थाइल्यान्डमा भएको प्रोफेसनल मुवाथाई फाइटमा गुणराज विजयी
प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार
प्रोफेसनल मुवाथाई फाइटमा नेपाली मुवाथाई खेलाडी गुणराज रुचाल विजयी भएका छन् ।

फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डमा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् ।

गुणराजले म्यानमारका माङकोन यतितलाई पराजित गरेका छन् ।
नेपाली सेनाका जवान गुणराज रुचाल मुवाथाई खेलमा परिचित नाम हो । उनले यो खेलमा कैयन अन्तर्राष्टिय पदकहरु जितेका छन् ।
उनले राष्ट्रिय मुवाथाई संघबाट ‘मुवाथाई वेस्ट प्लेयर अफ द इयर २०१६’को अवार्ड प्राप्त गरेका थिए । २०७३ मै चितवनमा आयोजित भारत र नेपाल बीचको खेलमा भारतीय खेलाडीलाई हराउँदै गोल्ड मेडल जितेपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डमार्फत मेडल ग्रहण गरेका थिए ।
उनी सोही वर्ष नै नेपाली सेनाका प्रधानसेनापतिबाट पनि ‘प्रधानसेनापति प्रशंसा निशान‘बाट सम्मानित भएका थिए । त्यस्तै सोहि वर्ष नै नेपालमा आयोजित ‘प्रथम केब्याग इन्टरनेसनल मुवाथाई च्याम्पियनशिप २०१८ मा भारतीय खेलाडीलाई हराएर गोल्ड मेडल जितेका थिए ।
नेपाल राष्ट्रिय मुवाथाई संघबाट २०१८ मा पनि दोस्रो पटक मुवाथाई वर्ष खेलाडीबाट सम्मानित उनले २०१९ मा थाइल्यान्डमा भएको ६० के जि अन्तरगतको प्रोफेशनल मुवाथाइ फाइटमा इटालीका खेलाडीलाई पराजित गर्दै जीत हासिल गरेका थिए ।
२०१९ मा मा नेपालमा सम्पन्न नेपाल मुवाथाइ च्याम्पियन प्रतियोगितामा ५७ केजि तौल समुहमा पनि उनले स्वर्णपदक प्राप्त गरेका थिए । उनी विश्व च्याम्पियन बनेर देशको नाम उँचो बनाउने सपना बोकेर अघि बढिरहेका छन् ।






