स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् । त्यसो त चितवनमा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा यसको प्रयोग भइरहेको व्यवसायी बताउछन् ।

किसानले मल, बीऊ ओसारपसारदेखि तयारी वस्तु बिक्रीसम्ममा साइकलको प्रयोग गर्ने गरेका छन् । साइकलमा मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न साइकलको प्रयोग हुँदै आएको छ । स्कुल र कलेज जाने विद्यार्थीले ठूलो सङ्ख्यामा साइकलको प्रयोग गर्दै आएका छन् ।

स्वास्थ्य तन्दुरुस्त राख्ने प्रयोजनले बिहान बेलुकी साइकल चलाउनेको सङ्ख्या पनि जिल्लामा ठूलै रहेको छ । पालिकाले छात्रालाई साइकल बाढ्ने गरेका छन् ।

चितवन र नवलपुर जिल्लाका साइकल व्यवसायीको संस्था साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका पूर्व अध्यक्ष श्याम खरेल दुई जिल्लामा गरेर तीन सय हाराहारी साइकल पसल रहेको बताउनुहुन्छ । ठूला होलसेल गर्ने, मध्यम साइकलको बिक्री गर्ने र साना साइकल मर्मत गर्ने पसल यसमा पर्दछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब २० हाराहारी ठूला होलसेल पसल छन् भने ८० हाराहारी मध्यम र अन्य साना पसल रहेका छन् । एकीन तथ्याङ्क नभए पनि दैनिक एक सयभन्दा बढी साइकल नयाँ साइकल बिक्री हुने गरेको उहाँको अनुमान छ । विगतमा बिक्री हुने साइकल र अहिले बिक्री हुने साइकल फरक छन् । बिक्रेताले ग्राहकको चाहना अनुसार फरक फरक मोडलका साइकल ल्याउने गरेको उहाँ बताउनुहुन्छ ।

राईडर्स माउन्टेन बाइक स्टेशन नारायणगढका सञ्चालकसमेत रहनुभएका खरेलका अनुसार बजारमा रु सात हजार ५०० देखि एक लाख ५० हजारसम्मका साइकल बिक्री हुने गरेका छन् । त्यसो त रु सात हजार ५०० देखि रु १५ हजारसम्मका साइकल धेरै मात्रामा बिक्री हुने उहाँको भनाइ छ । एक लाख र त्योभन्दा बढी मूल्यका साइकल भने फाट्टफट्ट मात्रै बिक्री हुने गरेको खरेलले बताउनुभयो ।

व्यवसायीले भारत र चीनबाट साइकल र साइकलका सामग्री ल्याउने गर्दछन् । अहिले हरेक घरमा साइकल भएको उहाँको भनाइ छ । खरेलले भन्नुभयो “घरमा कार र मोटरसाइकल भए पनि साइकल हुन्छ ।” विलासी सवारी हुनेले पनि दूध, फलफूल किन्न, मिल जान साइकलको प्रयोग गर्ने गरेको पाइन्छ । विगतमा पुरानो हुँदासम्म मर्मत गर्दै साइकल चलाउने गरेको भए पनि अहिले सामान्य मर्मत गरेर चल्ने साइकल कवाडीमा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।

साइकलका कारण मानवीय स्वास्थ्यसँगै ठूलो मात्रामा इन्धन बचत भएको व्यवसायीको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतम चितवनमा दैनिक २५ हजार हाराहारी साइकल चल्ने बताउनुहुन्छ । उहाँका अनुसार ती साइकलले दैनिक चार किलोमिटर सरदर यात्रा गर्दा पनि दैनिक रु १५ लाख बराबरको इन्धन बचत हुने उहाँको अनुमान छ ।

उहाँले भन्नुभयो,“राज्यले साइकल लेनको व्यवस्था गर्नुपर्छ ।” स्थानीय पालिकामा सडक निर्माण गर्दा अनिवार्य साइकल लेन बनाउनुपर्ने उहाँको भनाइ छ । चितवनले साइकल र साइकलले चितवनलाई अलग गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो, “समथर भूभाग, चौँडा सडक, सामान्य उकाली ओराली, साइकलका लागि अनुकूल भौगोलिक वातावरणसँगै जिल्लामा साइकल भित्रिएका हुन् ।”

जिल्लाको जति नै विकास भए पनि साइकलको महत्व नहराउने गौतम बताउनुहुन्छ । उहाँका अनुसार उद्योग र असङ्गठित क्षेत्रमा काम गर्ने मजदूरदेखि महँगा गाडी चढ्ने व्यवसायीसम्मले साइकलको प्रयोग गर्ने गरेका छन् । उहाँले भन्नुभयो, “मजदूरले आवश्यकताले र व्यवसायीले स्वास्थ्य र सोखका लागि साइकल प्रयोग गर्छन् ।”

वातावरणीय दृष्टिकोण र पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहित गर्न साइकल प्रयोगलाई राज्यले प्रोत्साहन गर्नुपर्ने गौतमको भनाइ छ । चितवन राईडर्स क्लबका अध्यक्ष नवीन खरेल १५० सदस्य क्लबमा रहेको बताउनुहुन्छ ।

स्वस्थ रहन र सन्देश प्रवाह गर्न क्लबले काम गरिरहेको छ । आफ्नो ढाडमा नशा च्यापिएपछि फिजियोथेरापीको सट्टा साइकल चलाउन थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “साईकल चलाउन थालेपछि मेरो समस्या समाधान भयो ।” उहाँ जस्तै धेरै साइकलबाट लाभान्वित भएका छन् ।

हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा डा कृष्णप्रसाद पौडेल साइकल र पौडीबाट मानिसको शरीरको पूरै अङ्गहरुलाई व्यायाम हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “चीन र जापान जस्ता देशले साइकललाई प्रवद्र्धन त्यसै गरेका होइनन् ।” कार्यालय जाँदा, यात्रा गर्दा साइकलको प्रयोग गर्न सकेमा इन्धन बचाउन सकिने उहाँ बताउनुहुन्छ । साइकल लेन बनाउने विषयमा सरकारले ध्यान दिनुपर्ने पौडेलको सुझाव छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत रहनुभएका पौडेल आफूलाई साइकलको ‘फ्यान’ रहेको बताउनुहुन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com