नाकाबन्दीले कोपरेका घाउहरु


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

नाकाबन्दीअघि कतार एयरवेजको दोहा–दुबई–दोहा उडानलाई दुबई सटल भनिन्थ्यो । दुबई सटलले सासै नफेरी बिहानैदेखि अवेर रातिसम्म यात्रुहरु ल्याउने र पुर्‍याउने गरिरहन्थ्यो । दोहाको एयरपोर्टबाट पांग्राले भुईँ छाड्नासाथ जाहाज फनक्क पुर्वतिर मोडिएर पर्सियन खाडीको सागरमाथि कावा खान थाल्छ । त्यसपछि जहाजले पूरा उचाई लिन नपाइउँदै दुबई एयरपोर्टमा ओर्लिने सुरसार थाल्छ । हेर्दाहेर्दै जहाजले दुवई एयरपोर्टको रनवेमा पांग्रा टेकाउन आईपुग्छ । एक घण्टाको उडान भएको दोहा–दुवईको हवाई यात्रा उडेको एकै छिनमा मिलिक्कै  दुबई आईपुग्छ । कतार एयरवेजले मात्र दुबईको लागि दैनिक बाह्रवटा उडान भथ्र्यो ।

उसैगरी दुबईको इमिरेट्स एयरलाइन्सले दोहाको लागि दैनिक एघार वटा जति उडान भथ्र्यो । यूएईको दुबई, आबुधाबी, शारजाहलगायतको सहरमेत जोड्दा कतार एयरवेजले उडानहरु बीस जति पुग्थ्यो । त्यतिनै संख्यामा यूएईका बिभिन्न हवाई कम्पनीहरुले दोहाको लागि उडान भर्थे । कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय बिमानस्थलबाट बहराइन तथा साउदीका अरबको बिभिन्न शहरहरुमा पनि उसैगरी हवाई उडानको बाक्लो आवतजावत भइरहन्थ्यो । कतारको अर्को छिमेकी मुलुक बहराइन त झन दोहाबाट तीस मिनेटको हवाइ उडानमा आइपुगिन्छ । राजधानी दोहाबाट एकघण्टामा सडक मार्गबाट नै साउदी अरेबियाको सिमानापार भइसक्छ । यसरी नाकाबन्दी अघिसम्म खाडीका यि देशहरु सिमानाबिहीन जस्तो लाग्ने भुगोलमा बाँचेका थिए ।

खाडी देशका नागरिकहरुलाइ एक अर्काको देशमा भ्रमण गर्न भिसाको जरुरत पर्दैन । निर्वाध रुपमा एकअर्का देशमासहजै बसोवास गर्न, ब्यापारव्यवसाय चलाउने अनुमति प्राप्त छ  । बिद्यार्थीहरु यताउताका बिद्यालय वा विश्वविद्यालयमा अध्ययन गरिरहेका हुन्छन । वारिपारी जस्तो लाग्ने यि देशहरुका नागरीकबीच बिहेवारी चल्छ । ससुराली, मावली एक अर्का देशमा छरिएका छन । बहुबिवाहले मान्यता पाएको हँुदा कतिपयले एक भन्दा बढी श्रीमतीहरु फरक फरक देशमा राखेका छन् । कतारमा मात्र ११,३८७ जना बहराइनी , साउदी र इमाराती (युएई) नागरिकहरु बसोबास गर्छन् । नाकाबन्दी अघिसम्म खाडीराष्ट्रका मुलुकहरु एकै मुलुक जस्ता थिए । उनीहरु एकअर्काको देशमा हिंडडूल गर्न, बसोबास गर्न, बिहेवारी गर्न स्वतन्त्र थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाकाबन्दी अघिसम्म हरेक बिहीबार घाम डुब्दै जान थालेपछि कतारको हमाद अन्तराष्ट्रिय बिमानास्थलमा दुवई र बहराइनमा दुई दिने छुट्टी मनाउन जाने यात्रुहरुको मेला लाग्थ्यो ।
खाडी मुलुकहरुमा शुक्रबार र शनिवार दुई दिन सरकारी छुट्टी हुन्छ । शनिबार साँझ उताबाट फर्किने यात्रुहरुको बिमानस्थलमा थामिनसक्नुको भीड लाग्थो । यि देशका नागरिकबीच पारिवारिक भातृत्वको सम्बन्ध थियो । यिनीहरुबीचको आपसी सम्बन्ध आर्थिक, सामाजिक वा सांस्कृतिक मात्र होइन भावानात्मकरुपले पनि कसिलो थियो । यि देशहरुले आपसी देशहरुलाई छिमेकी होइन, दाजुभाई जस्तो सद्भाव प्रकट गर्दथे ।

कतार, यूएई, बहराईन, साउदी अरेबीयाबीच दैनिक सयौंको संख्यामा हुने हवाई उडानहरुको पनि यि देशबीचको कसिलो सम्बन्धको झलक देखाउँछ । तर दुइसाताअघि अप्रत्याशितरुपले बिकसित भएको खाडीको कुटनैतिक संकटले दाजुभाईजस्ता यि देशको सम्बन्धको सबै डोरीहरु चुँडिएको छ  । साउदी, बहराइन तथा यूएई सरकारले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गर्ने घोषणासँगै कतारका नागरिकलाई पनि १४ दिनभित्र आफनो देश छाड्न र आफ्ना नागरिकलाई पनि १४ दिनभित्र कतारबाट फर्कन आदेश दिएपश्चात, देश –देशबीचका कुटनीतिक सम्बन्ध मात्र होइन, नागरिकबीचको भावानात्मक सम्बन्ध पनि टुटेको छ ।

सिमानाको ढोका बन्द भएपनि एक अर्कामा मनको सम्बन्ध भएका यि देशका नागरिकलाई लागि मनको ढोका बन्द गर्न हम्मेहम्मे परेको छ । उनीहरु बैवाहिक, पारिवारिक तथा समाजिक सम्बन्धको डोरीले बाँधिएका छन् । उसै पनि पवित्र महिना रमदान इस्लाम समाजमा कठोर ब्रत राखेर मन, बचन र कर्मलाई शुद्दतातिर उन्मुख गर्ने याम हो ।

तीस मिनेटको हवाई उडानबाट कतारीहरु ईफतार खान बहराईनमा भएका नातागोताकोमा  पुग्छन र सहुर खान फेरी कतार फर्किसक्छन् । इमारातीहरु (युएइका नागरिक) दुबईमा इफ्तार खाएर एक घण्टाको हवाई उडानमा सहुर खान कतारी ईष्टमित्रकोमा आइपुग्छन् ।

पारिवारिक सम्बन्ध भएका साउदी, बहराईन, कतारका नागरिकबीच एकाअर्काको देशमा ईफ्तार वा सहुर खाँदै हार्दिकता साटासाट गर्न छोटो दुरीको हवाई यात्रामा फुत्त पुगेर फर्कने गर्छन । अझै रमादानको कठोर ब्रत सकिएपछि आउने पर्व इद उल्लासमय किसिमले मनाइन्छ । तर, राजनीतिको कठोर गणितले रमदानको याममा देखिने मानव मानवबीचको जीवन्त व्यवहारहरुलाई भष्म पारिदिएको छ ।

अलजजिरा लेख्छ, वाफा अलवाजेदी एक कतारी महिला हुन् । उनको पूर्व श्रीमान बहराइनी नागरिक हुन् र उनका पूर्व श्रीमानको तर्फबाट दुई सन्तान छन् । खाडी मुलुकहरुमा सन्तानले बाबुको नामबाट नागरिकता पाउने चलन छ । त्यसैले उनीसँग कतारमा बसोबास गर्दै आएका उनका दुई सन्तानहरुले बाबुको नामबाट बहराइनी नागरिकता पाएका छन् ।
बहराइनको सरकारले कतारमा भएका आफना नागरिकलाई मुलुक फर्किने आदेश दिएपछि वाफा अलवाजेदी अन्योलमा परेकी छन् । अब न उनका दुई सन्तानहरु कतारमा बस्न सक्छन, न उनी बहराईन जान पाउँछिन् ।

उनले भनेकी छन्, ‘हामीआफै भित्र हराएको महसुस गरिरहेका छौं । वाजेदीका दुई सन्तानले कठोर राजनीतिभित्रको जटिलता बुझ्दैनन् । शासकहरुको हुकुमको उल्लंघन गर्दा चुकाउनु पर्ने मूल्यको लेखाजोखा गर्न पनि जानेका छैनन् । उनीहरु बालसुलभ भावमा भनिरहेका छन्  “हामीसँग बहराइनको पासपोर्ट भए पनि हामीलाई कतार नै आफनो घरजस्तो लाग्छ । हामी हाम्रो आमासँण्ग छुट्टिन चाहदैंनौ । हामी कतारमा नै बस्छौ ।”

त्यसैगरी, दिवंगत श्रीमान साउदी  नागरिक भएकी एक कतारी महिला आफ्ना दुई सन्तान सँगै साउदी अरबमा बसोबास गर्दै आएकी थिइन । साउदी सरकारको आदेशले उनलाई मुलुक छाड्न भनिएको छ । उनलाई यो पनि भनिएको छ की उनले आफ्नो छोरा, जो अपाङ्ग छन र प्रतिपल मातृ स्याहारको आवश्यकता छ, साथमा लैजान पाउने छैनन् किनकी उनका छोरा साउदी नागरिक हुन ।

लोग्ने–स्वास्नि छुट्टिनु परेको छ, नानीहरुले आफ्ना आमाबाबु छाड्नु परेको छ  । विद्यालय वा विश्वबिद्यालयमा अध्यनरत छात्रछात्राले आफ्नो भविष्य छाडेर फर्कनु परेको घटनाहरु अनिगिन्ती छन् । कतारको राष्ट्रिय मानवअधिकार समितिमा समेत यस्ता खालका घटनाको उजुरीहरु दर्ताको खात सातसय नाघिसकेको छ ।

तर, नाकाबन्दीमा सामेल देशहरुले कतार र उसका नाकगरिकप्रति सहानुभूति जनाउदासमेत कारवाही हुने क्रम चलेको छ ।

नेपालीहरुको लागि नाकाबन्दी भन्नासाथ दैनिक उपभोग्य बस्तुको हाहाकार, ग्यासको अभाव, पेट्रोलको लाइनजस्ता दृश्यहरु बिम्ब बन्छन् । तर कतारमा नाकाबन्दी लागे पनि बाहिरी दुनियाँ ठीकठाक देखिन्छ । ग्याँसको हाहाकार छैन । अन्नपानीको यथेष्ट जोरजाम छ । स्कुल, कार्यालय, कारखाना सबै आफआफ्नै तालिकामा चलिरहेका छन । सडकबत्तिले सहरलाई रातभरी पनि उज्यालो राखेको छ । सडकमा सवारीको आवतजावतमा कुनै फेरबदल छैन् र  पनि हाम्रो जस्तै कतारी नागरिकहरुको मनमा पनी छिमेकी देशले लगाएको अमानवीय नाकाबन्दीको गहिरो घाउ दुखेर बसेको छ । किनकी छिमेकी देशले कतारमाथि लगाएको नाकाबन्दीले दुइ देशका नागरीकबीचमात्र होइन, एउटै परिवारभित्र पनि धाँजा पारेको छ । हिजोसम्म एउटै छानोमुनी बसेर जीवन बाँचिरहेका परिवारका सदस्यहरु पनि धाँजा फाटेर चिरा परेको जमिनको दुई फरक फरक किनारझैं उभिन बाध्य छन् ।

तब त कतार एयरवेजका सिइओ अल बकर भन्छन,‘देशबीचको कुटनीतिक संकट ढिलो वा चाडो जहिले टुगिंएपनि मान्छेको मनमा लागेको घाउ निकै गहिरो भइसकेको छ । र, मान्छेहरुले यो भुल्न सक्दैनन् ।’

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com