अमेरिकामा आजदेखि ट्याक्स फाइल सुरु, यसरी पाउनुहोस् छिटो रिफण्ड


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले आज (जनवरी २४ सोमबार) देखि कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गरेको छ । तर सकभर अनलाइनमार्फत ट्याक्स फाइल गर्न आईआरएसले अनुरोध गरेको छ । अप्रिल १८ सम्म ट्याक्स फाइल गर्न सकिने आईआरएसले जनाएको छ ।

सामान्यतया ट्याक्स फाइल गर्ने डेडलाइन अप्रिल १५ सम्ममात्र हुने भएतापनि यसबर्ष अप्रिल १५ मा मुक्ति दिवस परेकाले र वासिंटन डिसीमा मनाइने भएकाले डेडलाइन पछि सारिएको छ । अप्रिल १६ मा शनिबार र १७ मा आइतबार परेकाले अप्रिल १८ डेडलाइन तय भएपनि मासाचुसेट्स र मैनमा अप्रिल १८ मा देशभक्त दिवस परेकाले ती राज्यमा ट्याक्स फाइलको डेडलाइन अप्रिल १९ हुनेछ ।

संघीय ट्याक्सफाइलको डेडलाइन अटोमेटिक ६ महिने थपको लागि अनुरोध गर्नेहरुका लागि थप गरिने भएतापनि तिर्नुपर्ने रकमका लागि भने अवधि थपिने छैन । यो अवधि केबल ट्याक्स फाइल गर्नका लागिमात्र थपिनेछ । हालैको प्राकृतिक प्रकोपका शिकार भएको क्षेत्रमा बस्नेहरुका लागि पनि डेडलाइन थपिनेछ । तूफानको शिकार भएका अर्कान्सास, इलिनोय, केन्टकी, टेनेसीमा र आगोको शिकार भएका कोलोराडोका लागि ट्याक्स फाइलको डेडलाइन मे १६ सम्म थपिएको छ ।

यसबर्ष आईआरएसले अनेकौं चुनौतिको सामना गर्नुपरेकाले रिफण्ड प्राप्त हुनमा केही ढिलो हुनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । सामान्तया ट्याक्स फाइल गने सिजनमा १ मिलियनको ब्याकलग हुने भएतापनि यसपटक डिसेम्बर २३ सम्मको अवस्था हेर्दा ६ मिलियनको ब्याकलग रहेको छ । त्यस्तै फरक श्रेणीमा थप २ मिलियन ट्याक्स फाइलको ब्याकलग रहेको छ । गतबर्ष ट्याक्स सिजन समाप्त हुँदा ३५ मिलियनको ब्याकलग रहेको थियो ।

यसरी पाउनुहोस् छिटो रिफण्ड

विद्युतीय रुपमा इन्टरनेटमार्फत फाइल गर्ने र डाइरेक्ट डिपोजिटको तरिका दिनेहरुले तीनसाताभित्र रिफण्ड रकम प्राप्त गर्नसक्ने आईआरएसले जनाएको छ । तर त्यसका लागि उचित तरिकाले ट्याक्स फाइल गर्न सुझाव दिइएको छ । अर्नड इन्कम ट्याक्स क्रेडिट वा अतिरिक्त चाइल्ड ट्याक्स क्रेडिटको अपेक्षा गरेका करदाताले मध्य फरबरीभन्दा अगाडि यो रकम पाउनेछैनन् । आईआरएसको कानूनले जालसाजी रोक्नका लागि मध्य फरबरीभन्दा अगाडि रिफण्ड जारी गर्नमा रोक लगाएको छ । तर उनीहरुले जनवरी २४ पछि नै ट्याक्स फाइल गर्नभने सक्नेछन् ।

हुलाकमार्फत फाइल गर्ने र चेकमार्फत रिफण्ड प्राप्त गर्ने करदाताका सन्दर्भमा भने केही लामो समय लाग्न सक्नेछ । कागजी फाइल गर्ने र कागजको चेक प्राप्त गर्ने करदाताका हकमा रिफण्ड प्राप्त गर्न दुईमहिनासम्म समेत लाग्नसक्ने जनाइएको छ ।

इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदाताले तीनसाताभित्र रिफण्ड रकम प्राप्त गर्न सक्नेछन् । कागजमार्फत हुलाकबाट फाइल गर्ने तर बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिने करदातालाई रिफण्ड प्राप्त गर्न तीनसाता भन्दा बढी लाग्नसक्नेछ ।

इन्टरनेटमार्फत फाइल गर्ने तर रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न एकमहिना लाग्नेछ । कागजमार्फत हुलाकबाट फाइल गर्ने र रिफण्डका लागि चेकको विकल्प दिने करदाताले रिफण्ड चेक प्राप्त गर्न २ महिना लाग्नेछ ।

त्यसैले सकभर छिटो रिफण्ड प्राप्त गर्नका लागि इन्टरनेटमार्फत फाइल गर्ने र बैंकमा डाइरेक्ट डिपोजिटको विकल्प दिन सुझाव दिइएको छ । कोरोनाको महामारीका कारण पनि यसपटक सकभर विद्युतीय रुपमा नै ट्याक्स फाइल गर्न सुझाव दिइएको छ ।

कतिपय कम्पनीहरु र पेशाकर्मीहरुले जनवरी २४ अगाडि नै अग्रिम फाइलका लागि आव्हान गरेपनि उक्त मितिभन्दा अगाडि विवरणमात्र संकलन हुने र वास्तविक रुपमा फाइल भने जनवरी २४ पछाडि नै हुने जनाइएको छ । आईआरएसको प्रणाली खुला भएपछिमात्र ती कम्पनी र ट्याक्स सम्बन्धी काम गर्ने पेशाकर्मीहरुले ट्याक्स फाइल गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com