न्युयोर्कमा इतिहास रच्ने दौडमा नेपाली अमेरिकन उम्मेदबार, निर्णायक हुनसक्छ अल्संख्यकको मत !


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदबारी घोषणा गरेकी छिन् । न्युयोर्क राज्यको संसदमा उम्मेदबारीको घोषणा गर्ने उनी नेपाली मूलकी पहिलो अमेरिकन हुन् । श्रेष्ठले न्युयोर्क राज्य संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदबारीको घोषणा गरेकी हुन् ।

श्रेष्ठको चुनावी अभियानमा सहयोग गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवज उठाउदै आएकी उनले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने क्षेत्रबाट उम्मेदबारीको घोषणा गरेकी हुन् । श्रेष्ठलाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले इन्डोर्स गरेको थियो ।

डिस्ट्रिक्ट १०३

आगामी प्राइमरीका लागि श्रेष्ठले गतबर्ष नै  चुनावी अभियान सुरु गरेकी थिइन् । श्रेष्ठले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रिन न्यु डिलजस्ता बामपन्थी एजेण्डाहरुको समर्थन गरेकी छिन् । डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टर र फर द मेनी नामको समुहले श्रेष्ठको उम्मेदबारीको समर्थन गरेका थिए ।

उनको उम्मेदबारीको चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरिसकेकी छिन् । त्यस्तै अमेरिकन चर्चित कलाकार र अधिकारकर्मी सिन्थिया निक्सनले पनि उनको उम्मेदबारीको समर्थन गरेकी छिन् ।

उनले जुनमा हुने  प्राइमरीमा अर्का उम्मेदबार केभिन काहिलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जुनमा हुने प्राइमरी चुनावमा जितेको खण्डमा उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा जित्ने लगभग निश्चित रहनेछ । श्रेष्ठ अमेरिकामा डेमोक्रेटिक सोसलिष्टकी सदस्य समेत हुन् भने उनी डेमोक्रेटिक सोसलिष्टको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह अध्यक्ष समेत हुन् । त्यस्तै उनी स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवद्र्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत हुन् ।

न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ बर्षको हुने गर्छ । सन् २०२० को डेमोक्रेटिक प्राइमरी रद्द गरिएको थियो भने चुनावमा केभिन काहिलले ५१ हजार २ सय ३४ मत ल्याएर विजय भएका थिए ।

केभिनले डिस्ट्रिक्ट १०३ बाट सन् २०१२ देखिका चुनावमा लगातार जित्दै आएका छन् । त्योभन्दा अगाडि उनले डिस्ट्रिक्ट १०१ बाट सन् १९९८ देखि २०१० सम्म जित्दै आएका थिए । त्योभन्दा अगाडि उनले सन् १९९२ बाट पनि उक्त क्षेत्रबाट न्युयोर्क राज्य संसदको तल्लो सदनमा चुनाव जितेका थिए । तर यसपटक उनले नेपाली अमेरिकन उम्मेदबार सराहना श्रेष्ठसँग डेमोक्रेटिक प्राइमरीको सामना गर्नुपर्नेछ ।

 

सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठ ग्राफिक डिजाइनरका रुपमा काम गर्दा गर्दै नेपालमा लोकतन्त्रका पक्षमा समेत वकालत गरेकी थिइन् । उनले संचालन गरेको अनलाइन साहित्य जर्नलमा प्रकाशित राजनीतिक लेखका कारण तत्कालिन राजतन्त्रले उनको अनलाइनमाथि नेपालमा प्रतिबन्ध समेत लगाएको थियो । श्रेष्ठले सन् २०१९ मा अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

पछिल्लो समयमा अमेरिकन मुलधारको राजनीतिमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गएको छ । जननिर्वाचित सबैभन्दा उच्च पदमा पुग्न सफल नेपाली अमेरिकन मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी हुन् ।

अल्पसंख्यकको मतको महत्व

न्युयोर्कमा नेपालीहरुको संख्या बढ्दै जाँदा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या पनि बढ्दै गइरहेको छ । न्युयोर्कमा झण्डै ९ हजार नेपालीहरु अमेरिकी चुनावमा मतदानका लागि योग्य रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

अमेरिकाभर झण्डै ६० हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । त्यसमध्ये झण्डै १५ प्रतिशत नेपालीहरु न्युयोर्क निवासी रहेका छन् ।

नेपाली अमेरिकनहरु अल्पसंख्यक समुदायहरु रहेपनि अमेरिकाको चुनावमा सकृयताका साथ सहभागिता जनाउँदै आएका छन् । अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकनको चासो र सहभागिता विगतका बर्षहरुमा बढ्दै गइरहेको छ । चुनावमा उम्मेदवारी दिनेमात्र होइन, चुनाव जितेर इतिहास कायम गर्ने काम समेत नेपाली अमेरिकनले सुरु गरेका छन् ।

अमेरिकन राजनीतिमा नेपाली मुलका अमेरिकनहरुको पनि सकृय सहभागिताको सन्देश दिनका लागि पनि मतदानमा सहभागी हुनुपर्ने नेपाली अमेरिकन मतदाताहरु बताउँछन् । तीमध्येका एक नेपाली अमेरिकन मतदाता विश्व शाह भन्छन् –‘अल्पसंख्यकको पनि अमेरिकी राजनीतिक प्रकृयामा सकृय सहभागिता हुनुपर्छ । मतदानलाई आफ्नो अधिकार र कर्तब्यका रुपमा लिनुपर्छ । एउटामात्र भोट दिंदा पनि यसको गणना हुन्छ । अल्पसंख्यकको पनि अमेरिकी राजनीतिक प्रकृयामा सकृय सहभागिता हुनुपर्ने सन्देश दिनका लागि मतदान गर्छु ।’

अमेरिकी संसदको प्रतिनिधिसभा सदस्य अलेक्जेन्ड्रिया ओकासियो कोर्तेजका साथमा पुरुषोत्तम पन्थी ।

त्यस्तै न्युयोर्कको क्वीन्समा बस्दै आएका नेपाली अमेरिकन मतदाता पुरुषोत्तम पन्थी भन्छन् –‘आफ्नो मताधिकारको प्रयोग आफ्नो अधिकारको प्रयोग र कर्तब्य हो । त्यसैले चुनावमा कस्ले हार्छ वा जित्छ भन्दा पनि मताधिकारको प्रयोग गर्नुपर्छ ।’

‘अल्पसंख्यक भएपनि राजनीतिक प्रकृया सहभागी हुनुपर्छ । चुनाव अल्पसंख्यकलाई अगाडि आउनसक्ने बाटो पनि हो । मतदानमा सहभागी हुँदा अल्पसंख्यक समुदायका समस्या समाधानका लागि राजनीतिज्ञहरुको चासो बढ्छ । अल्पसंख्यकहरु पनि नेतृत्वमा आउनसक्छन् । अल्पसंख्यक भएपनि अँध्यारो ठाउमा बत्ति बालेर अगाडि बढ्नसक्ने र अझ फड्कोमार्नसक्ने सम्भावना रहन्छ ।’ पन्थी भन्छन् ।

राष्ट्रपति चुनावमा मतदानपछि मनमोहन सिंह घिमिरे ।

त्यस्तै नेपाली अमेरिकन मनमोहन सिंह घिमिरेले मतदान गर्न पाउनु आफ्नो अधिकार रहेको र आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारको आफूले भरपुर प्रयोग गर्ने बताउँछन् । मतदान प्रजातन्त्रको कडी र अधिकार भएकाले यो अधिकारको सदुपयोग गर्नु सबैको कर्तब्य भएको बताउँछन् उनी ।

‘अल्पसंख्यकको पनि मत गणना हुन्छ । अल्पसंख्यक समुदायको पनि राजनीतिक प्रकृयामा उपस्थीति देखिन्छ । हामी गणना भएका छौं भनेर हाम्रो आवाज बुलन्द हुनेछ । नेताहरुलाई पनि नेपाली अमेरिकन मतदाता पनि छन् हामी भोट माग्न जानुपर्छ, भन्ने चासो बढ्छ ।’ घिमिरे भन्छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com