बालेन ‘उदय’ को संकेत


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

५ वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दैगर्दा विद्यासुन्दर शाक्यले आश्वासन बाँडे–‘निर्वाचित भएपछि पहिलो सय दिनमा १०१ काम गरेर देखाउँछु।’

काठमाडाैंले निर्वाचित जनप्रतिनिधि नपाएको लामो समय भइसकेको थियो। २०५४ मा केशव स्थापितपछि अर्को निर्वाचित जनप्रतिनिधि आउन पाएका थिएनन्। काठमाडाैंकाे फोहोरमैला, धुलोधुँवा, सडकका खाल्डाखुल्डीका समस्याले काठमाडौंबासी आजित भइसकेका थिए।

निर्वाचित भएलगत्तै गर्ने कामका सुन्दर सपना शाक्यले बाँडे। उपत्यकाको चक्रपथमा मोनोरेल निर्माण गर्ने प्रतिबद्धता जनाए। तिनकुनेमा बुद्धपार्क बनाउने, अन्तर्राष्ट्रियस्तरको मेगा हल बनाउने भने। काठमाडौैंको अर्को ठूलो समस्या पार्किङ व्यवस्थापनमा काम गर्ने भने।

जनताले उनका आश्वासन र प्रतिबद्धता सजिलै पत्याए। आशा गरे। अनि, उनलाई काठमाडौैंको मेयरको कुर्सीमा आसिन गराए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर लगत्तै शाक्यले जनभावना र आशाविपरीतका निर्णय धमाधम गर्न थाले–नगरको दोस्रो कार्यपालिका बैठकले नै जनप्रतिनिधिलाई मोबाइल सेट खरिदका लागि प्रतिव्यक्ति ३० हजार रुपैयाँको व्यवस्था गर्ने निर्णय गर्‍यो। १ करोड २० लाखको गाडी किन्ने तयारी गरे। घरबहाल कर बढाइयो।

शाक्यले कार्यकाल सम्हालेको एक सय दिन बित्दानबित्दै काठमाडौंबासीका आशा निराशामा परिणत भइसकेका थिए। ५ वर्षसम्म पनि काठमाडौंका समस्या जस्ताको तस्तै रह्यो। चुनाव भइरहँदा सडकमा यत्रतत्र देखिएका फोहोरका डंगुरले काठमाडौंका विकास र नागरिकको परिवर्तनप्रतिको अपेक्षालाई गिज्याएजस्तै प्रतित भइरह्यो।

फोहोरको थुप्रोका बीच भएको स्थानीय तहको निर्वाचनबाट हालसम्म प्राप्त परिणामले काठमाडौंबासीका त्यही निराशालाई संकेत गरिरहेका छन्। विगतमा राजनीतिक दलले जसरी विभिन्न आश्वासनका पोका बाँडेर भुल्याउने काम गरे र चुनाव जित्ने माध्यममात्र बनाए, त्यसबाट निराश काठमाडाैंबासीले दिएको जवाफ हो अहिले स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता।

अहिले काठमाडौंको ‘कोर एरिया’ अर्थात् भित्रि भागका नागरिकले समेत जातीय उम्मेदवारलाई नहेरी बालेनलाई भोट दिएर परिवर्तनको चाहनालाई अभिव्यक्त गरिरहेका छन्। अहिलेसम्मको मतपरिणामले यही संकेत गरिरहेको छ।

यो मत परिणामलाई राजनीतिक दलले राम्ररी विश्लेषण गर्नुपर्ने देखिन्छ। के यो राजनीतिक दलप्रतिको वितृष्णाको परिणाम हो या मात्र परिवर्तनप्रतिको जनचाहना? यदि दलप्रतिको वितृष्णा हो भने राजनीतिक दलहरुले आफ्नो कार्यशैलीलाई रणनीतिक रुपमा सुधार्नैपर्छ। चुनाव जित्नमात्र अति महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने र सतहमा केही पनि काम नगर्ने र आफ्नो मात्र ‘दुनो’ सोझ्याउने प्रवृत्तिलाई सुधार गर्नैपर्छ।

विगतका चुनाव हेर्ने हो भने पनि काठमाडाैंबासीले विभिन्न चरित्र र प्रवृत्तिका उम्मेदवारलाई ‘टेस्ट’ गर्दै आएका छन्। चाहे त्यो पञ्चायतकालीन नानीमैयाँ दाहाललाई होस् या २०४८ लगत्तै राजनीतिमा उदाएका मदन भण्डारीलाई भारी मत दिएर जिताउँदा। यसबीचमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि काठमाडौंको नगरमा कांग्रेसका पीएल सिंह, केशव स्थापित र विद्यासुन्दर शाक्यको काम र परिणामलाई अनुभव गरिसकेका काठमाडौंबासीले अब ‘नेवारइतर’ का उम्मेदवारलाई टेस्ट गरिरहेका छन्।

अहिले बालेन राजनीतिक ‘विद्रोह’ को बिम्बका रुपमा अगाडि आइरहेका छन्। यसपटक चिन्दै नचिन्नेहरुलै पनि उनलाई मत दिएर राजनीतिक दलप्रति औंला ठड्याइरहेका छन्। हालसम्म आएको मतपरिणामले दलहरुले बालेनको ‘लौरो’ ले ढाडमा सुम्ठ्याइरहेको अनुभव गरिरहेका छन्। अझै कोर सिटीले साथ दिने आशाको त्यान्द्रो उनीहरुमा छ।

मत गणना अन्त्य हुँदासम्मको परिणाम पुनः राजनीतिक दलका उम्मेदवारकै पक्षमा नआउला भन्न सकिन्न। तर यो परिणामको स्पष्ट संकेत के हो भने काठमाडौैंबासीका सपना र दैनिक समस्यालाई समाधान नगर्ने हो भने परिणाम जसको पक्षमा पनि आउनसक्छ। र, विद्रोह जहिले पनि भइरहन्छ।

विकासप्रतिको अपेक्षाका अतिरिक्त बालेन शाहको यो उचाइमा साथ दिने अर्को पक्ष हो युवावर्ग। बालेन आफैं युवा भएको र ¥याप संगीतमार्फत् पाएको लोकप्रियतालाई उनले युवामार्फत् ‘क्यास’ गरे। यसकारण पनि उनी मैदानमा उत्रिँदा पारम्परिक रुपमा अन्य उम्मेदवारभन्दा अहिलेसम्म निकै अगाडि बढिरहेका छन्।

मुलुकको १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये ५ वर्षमा ३७ लाख युवा मतदाता थपिए। यहीकारण काठमाडौंैमा बालेनमात्र नभई देशभर नै युवा उम्मेदवारी पनि बढ्यो। निर्वाचन आयोगको तथ्यांकअनुसार २१ वर्षका पुरुष उम्मेदवार नै ४१२ थिए। जसमा २६ जना त पालिकाको नेतृत्व लिन तयार थिए। सोही उमेरसमूहका महिला उम्मेदवारको संख्या २०९ रह्यो। २१ देखि ४० वर्ष उमेर समूहका पुरुष उम्मेदवारको संख्या ३२ हजार २३५ र महिलाको संख्या २७ हजार १५७ रह्यो। अर्थात्, यो निर्वाचनमा कूल उम्मेदवारको २४ प्रतिशत युवा रहे।

चुनावी परिणाम घोषणा हुँदै जाँदा यिनै युवाहरु नेतृत्वमा निर्वाचित भएका परिणाम आइरहेका छन्। कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका तर्फबाट ३३ वर्षीय अजय थापा, डडेलधुराको परशुराम नगरपालिकामा कांग्रेसका २८ वर्षका भरत जोशी, धनुषाको कमलामाई नगरपालिकामा वडाध्यक्षमा १९ वर्षीय रणविरसिंह मण्डलजस्ता युवाहरु निर्वाचित भएका छन्। यसले पनि नागरिकहरुले नयाँ आशा र उत्साह जगाउने खालका युवालाई छनोट गरेको रुपमा बुझ्न सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com