काठमाडौंबाट अमेरिकाको सिमित नियमित भिजिटर भिसा सुचारु, तर अप्वाइन्टमेन्ट दुर्लभ


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

अमेरिकी दूतावास काठमाडौंले सिमित संख्यामा नियमित भिजिटर भिसा जारी गर्न पनि सुचारु गरेको छ । तर भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट भने निकै दुर्लभ रहेको सेवाग्राहीको गुनासो रहेको छ ।

अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकारीले भिसा च्याटका क्रममा सिमित संख्यामा नियमित भिजिटर भिसा जारी भइरहेको बताएका छन् । तर अप्वाइन्टमेन्टका स्लटहरु छिट्टै सकिने भएकाले दैनिक रुपमा अप्वाइन्टमेन्ट उपलब्ध भए नभएको हेर्न सुझाव दिएका छन् ।

कन्सुलर अधिकारीले भनेका छन् – ‘यदि तपाई बीवान वा बीटु श्रेणीको भिसा आवेदन दिन चाहनुहुन्छ भने अनलाइनमाफर्त अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट छिटो सकिने भएकाले हरेक दिन चेक गर्न हामी सुझाव दिन्छौं ।’

कतिपय भिसा आवेदकले अहिले भिजिटर भिसा लिन खोज्दा आगामी डिसेम्बरको मात्र अप्वाइन्टमेन्ट पाएको बताएका छन् । कतिपयले भने अप्वाइन्टमेन्ट पाउनै नसकेको गुनासो गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत डिसेम्बरदेखि नै अमेरिकी दूतावास काठमाडौंले सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु गरेको थियो । तर विगतमा भिसा अन्तरवार्ता छुटमार्फत नविकरणका लागि आवेदन दिएका तर अन्तरवार्ता छुट नपाई भिसा अन्तरवार्ताको अप्वाइन्ट आवश्यक भएकाहरुलाई प्राथमिकता दिइएको थियो ।

कोरोना महामारीका बीच पनि भिजिटर भिसाहरु विना अन्तरवार्ता नै नविकरण गरेको दूतावासले केही भिसा आवेदनका सन्दर्भमा अन्तरवार्ता आवश्यक पर्ने भन्दै भिसा दिन अस्वीकार गरेको थियो । त्यस्ता आवेदकले भिसा अन्तरवार्ता तय गर्नसक्छन् ।

अमेरिकी दूतावास काठमाडौं

दूतावासले आपतकालिन अवस्थाका लागि अमेरिका जानुपर्नेहरुका लागि पनि भिजिटर भिसा अन्तरवार्ताका अप्वाइन्टहरु दिइरहेको छ । तर गम्भिर विरामी भएका आफन्तलाई भेट्न वा पारिवारिक आपतकालिन अवस्थामा सघाउन जानेहरु र व्यक्ति भिजिटर भिसामा अमेरिकामा नआएको खण्डमा अमेरिकी कम्पनीलाई उल्लेख्य घाटा हुने अवस्थाबारे लिखित अनुरोध आएमा दूतावासले शीघ्र अप्वाइन्टमेन्ट उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै सन् २०२२ को डिसेम्बर ३१ सम्म भिजिटर भिसा सकिएको ४८ महिना ननाघेकाहरुले विना अन्तरवार्ता भिसा नविकरण गर्न सक्नेछन् ।  यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्छन् ।

पहिले भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाउँदै लगिएको थियो । अमेरिका अन्य कैयन श्रेणीका भिसामा समेत अन्तरवार्ता छुटको व्यवस्था गरेको छ ।

त्यस्तै पहिले कुनै पनि प्रकारको भिसा लिएकाहरुलाई विना अन्तरवार्ता सन् २०२२ को डिसेम्बर ३१ सम्म विद्यार्थी भिसा उपलब्ध गराइने छ । एफ, एम र जे भिसा आवेदकहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको भएमा विना अन्तरवार्ता सन् २०२२ को डिसेम्बर ३१ सम्म भिसा प्राप्त गर्नसक्नेछन् ।

अमेरिकी दूतावास काठमाडौंले नोभेम्बरदेखि लागु हुनेगरी विगतमा कुनै पनि प्रकारको भिसा लिएका एफ, जे र एम भिसा आवेदकलाई विना अन्तरवार्ता भिसा उपलब्ध गराउन सुरु गरेको थियो ।

एफ, एम र जे भिसामा अन्तरवार्ता छुट पाउनका लागि नेपालको नागरिक हुनुपर्ने वा विगत ६ महिनादेखि नेपालमा बसोबास गरेको हुनुपर्ने, विगतमा कुनै पनि प्रकारको अमेरिकाको भिसा जारी भएको हुनुपर्ने, अन्तिमपटक कुनै पनि प्रकारको भिसाका लागि दिएको आवेदन अस्वीकृत नभएको हुनुपर्ने, पछिल्लो भिसा खारेज भएको, चोरी भएको वा हराएको हुन नहुने लगायतका मापदण्ड तोकिएको छ ।

त्यस्तै विगतमा भिसा लिंदाको नाम, जन्ममिति, जन्मस्थान, राष्ट्रियता परिवर्तन भएको हुनुहुदैन भने परिवर्तन भएको खण्डमा उचित कारण पेश गर्नुपर्ने, विगतको अमेरिका भ्रमणका क्रममा अमेरिकाका अध्यागमन कानूनको पालना गरेको हुनुपर्ने मापदण्ड रहेको छ । विगतमा जारी भएको भिसा विद्यार्थी भिसा नै हुन जरुरी छैन, कुनै पनि प्रकारको गैर आप्रवासी भिसा जारी भएकाहरुले विना अन्तरवार्ता विद्यार्थी भिसा पाउन सक्ने प्रावधान ल्याइएको छ ।

विना अन्तरवार्ता भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर ६ वटामध्र्ये एउटा कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्छ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो, आई २० को प्रतिलिपी र ओरिजिनल ट्रान्सक्रिप्ट, जे भिसाका लागि ओरिजिनल डीएस २०१९ लगायतका कागजातहरु पेश गर्नुपर्छ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com