कतारमा नाकाबन्दी : एक हप्ता जे भोगियो


प्रकाशित मिति : जेष्ठ २९, २०७४ सोमबार

जेष्ठ २९, २०७४- गत सोमबार बिहानै सात बजे हातेफोनमा नेपाली समाचार हेरिरहेको बखत जीमेलमा एउटा ईमेल टुप्लुक्क देखियो । खोलि हेर्दा कतारको एउटा बिश्वविद्यालयमा अध्यापन गराउने प्रोफेसरले पठाएका रहेछन् । उनको नाम रे हो । बुढा रे को उमेर हेर्दा डाँडा माथिको घाम जस्तै लाग्छ । तर, निकै जोसिला र  फर्तिला छन् । एकाबिहानै बुढाले के लेखि पठाए भनेर इमेल खोलि हेर्दा त झसंग भएँ । बुढाले एउटा अनआइन समाचारको लिंक पठाएका रहेछन् । समाचारमा एकाबिहानै कतारका छिमेकी राष्टहरु साउदी अरेविया, बहराइन तथा युएइले कतारसंगको कुटनीनिक सम्बन्ध बिच्छेद गरेको घोषणा गरिएको उल्लेख थियो ।

यि देशहरुले कतारमाथि मध्येपूर्वका सशस्त्र समुहहरुलाई आर्थिक सहायता गरेको आरोप लगाएका छन् । साउदी अरवले कतारको एकमात्र सडक नाका पनि बन्द गर्ने घोषणा गरेको रहेछ । ती देशहरुले कतारका नागरिकलाई पनि १४ दिन भित्र आफनो देश छाडन र आफ्ना देशका नागरीकलाई कतारबाट फर्कन आदेश दिइएका रहेछन् । ललजजिरा अनलाईन खोलेर समाचार हेर्न थालें । हेर्दा हेर्दै घटनाक्रम बतासे गतिमा अघि बढन थाल्यो । युएइको इतिहाद एयरले कतार उड्ने सवै उडानहरु रद्द गर्ने घोषणा गर्यो । एकै छिनमा युएइका अरु एयरलाइन्स कम्पनीहरु इमिरेट्स, एयर अरेविया, फलाई दुबईले पनि त्यस्तै घोषणा गर्यो । ।

साउदीसंग सीमा जोडिएको अर्को मुलुक यमनले पनि कतारसंग कुटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गर्‍याे। त्यसैगरी ईजिप्ट राजदुतै फिर्ता बोलायो । हेर्दाहेर्दै खाडीको कटनीतिक संकटको समाचार आगोको मुस्लोसरी एकैछिनमा संसारभरी फैलियो । बिश्वका सबै मिडियाहरुले ब्रेकिङ न्युज दिन थाले । नेपाली अनलाईन पत्रिकाहरुले पनि समाचार प्रकाशन थालिसकेका थिए । कतिपय नेपालीहरुले नेपालबाटै फेसबुकको भित्तामा  कतारमा नाकाबन्दी लाग्यो खाद्यन्नको जोहो गरेर ज्यान जोगाउ भन्ने गोर्खे सल्लाह दिन भ्याइसकेका थिए ।

नौ बज्यो । हाते घडी हेर्दै काममा जाउ कि नजाउको दोधारमा फसें ।  उता भारतको कठोर नाकाबन्दी  भोगेर भुक्तामान भएको मनले सोचें खानेकुराको अलिअलि जोगाड गर्नै  पर्छ कि ? आफना दुई चिचिला केटाकेटीसंगै  छन् । तिनले बिहान बेलुका खाने अलमराइ मार्काको  दुध साउदी अरेवियाबाट आउँछ । साउदीले नाका बन्द गरिसक्यो । केटाकेटीले के खालान् ? यसो सोचें अरु नभए पनि केही दिनलाई पुग्ने  दुधको जोहो गर्नुपर्यो भन्ने लाग्यो । एक दिनको लागि काम हापियो र लागियो रासनपानीको जोहो गर्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दश बजे घर नजिकैको सपिङमल पुग्दा मल सुनसान जस्तै थियो । नाकाबन्दीको त्रासले किनमेल गर्न जाने ग्राहक मलभित्र सायद म मात्रै थिएँ होला । मलभित्रको शितल वातावरणमा नाकाबन्दीको त्रासको मलिन गन्धसमेत थिएन । हामी फटाफट समान किन्नतिर लाग्यौं । मलको लख्ताभित्र सबै समानहरु भरिभराउ थिए । माटो लागेको आलु टिपेर प्लास्टिकको झोलामा हाल्दै गर्दा मनमनै सोचें । भरेसम्ममा यो आलु हारालुछ भएर तख्ता पुरै खाली हुने हो की? झण्डै एक महिनालाई पुग्ने आलु, प्याज, नुन , चामल र दुध किनियो । एक डंगुर समान किनेर पैसा तिर्ने काउण्टरमा पुग्दा  क्यासियरमा काम गर्ने एकजना नेपाली चेलीले पुलुक्क मुखमा हेरिन् । उनको हेराई यतिधेरै समान एकै चोटी किन किन्नु परेको ? भन्ने प्रश्न वाचक हेराई थियो । मैले नाकाबन्दीको त्रासले एकैचोटी धेरै समान किनेको भनेर तिनको जिज्ञासा शान्त पार्न जरुरी ठानिन । झण्डै अठार सय रियालको किनमेल गरेर फर्कने बेला पनि मलको वातावरणमा उस्तै शान्त थियो ।

किनमेल गरेको समानको झोला बोकेर कोठा भित्र छिर्दा मन ढुक्क भयो । तर, खाडी राष्ट्रहरुको कुटनीतिक संकट आगोमा घिउ थपे जस्तो झन्झन् रापिलो हुँदै थियो । छिनछिनमा नयाँ नयाँ घटनाक्रमहरु बिकास भइरहेको थियो । त्यतिबेलासम्म कतारले कुटनीतिक संकटको औपचारीक प्रतिक्रिया दियो । कतारका  परराष्ट्र मन्त्रीले सशस्त्र समुहहरुलाई आर्थिक सहायता गरेको भन्ने आरोपको खण्डन गर्दै  उक्त आरोपहरु निराधार भएको बताए । शक्ति राष्ट्रहरुले पनि आ–आफनो स्वार्थ अनुकुल धारणाहरु सार्वजनिक गरिरहेका थिए । साउदीबाट कतार छिर्ने एक मात्र सडक नाका अबुसम्रामा सयौं माल बाहक ट्रकहरु उतै रोकिएको खबरहरु आईरहेको थियो । ईजिप्ट सरकारले आफनो हवाई मार्ग कतारको लागि निषेध गरेको घोषणा गरिसकेको थियो । छिमेकी मुलुकहरुले एक पछि अर्को उत्तेजक निर्णयहरु सार्वजनिक गरिरहेका थिए । कतार सरकार भने कति पनि उत्तेजनामा नआई शालिन र गम्भिर भएर घटनाक्रम नियालिरहेको थियो ।

भोलीपल्ट बिहानै काममा लागियो । कतारको फराकिलो सडकमा सवारी साधनहरु कुदिरहेका थिए । जनजीवन सबै सामान्य देखिन्थ्यो । दिउँसो कतारका पराराष्ट्र मन्त्रीले कतारको अलजजिरा च्यानललाई अन्तर्वार्ता दिंदै अन्तर्वार्ता दिंदै सम्वाद द्वारा समस्याको हल गर्न सकिने कुरा राखें । शालिन भाषामा कतारलाई एक्याउनु पर्नाको कारण के हो आफुले बुझ्न नसकेको तर्क गरे । अघिल्लो दिन भारि गिरावट आएको कतारको शेयर बजारले  अलिकति सास फेर्न थाल्यो । शेयर बजारको सुचक बिस्तारै माथि उठ्न थाल्यो । कतार एयरवेजले साउदी, बहराईन, युएइ तथा ईजिप्ट जाने सारा उडानहरु रद्द गर्यो । उता युएइले कतारको खेलकुद सम्बन्धी अर्को टिभि च्यानललाई पनि प्रतिबन्ध लगायो ।

कतारबाट निर्यात हुने आलमुनियम बोकेको पानी जहाजलाई दुबईको जेबेलाली बन्दरगाह हुँदै जानको लागि रोक लगायो ।  युएईले पहिलो चोटी कतार समक्ष आफनो अमुर्त माग तेर्स्यायो । उसले भन्यो कतारसंगको सम्बन्धमा पुर्नबिचार गर्नको लागि कतारको सरकारले ठोस प्रतिबद्धतासहितको समाधानको उपाय पेश गर्नु पर्दछ । उता फिलिपिन्सले आफना नागरिकहरुलाई कतारमा काम गर्न जानको लागि प्रतिबन्ध लगायो । युएइ सरकारले कतारप्रति सहानुभूती देखाउन प्रतिबन्ध लगायो । युएइको नागरिक तथा बासिन्दाहरुलाई  सहानुभूती देखाएमा जेल सजाय तथा ठुलो रकम जरिवाना तिराउने घोषणा गर्यो । कुबेतका राजाले समस्याको समधान पहिल्याउन साउदी, युएइ तथा कतारको राजासंग भेटे । तर, संकट टरेन । गएको एक हप्तामा हरेक दिन नयाँ नयाँ घटनाक्रमहरु बिकशित हुँदै गएका छन् । क्षेत्रीय तथा अन्तराष्ट्रिय शक्ति राष्ट्रहरुले आ–आफनो स्वार्थ अनुकुलको भुमिका खेलिरहेका छन् । तर, एक हप्ता बितिसक्दा पनि संकट समाधानको कुनै सेतु फेला पर्न सकेको छैन ।

गएको शुत्रबार नाकाबन्दीको प्रभाव हेर्न बिहानै उठेर सबैभन्दा आफुले डंगुर खाद्यन्न किनेको सपिङ मल तिर लागियो । शपिङ भित्र राखिएका तख्ता भरिभराउ छ । खाद्य समाग्रीको अभाव हुने पूर्व संकेत कतै देखिंदैन । सपिङ मल भित्रको माछा बिक्री केन्द्रमा हेरें । छोरीले उत्पात मनपराउने ईजिप्टको तेलपिया माछा आउन छाडेछ ।  तर, अरु जातका माछाहरु भरिभराउ नै थिए । बच्चाहरुको प्रिय साउदीको अलमराई दुध सकिएछ । अलमराई दुधको  ठाउँ टर्कीको सुतास नाम गरेको दुधले लिएछ । दुध राख्ने तख्ताभरी टर्कीको दुध भरिभराउ थियो । घरभरी एक महिनालाई पुग्ने दुध छ तैपनी चाखौ न टर्कीको दुध भनेर एक लिटर दुध किनियो । दुधको उत्पादन मिति ७ जुनको थियो म गएको दिन ९ तारिख बिहान । ७ जुनमा उत्पादन भएको दुध ९  जुन बिहानै शपिङ मलमा हाजिर थियो । धन्य, कतार सरकारको व्यवस्थापन । टर्कीबाट हवाइजहाज चढेर आएको दुधको भाउ पनि साविककै थियो । यो सबै कतार सरकारको चुस्त ब्यबस्थापन तथा जवाफदेहिताबाट मात्र सम्भव भएको  थियो । टर्कीको दुध झोलामा हालेर सल्वा रोड नजिकै कतारको एउट प्रमुख तरकारी बजारतिर लागें । तरकारी बजार जानुको तात्पर्य नाकाबन्दीको असर हेर्नु तथा ताजा तरकारी पाए किनेर ल्याउनु थियो। तरकारी बजारको चहल पहल सामन्य नै थियो । किन्ने किनिरहेका थिए बेच्ने बेचिरहेका थिए । तरकारीको भाउ बुझ्न पसल पसल चाहर्दै गएँ । तरकारीको भाउ पनि सामन्य नै थियो । नाकाबन्दीको कालो छाया तरकारी बजारमा कतै पनि देखिंदैन थियो । तरकारीको भाउ सोधें । एक केजी  गोलभेंडालाई  झण्डै ६  रियाल   पर्ने रहेछ । तरकारी बजारलाई एक फन्को मारेपछि  पाँच रियालमा २ मुठा साग किनेर घर फर्किए ।

घर पुगेर शानसंग टर्कीको दुध तताए । चार घण्टामा साउदीबाट ट्रकमा चढेर आएको नाथे अलमाराई दुधलाई माथ खुवाउने उद्देश्यले सात घण्टा हावाईजाहाजमा चढेर आएको टर्कीको दुधलाई मिहिन पाराले उमालें । जहान र बच्चाहरुलाई टर्कीको दुध उत्पात मिठो हुन्छ भनेर फुर्ती लगाए । तातेको दुध भाडो भाडोमा हालेर खान बसियो । जब दुध खान थालियो अलमराई दुध खाईरहेको जिब्रोलाई टर्कीको दुधको स्वाद निकै फरक लाग्यो । एउटा स्वाद, एउटा सोच वा एउटा संस्कृतिमा अभ्यस्त भइसकेको जिन्दगीलाई फरक स्वादमा ढाल्न अलिबेर लाग्ने रहेछ । तर, जीवनलाई परिस्थिती अनुसार त ढाल्नै पर्छ । ढिलो होस वा चाँडो ।

कतार सरकारको आफना बासिन्दाहरुप्रतिको जिम्मेवारी बोध अतुलनीय छ । आफना नागरिक तथा  सम्पुर्ण बासिन्दाहरुलाई खाद्यान्नको सहज आपुर्ति गर्नु पर्ने सबै उपायहरु अवलम्बन गरिनेछ भनेर आश्वश्त पारिसकेको छ । टर्की र ईरानबाट सामुन्द्रिक तथा हवाई मार्ग प्रयोग गरेर नियमित रुपमा खाद्यान्न आयात भइरहेको छ । अरु देशबाट नियमित आउने सामानहरु उसैगरी आइरहेको छ ।  कतारले नाकाबन्दीको कारणले हुनसक्ने खाद्य संकटलाई शुन्यमा झारिदिएको छ ।

झिनोमात्र कृषि उब्जउ हुने कतार सरकारको खाद्यान्न व्यवथापन देखेपछि आफनो मुलुकमा नाकाबन्दी हुँदाको अवस्था सम्झें । नाका बन्दीका बेला घाम पाटी, रुख पाटी , गाइ पाटी लगायत सवै प्रमुख दल सत्तामा बसे । मिलेर पालै पालो शासन गरे । तर, जनताको  दुख कम गर्ने कर्म   केही गरेनन् । कोहीले साइकल चढ्छौ भने । कोहीले कर्कश टुक्का हाने । तिनले फगत कालो बजारीको प्रवर्धन गरे । कालो बजारीको प्रर्वधनबाट हातलागि भएको अम्दानीले पाटी चलाए । आफना चाकरीबाज कार्यकर्तालाई कमाउ धन्दामा लीन गराए । जनताहरु दुखजिलो गरेर बाँचे । कोही खाएर बाँचे कोही नखाई बाँचे । कतिले काचै खाए कतिले पकाएर खाए । जनताले काट्नुसम्मको कहर काटे । आफै लागेको नाकाबन्दी आफै खुल्यो । देश र जनताको नाममा शपथ खाएका दलहरुले केही गर्नसकेनन् ।

भारतीय नाकाबन्दीले सातो लिएको नेपाली समाजमा कतारको नाकाबन्दीको आवश्यक भन्दा बढी चर्चा भएको छ । कतारमा रहेका नेपाली भोकै पर्छन् कि भन्ने पीर परेको छ । तर, नेपालको मिडियाले अनावश्यक हल्ला चलाएको जस्तो परिस्थिति कतारमा छैन । हल्ला चले जस्तो कतारमा सम्पूर्ण खाद्यन्न साउदी अरव वा युएइबाट आउने पनि होइन । दुध, अण्डा र सागसब्जि जस्ता केही सिमित खाद्यान्न मात्र उताबाट आउने हो । साउदी र युएईले बन्द गरेको खाद्यान्न पानी जाहाज वा हवाई जहाज हुँदै टर्की र इरानबाट निर्वाध आइरहेको छ । बाहिर सुनिने गरेजस्तो कतारमा कुनै पनि खाद्यान्न उत्पदान नहुने पनि होइन । कतार आफैले पनि  दुध उत्पादन गर्छ, मासु, अण्डा, तरकारी उत्पादन गर्छ ।

बर्षेनी कतारले आफनो कृषि उत्पादन बढाउँदै लगेको छ । बजार मागको एक हिस्सा कतारमै उत्पादन भएको  तरकारी, मासु, दुध, अण्डाले धान्दै आएको छ । नाकाबन्दी पुर्व पनि कतारमा दाल, चामल, मासु, तेल, चिनी जस्ता खाद्यान्नहरु पाकिस्तान, भारत, ब्राजिल, मलेसिया तथा अष्टेलियालगायतका देशहरुबाट आउथ्यो । अहिले पनि उतैबाट आइरहेकै छ । तसर्थ छिमेकी मुलुकको नाकाबन्दीले सुदुर भविष्यसम्म पनि कतारमा खाद्य संकट देखिने कुनै संकेत देखिदैन । सिरिया वा इराकमा जस्तो युद्ध भडकिने हो कि भन्ने चिन्ता पनि नेपाली  समाजमा ब्याप्त छ । तर, नेपाल तिर सोचेको जस्तो खराव परिस्थिति कतारमा छैन । न त खाडीको कुटनीतिक संकट नै तत्काल युद्ध भड्किनसम्म सक्ने स्तरको हो । खाडी क्षेत्रको  ठोस राजनीतिक र सामरिक धरातलमा उभिएर हेर्दा पर क्षितिजसम्म  कतारमा युद्धको कुनै संकेत देखिंदैन ।
Source : Ekantipur

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com