चिनियाँ लगानीमा बनेकाले मोदी गौतमबुद्ध विमानस्थल नजाने भारतीय संचारमाध्यमको दावी
प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार
भारतीय सञ्चारमाध्यमले चिनियाँ लगानीमा वनेको विमानस्थल भएकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ जाने कार्यक्रम नबनाएको दाबी गर्दै आएका छन्। यद्यपी नेपाली अधिकारीहरूले यो दाबीमा सत्य नभएको बताउँदै आएका छन् ।
लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु। @SherBDeuba pic.twitter.com/Fr6dXr6Rh7
— Narendra Modi (@narendramodi) May 16, 2022
भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुन देशको लगानी र कसले बनायो भन्ने प्रश्न गरिरहँदा भारतीय प्रधानमन्त्री ्र मोदी उक्त विमानस्थलमा नओर्लिएर भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाट लुम्बिनीस्थित हेलिप्याडमा ओर्लिएका छन् ।
नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु।
— Narendra Modi (@narendramodi) May 16, 2022
झन्डै ७३ वर्षपछि नेपालमा थपिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनीचीचको दूरी झण्डै १५ किलोमिटर छ। मोदी लुम्बिनीबाट झन्डै २०० किलोमिटर टाढा पर्ने उत्तर प्रदेशको कुसीनगरमा ओर्लिएर हेलिकप्टरबाट लुम्बिनी आएका हुन् ।

अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका छन् ।
भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका छन् ।
साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई स्वागत गरे ।
हेलिकोप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरे ।






