अमेरिकामा थप २० हजार अस्थायी गैर कृषिकामदार भिसा उपलब्ध


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

अमेरिकामा आर्थिकबर्षको पहिलो आधाका लागि थप अस्थायी गैर कृषिकामदार भिसा एच टु बी उपलब्ध गराइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घोषणा गरेको छ । आर्थिक बर्ष २०२२ को पहिलो ६ महिनाका लागि थप २० हजार एच टु बी भिसा उपलब्ध गराइएको घोषणा गरिएको हो ।

मार्च ३१ भन्दा अगाडि नै कामदारहरुलाई राख्न चाहेका अमेरिकी रोजगारदाताहरुका लागि यी भिसाहरु उपलब्ध गराइएको हो । थप विदेशी कामदार नराखेको खण्डमा व्यवसायमा नोक्सान पुग्ने अवस्थाका रोजगारदाताहरुका लागि यी भिसाहरु उपलब्ध रहेका छन् ।

रोजगारदाताहरुका लागि अमेरिकामा बैध मार्गहरु विस्तार गर्दा व्यवसायलाई दिगो बनाउन आवश्यक पर्ने श्रोत र सहयोग उपलब्ध गराउने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले बताएका छन् । एच टु बी अस्थायी कामदार भिसा वाहकमाथि शोषण हुन नदिनेबारे पनि आफूहरु सचेत रहेको उनको भनाई छ ।

अतिरिक्त २० हजार भिसाहरु जनवरी २८ पछि उपलब्ध हुने जनाइएको छ । १३ हजार ५ सय भिसा पहिले नै भिसा प्राप्त गरेका वा स्टाटस स्वीकृत भएका पुन काममा फर्कनेहरुलाई प्रदान गरिनेछ भने बाँकी ६ हजार ५ सय भिसा पहिलोपटक आउनेहरुले समेत पाउनेछन् । हैटी, होण्डुरस, ग्वाटेमाला र एल साल्भाडोरका कामदारले यी भिसामा प्राथमिकता पाउनेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com