ट्याक्स फाइल गरेकालाई पुन: ट्याक्स फाइल गर्न सुचना पठाउँदै आईआरएस, के गर्ने ?


प्रकाशित मिति : माघ २२, २०७८ शनिबार

अमेरिकामा गतबर्षको ट्याक्स फाइल गरेका र तिर्नुपर्ने रकम समेत तिरिसकेका कतिपय करदातालाई आईआरएसले ट्याक्स फाइल गर्न छुटेको भन्दै सुचना पठाइरहेको छ । यदि उनीहरुले २०२० को ट्याक्स फाइल नगरेको खण्डमा उनीहरुले क्रेडिट गुमाउने भन्दै सीपी ८० नामको सुचना पठाइएको छ ।

तर अधिकांशले गतबर्षको ट्याक्स प्रकृयामा लैजान आईआरएसबाट भएको ढिलाईका कारण त्यस्तो सुचना प्राप्त गरेको आईआरएसको भनाई छ । करदाताहरुलाई क्रेडिट प्रदान गरिसकेको तर ट्याक्स फाइलको रेकर्ड नभएको अवस्थामा आफूहरुले त्यस्ता सुचनाहरु खारेज गरिसकेको आईआरएसले जनाएको छ ।

ती सुचनाहरु आईआरएसको अटोमेटिक प्रणालीबाट करदाताहरुलाई प्राप्त भएका सुचनाहरु हुन् । कम्प्युटरले जेनेरेट गरेका त्यस्ता सुचनामा पुन: ट्याक्स फाइल गर्न भनेपछि आईआरएसले भने सार्वजनिक सुचना मार्फत २०२० को ट्याक्स पहिले नै फाइल गरिसकेकाहरुलाई अर्कोपटक फाइल नगर्न भनेको छ ।

सन् २०१९ को ट्याक्स समयमै फाइल गरेकाहरुले पुन: फाइल गर्न सुचना पाएको भएमा पुन: फाइल गर्न र २०२० को ट्याक्स समयमै फाइल गरेकाहरुले पुन: फाइल गर्न सुचना पाएको भएमा पुन: फाइल नगर्न आईआरएसले सचेत गराएको छ ।

यदि क्रेडिटको विवरण सही भएको थाहा पाउन चाहनेहरुले रकम तिरेको प्रमाणसहितका विवरण आईआरएसको वेवसाइटबाट हेर्न सकिनेछ । आईआरएसले तपाईको ट्याक्स फाइल प्राप्त गरे नगरेको हेर्न आईआरएसमा अनलाइन एकाउन्ट खोलेर निशुल्क ट्रान्सक्रिप्टहरु डाउनलोड गर्न सकिन्छ । प्रकृयामा नलगिएको भएतापनि त्यहाँ रकम तिरेको र फाइल गरेको प्रमाणहरु पाउन सकिनेछ ।

सन् २०२१ मा परिवर्तन गरिएका नियमहरु र महामारीका कारण आईआरएसले कडा ब्याकलगको सामना गरेको छ । खासगरी कागजबाट फाइल गरिएका ट्याक्सको सन्दर्भमा ठूलो ब्याकलग रहेको जनाइएको छ । आईआरएसका अनुशार डिसेम्बर ३१ सम्म ६० लाख ट्याक्स फाइलहरुको ब्याकलग रहेको छ । ब्याकलग घटाउन आईआरएसले यो साता थप १२ सय कर्मचारीहरु काममा लगाएको छ ।

यदि पुन ट्याक्स फाइल गर्नका लागि सुचना आएको खण्डमा आईआरएसमा सम्पर्क गरेर समाधान गर्न विज्ञहरुको सुझाव छ । तर फोन गर्दा लाइन पाउन गाह्रो हुने र २ घण्टासम्म कुर्नुपर्ने सेवाग्राहीहरुको गुनासो रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com