इलाका प्रहरी कार्यालयमा पाहुना लाग्न आउने चराहरू


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

– गोपालप्रसाद बराल

दिनहुँजसो सयौँको सङ्ख्यामा थपिने पाहुना चराले महोत्तरीको गौशालाबजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ । नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ । लाग्दो वैशाखमै आएका पोथी पाहुना चरा गुँडमा फुल (अण्डा)पारेर स्याहार्न थालेका छन् । अहिले पनि चरा थपिने क्रम जारी नै रहेको गौशाला बजारका बासिन्दा बताउँछन् ।

अहिले परिसरभित्रका सबैजसो रुखका हाँगाबिँगा र पात झ्याप्प छोपिने गरी पाहुना चरा बसेका छन् । यिनको कलरब (कराएको) गीतको धुनझैँ लाग्दा निकै रमाइलो लाग्ने गरेको गौशाला बजारका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र बताउनुहुन्छ । बाटो हिँड्ने बटुवा पनि रुखका हाँगापात छ्याप्पै छोपेर सेताम्य देखिने चराको झुण्ड हेरेर मख्ख पर्छन् ।

गौशाला बजारमा पाहुना चराको आगमन हुन थालेको करिब दुई दशक हुनै लागेको छ । वैशाख सुरु भएपछि दोस्रो साताभित्रको सेरोफेरोमा प्रहरी कार्यालय परिसरमा आउने पाहुना चरा गौशालामात्र नभएर अब जिल्लाका सबैभेगका बासिन्दाका लागि चासोको कुरा बनेको छ । “यहाँ नयाँ वर्ष ९विक्रम सम्वतको० लागेसँगै पाहुना चरा आइनपुगे निकै सोधखोज बढ्दो रहेछ”, प्रहरी निरीक्षक मिश्र भन्नुहुन्छ, “यसपालि पाहुना चराको बथान आइपुग्न दुई÷तीन दिन ढिलाइ भएको थियो, बाटो हिँड्ने जोसुकै चराबारे सोधखोज गर्नथाले ।” यसपालि वैशाख पहिलो सातामा पाहुना चराको पहिलो बथान परिसरमा आइपुगेको प्रनी मिश्रको भनाइ छ । पहिलो दिन दुई÷तीन सयको सङ्ख्यामा आएका पाहुना चरा थपिँदै गएर अहिले पाँच हजार नाघी सकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई दशकयता प्रत्येक नयाँ वर्षसँगै घाँटीमा पहेँलो र अन्य शरीर निख्खर सेता भएका बकुल्ला जातिका हिमाली चराले छ महिना अवधि इलाका प्रहरी कार्यालय गौशालाको परिसरलाई आफ्नो बासस्थान बनाउँदै आएका छन् । सुरुमा वैशाख सङ्क्रान्तिकै दिन पाहुना चरा आउन थालेपनि पछिपछि आउने दिनमा साता १५ दिनको फरक पर्ने गरेको गौशालावासी बताउँछन् । “वैशाख सङ्क्रान्तिसँगै जुडशीतल पर्व मनाइरहँदा हामी पाहुना चरा आएको हेर्न पर्खन्थ्यौँ”, गौशाला नगरपालिकाकै रजखोर बस्तीका राजनीतिक÷सामाजिक कार्यकर्ता अजय कुशवाहा भन्नुहुन्छ, “यसपालि भने पाहुना चरा पाँच दिन ढिलो आए ।” वैशाख सङ्क्रान्तिसँगै पाहुना चराबारे चियोचर्चा हुने यस भेगको चलन नै बसिसकेको कुशवाहाको भनाइ छ ।

केही सयबाट आउने क्रम थाल्ने यी चराको सङ्ख्या पाँच साताभित्र पाँच हजार पुगेको छ । छ महिनापछि फर्कने बेलामा भने आफ्ना जहान बढाएर १५ हजार पु¥याउने गरेका दैनिकजसो यी चराको गतिविधि नियाली रहने गौशालाका व्यापारी बताउँछन् । वैशाखमा आउने यी चरा असोजमा फर्कने गरेका छन् । यहाँको बसाईमा पाहुना चराले तीन छिमल बच्चा कोरल्दा यहाँ आएका चराको सङ्ख्या फर्कने बेलासम्म तेब्बर पुग्ने गरेका गौशाला बजारका चियापसले मीना साह बताउनुहुन्छ ।

यी चरालाई कतिले साइबेरियन र कतिले नेपालकै हिमाली भेगका बताउने गरेका छन् । लामो समयदेखि वनवातावरण र जङ्गली पशुपंछीबारे अध्ययन, अनुसन्धान गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादबले हिउँदमा हिमाली भेग जाँदा यस्तै चरा देखिएकाले यी मुलुककै हिमाली भेगका चरा हुनसक्ने बताउनुहुन्छ । यता लामो समय रुसमा बसेर त्यहीँबाटै उच्च शिक्षा सकेर फर्कनु भएका जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मधु ढङ्गाना भने गौशालामा आएका पाहुना चरा साइबेरियन नै भएको बताउनुहुन्छ । “साइबेरियाका बकुल्ला एक्लादुक्लै बस्दैनन्”, ढुङ्गानाले भन्नुभयोे, “अहिले यहाँ आएका पाहुना चराको बसाइ, रङरुप र कराइ ठ्याक्कै साइबेरियन बकुल्लासँग मिल्छ ।”

पाहुना चराबारे समान धारणा नदेखिए पनि गौशालामा भने यी पाहुनाचरालाई ‘साइबेरियन बकुल्ला’ नै भन्ने गरिएको छ । करिब दुई दशकदेखि गौशालाकै प्रहरी कार्यालय परिसरलाई नै बस्ने ठाउँ रोजेका यी पाहुना चरा तातो वातावरण बच्चा हुर्काउन अनुकूल हुनाले सन्तानवृद्धिकै लागि यहाँ आउने गरेका कुरामा भने विज्ञहरु सहमत देखिन्छन् ।

सुरुसुरुका वर्षमा त पाहुना चरा हेर्न नै टाढाटाढाबाट सर्वसाधारण आउने गर्थे । अब यो क्रम पातलिए पनि गौशाला बजारको परिचयमा पाहुनाचरा थपिएका स्थानीय शिक्षक पुरुत्तोम अधिकारी बताउनुहुन्छ । नदी किनारको छिपछिपे पानी भएको ठाउँ र ओरपरका पोखरी पाहुना चराले चरण क्षेत्र बनाएका छन् । पानीमा तैरिने लेउ, साना भुरा माछा र किरा फट्याङ्ग्रा नै पाहुना चराको आहारा हुने गरेको छ ।

यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मिश्र भने पाहुना चराको रेखदेख, संरक्षण र हेरचाहमा समुचित ध्यान दिइँदै आइएको बताउनुहुन्छ । “हामीले पाहुना चराको सक्दो हेरचाह गरेका छौँ”, प्रनि मिश्रले भन्नुभयो, “गुलेली चलाउने, चरा जिस्क्याउने र घुँयत्रो हान्नेजस्ता चरा बिच्क्याउने काम परिसरभित्र पूर्णवर्जित छ ।” यद्यपि यहाँ आउने चराका विविध पक्षबारे अध्ययन अनुसन्धान हुनुपर्ने आवश्यकता औल्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com