अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन आज, अनिवार्य नभएकाले पनि फाइल गर्नुपर्ने ५ कारण


प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार

आज सोमबार अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन हो । सामान्यतया अप्रिल १५ सम्म ट्याक्स फाइल गरिसक्नुपर्ने भएतापनि यो बर्ष अप्रिल १८ सोमबारसम्मको डेडलाइन तोकिएको छ । मेन र मासाचुसेट्समा अप्रिल १९ सम्म फाइल गर्न सकिन्छ ।

विदेशमा काम गर्ने र बस्ने अमेरिकन करदाताहरुका लागि भने ट्याक्स फाइल गर्ने समय अझै पनि बाँकी छ । उनीहरुले जुन १५ भित्र ट्याक्स फाइल गरिसक्नुपर्ने प्रावधान रहेको छ । त्यस्तै कोलोराडो र पोर्तोरिकोमा प्राकृतिक बिपत्तिबाट प्रभावितहरुले १६ मे र १५ जुनभित्र ट्याक्स फाइल गर्न सक्नेछन् ।

अप्रिल १८ भित्र ट्याक्स फाइल गर्न नसक्ने करदाताहरुले अक्टोबर १७ सम्म फाइल गर्नेगरी अवधि थपका लागि अनुरोध समेत गर्न सक्छन् । तर फाइल गर्ने अवधि थपिएपनि कर तिर्नुपर्नेहरुका लागि कर तिर्ने अवधि भने थप हुँदैन । त्यसैले कर तिर्नुपर्नेहरुले अनुमानित कर डेडलाइनभन्दा अगाडि नै तिर्नुपर्छ ।

सामान्यतया १२ हजार ५ सय ५० डलरभन्दा कम आम्दानी भएकाले अमेरिकामा ट्याक्स फाइल गर्न अनिवार्य छैन । तर विज्ञहरुले विभिन्न खालका क्रेडिटहरु प्राप्त गर्नका लागि उनीहरुलाई पनि ट्याक्स फाइल गर्न सुझाव दिएका छन् ।

पहिलो कुरा १२ हजार ५ सय ५० डलर भन्दा कम आम्दानी भएका एकल र २५ हजार १ सय भन्दा कम आम्दानी भएका संयुक्त फाइल गर्ने दम्पत्तिले कर तिर्नु नपर्ने भएकाले ट्याक्स फाइल गर्न अनिवार्य नभएपनि उनीहरुले ट्याक्स फाइल गरेमा आईआरएसबाट रिफण्ड पाउनसक्ने हुनसक्छ । खासगरी घरमा बच्चाबच्ची वा आश्रित भएकाहरुले ठूलो रकम रिफण्ड प्राप्त गर्न सक्छन् ।

घरमा बालबालिका भएकाहरुले अर्नड इन्कम ट्याक्स क्रेडिटवापत ६ हजार ७ सय २८ डलरसम्म रिफण्डयुक्त क्रेडिट पाउनसक्छन् । त्यस्तै एकल व्यक्तिले पनि १५ सय २ डलरसम्म अर्नड इन्कम ट्याक्स क्रेडिट प्राप्त गर्न सक्छन् ।

त्यस्तै चाइल्ड ट्याक्स क्रेडिट वापत एउटा बच्चाको ३६ सय डलरसम्म पाउनसक्ने व्यवस्था यसपटक रहेको छ । बार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी भएका एकल करदाता र १ लाख ५० हजारभन्दा कम आम्दानी भएका संयुक्त फाइल गर्ने दम्पत्तिले यो क्रेडिट पाउन सक्छन् ।

कतिपयले कोरोना महामारीको बेलामा राहत चेक नपाएका हुनसक्छन् । उनीहरुले पनि कर फाइल गर्दा यो चेक दावी गर्न सक्छन् । सन् २०२१ मा १४ सयको राहत चेक नपाएकाहरुले यसपटक कर फाइल गर्दा उक्त रकम दावी गर्न सक्छन् ।

त्यस्तै घरमा बच्चा वा आश्रितहरु भएकाहरुले चाइल्ड वा डिपेण्डेण्ट केयर क्रेडिट पनि पाउन सक्छन् । सन् २०२१ का लागि यो क्रेडिट पनि रिफण्डयुक्त रहेको छ । यसर्थ यसपटक ट्याक्स फाइल गर्नेले रिफण्डका रुपमा यो रकम पाउन सक्छन् । बच्चा वा आश्रितको हेरचाहका लागि रकम तिरेका र आफूले बाहिर काम गरेकाले यो क्रेडिट पाउनसक्छन् ।

त्यस्तै अमेरिकन अपर्चुनिटी ट्याक्स क्रेडिट वापत २५ सय डलरसम्म कलेजको योग्य खर्च कभर हुन्छ । त्यस्तै यो क्रेडिट पावत १ हजार डलरसम्म रिफण्ड पाउन सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com