पाएको खण्डमा नेपालीहरु योग्य छन् ।’ –  नवराज केसी भन्छन् ।

यो बाहेक नेपालीहरुको चाडपर्व र सांस्कृतिक पहिचानको समेत आवश्यकता भएको बताउँछन् लेखक थपलिया । गतबर्ष न्युयोर्क राज्य संसदबाट नेपाली अमेरिकन हेरिटेज डे रिजोलुसन पारित भएको थियो । यो बर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने रिजोलुसन पारित भएको छ । थपलिया भन्छन् – ‘नेपालीहरुले मनाउने चाडपर्वहरुको पनि पहिचान आवश्यक छ । पहिचान नदिइएका कारण दशैं तिहारमा टिका लगाएर हिड्दा वा लोसारमा सांस्कृतिक पोशाक लगाएर हिड्दा फरक तरिकाले हेर्ने समस्या छ ।’

राजन थपलिया

नेपाली समुदायमा भाषिक र सांस्कृतिक रुपमा विविधता रहेको छ । नेपाली समुदायभित्रै पनि नेपालीबाहेक अन्य भाषा बोल्नेहरुको संख्या उल्लेख्य रहेको छ । त्यस्तै फरक फरक खालको सांस्कृतिक विशेषता रहेको छ ।

‘ल्होसार, दशैं जस्ता चाडपर्वहरुमा विदा दिने लगायत नेपाली चाडवाड र संस्कृतिको पहिचान हुन आवश्यक छ । अन्यथा नयाँ पुस्ताले नेपाली चाडपर्व मनाएर बाहिर निस्कदा अप्ठ्यारो मान्ने अवस्था कायम रहनेछ ।’ –  उर्गेन शेर्पा भन्छन् ।

एकातिर कागजपत्रविहिन लगायत जुनसुकै अध्यागमन स्टाटस भएकाहरुलाई स्थानीय साधनश्रोतमा पहुच कायम गराउनमा समस्या रहेका छन् भने निशुल्क कानूनी सुविधा, निशुल्क स्वास्थ्य सुविधा लगायतमा सुविधाहरु उपलब्ध छैनन् । एकजना कागजपत्रविहिन नेपाली भन्छन् – ‘विमा सुविधा लिन नसकेका कारण नेपालबाटै औषधी मगाएर खाइरहेको छु ।’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com